पार्टी विभाजनउन्मुख छँदा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स–साना कम्युनिस्ट पार्टीका नेतृत्वसँगको भेटघाटमा व्यस्त छन् ।
पदाधिकारी र पोटिलब्युरो चुनावपछि असन्तुष्ट ठूलै तप्का पार्टीबाट अलग हुन लागेका बेला नेपालले अस्तित्व संकटमा रहेका कम्युनिस्ट पार्टीका नेतृत्वहरूसँग लगातार भेटघाट गरिरहेका छन् ।
भेटघाट गर्नुको उनको लक्ष्य बृहत् कम्युनिस्ट एकता गर्नु हो । नेकपा एसका नेता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपाल टुक्राटुक्रा भएर रहने भए नेपालमा कम्युनिस्ट पार्टीहरूको भविष्य संकटमा पर्ने भन्दै चिन्तित छन् । त्यही भएर बृहत् एकताको सूत्रधार बनेर उनी अघि बढेका हुन् ।
पछिल्ला दिनमा नेपालले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेसँग भेटवार्ता गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग त पटकपटक भेट गरिसकेका छन् । यसबीचमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राई र नेकपा मालेका महासचिव सीपी मैनालीसँग पनि नेपालले भेटवार्ता गरेका छन् । अध्यक्ष नेपालले सुरुमा साना कम्युनिस्ट घटकहरूलाई मोर्चामा सहभागी गराउन चाहेका छन् । त्यसपछि एकता प्रक्रियामा अघि बढ्नुपर्ने पक्षमा जोड दिँदै आएका छन् ।
तर, उपेन्द्र यादव मोर्चामा आउनेमा शंका छ । कारण, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेला उनको दल जसपा नेपाल विभाजन भयो । विभाजनको दोष प्रचण्डलाई दिएका छन् । उनी प्रचण्डसँग रुष्ट छन् । त्यही भएर मोर्चामा उपेन्द्र आउने सम्भावना न्यून छ ।
तर, उनी पनि समाजवादी शक्तिहरूबीच धु्रवीकरणको पक्षमा भने रहेको नेता खतिवडा बताउँछन् ।‘नेपालका समाजवादी पार्टीहरू अलगथलग भएर बसेको उहाँ (उपेन्द्र)लाई पनि मन परेको छैन र एकताबद्ध हुनुपर्नेमा उहाँको पनि जोड छ, त्यही भएर छलफल जारी छ’, खतिवडा बताउँछन् ।
१७ असारमा कांग्रेस र एमालेको सत्ता गठबन्धन बनेको र उक्त गठबन्धनले देशमा दुई दलीय प्रणाली लागू गराउन चाहेको छ । त्यसका लागि समानुपातिक निर्वाचन प्रणाली हटाउने र साना दललाई संसदमा आउनबाट रोक्नलाई ‘थ्रेसहोल्ड’को प्रतिशत बढाउने समझदारी दुई दलबीच सहमति भइसकेको छ । यस्तो अवस्थामा पार्टीको अस्तित्व संकट पर्ने भन्दै नेकपा एसका अध्यक्ष नेपालले बृहत् कम्युनिस्ट एकताका लागि पहल थालेका हुन् । हाल समाजवादी मोर्चामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, नेपाल नेतृत्वको नेकपा एस र विप्लव नेतृत्वको नेकपा छन् । जसपा नेपाल पार्टी विभाजनपति मोर्चामा निष्क्रिय छ ।
अशोककुमार राई नेतृत्वको जसपा पनि मोर्चामा आउने छाँट छैन । बरु, नेकपा एमालेसँग एकता प्रक्रियामा जान इच्छुक देखिएको छ । बाँकी कम्युनिस्ट घटकबीच पनि मोर्चाबन्दीको समझदारी होला किन नहोला ? निश्चित छैन । किनभने नेमकिपाले आफूलाई मात्रै नेपालको वामपन्थी शक्ति ठान्छ । बाँकीलाई वामपन्थबाट अलग भएको र पुँजीवादको पक्षपोषक शक्ति ठान्छन् । अर्को शक्ति नेकपा माले पनि कम्युनिस्ट विचारधारा र संस्कृतिबाट धेरै टाढा पुगेका शक्तिहरूसँग कार्यगत एकतासम्म गर्न सकिने र मोर्चामा सहभागी हुँदै एकता प्रक्रियामा पुग्ने कुरा चुनौतीपूर्ण रहेको बताउँदै आएका छन् ।
यद्यपि, नेपालको सक्रियता बृहत् कम्युनिस्ट एकतामा केन्द्रित छ । उनी कांग्रेस र एमालेलाई टक्कर दिने वैकल्पिक शक्ति निर्माण गर्नैपर्ने पक्षमा प्रतिबद्ध छन् । यसअघि ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा थियो । आलोपालो प्रणाली अनुसार मोर्चाको नेतृत्व नेपाल र विप्लवले गरेका छन् । माओवादी ३२, जसपा नेपाल १२ र एकीकृत समाजवादी १० सहित ५४ सिट रहेको उक्त मोर्चालाई संसदमा बलियो वैकल्पिक शत्ति: मानिन्थ्यो । तर, अहिले १२ सिटे जसपा फुटेर अलग मात्रै भएन, मोर्चाबाट पनि अलग भयो ।
यसबीच गत २ साउनमा मोर्चाको बैठक बस्यो । बैठकले सशक्त ढंगले अघि बढ्ने निर्णय गरेको थियो ।
मोर्चाले नयाँ कार्यक्रम बनाउनुपर्ने निष्कर्षसहित चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा माओवादी महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । कार्यदलको कार्यभार भनेको मिल्न सक्नेलाई मिलाएर मोर्चामा आबद्ध गराउँदै जाने हो । त्यसकै लागि नेकपा एसका अध्यक्ष नेपाल सक्रिय भएका हुन् ।


















