राष्ट्रियसभा निर्वाचनमा भाग नलिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आपत्ति जनाएका छन् । आज(आइतबार) निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने क्रममा प्रमुख आयुक्त थपलियाले मेयर बालेनले घोषित र केहीले विभिन्न कारण देखाएर मतदानमा भाग नलिएकोमा आपक्ति जनाएका हुन् ।
थपलियाले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार प्रयोग नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाउँदै राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्थाको उल्लघंन भएको बताएका छन् । उनले भने, ‘आम नागरिकले चाहिँ उहाँहरुलाई भोट हालेर जिताइदिनुपर्ने अनि जनप्रनिनिधि भएपछि अरुलाई भोट हाल्न नजाने ? आफू निर्वाचित हुनु अर्काको मत खोज्नेले आफू चाहिँ मतदानमा सहभागी नहुने कुरा गलत हो । संविधानले दिएको भूमिका निर्वाह नगरेकोमा आयोगले आपत्ति जनाएको हो ।’
प्रमुख आयुक्त थपलियाले जनताबाट निर्वाचित जनप्रतिनिधिको मत समेत बदर हुनु पनि दुर्भाग्यपूर्ण रहेको बताएका छन् । केही जनप्रतिनिधिको मत राष्ट्रिय सभा निर्वाचनमा बदर भएको पाइएपछि उनले सो अवसरमा निर्वाचनको मौन अवधिको बेलामा विराटनगरमा कांग्रेस नेता डा.शेखर कोइराला निवासमा गरिएको चियापानप्रति समेत असन्तुष्टि जनाएका छन् । थपलियाले जनप्रतिनिधिले फ्लोर क्रस गरेर अर्को दलका उम्मेदवारलाई मत दिए भन्न नमिल्ने समेत बताए । उनले हरेक मतदाता मतदानका लागि स्वतन्त्र रहेको र जुन पार्टीबाट निर्वाचित भए पनि उनीहरुले संविधान प्रदत्त मतदानको अधिकार प्रयोग गर्न पाउने बताए ।




















