नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौँस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले नेपालमा रहेका भारतीयहरुलाई शुभकामना व्यक्त गर्नुभयो । त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । भारतीय राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धि, भारतको अध्यक्षतामा सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गर्नुभयो । सोही अवसरमा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभयो । सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उहाँले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गर्नुभयो । कार्यक्रममा दूतावासले ३० वटा संस्थालाई रु १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिएका थिए ।





















