skip this काठमाण्डौं महानगरपालिका ११

बालकुमारी घटनाका दोषी मन्त्री ज्वालालाई बरखास्त गर

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र ललितपुरको बालकुमारी क्षेत्रको सडकमा प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । झडपका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

घटनापछि उक्त घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला घटनास्थल पुगेर परिस्थितिलाई भड्काएको ठहर गरेको बुझिएको छ । आयोगले शनिबार आफ्नो प्रतिबेदन बुझाएको हो । प्रतिबेदनमा आयोगको निष्कर्ष उक्त घटनामा भौतिक मन्त्रीको लापरबाहीको कारणले भयो र दुई युवकको मृत्यु भयो भन्ने रहेको बुझिए पनि रिपोर्ट सार्वजनिक भएको छैन ।

घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको निष्कर्ष आएपछि अब उनी मन्त्री पदमा बहाल भईरहन मिल्छ मिल्दैन भन्ने प्रश्न खडा भएको छ । सामान्य नजरमा हेर्दा पनि अब उनी पदमा बसिरहन मिल्दैन कि उनले आफै पद छाड्नु पर्दछ होईन भने प्रधानमन्त्रीले उनलाई हटाउनु पर्दछ । भन्न त प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही गर्ने भनेका छन । जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको र अध्ययन गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन । तर यसमा ढिलाई भई रहेको छ ।

गलत गर्नेलाई कारवाही गर्दा आफ्नो पद हल्लिन्छ कि, गठबन्धनमा असर पर्दछ कि भनेर सोच्नु हुँदैन । त्यसो त संसदमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एमाले लगायतमा सांसदले ज्वालालाई मन्त्रीबाट हटाउन माग गरेका छन । प्रमले आफै नहटाएर जनस्तरबाट आवाज आउने छ । या प्रमकै निम्ती लाजमर्दो बिषय हुने छ ।

बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले १० लाख दिई छानबिन आयोग बनाएको थियो । छानबिनमा दोषी देखिने माथि कारबाही नगर्ने हो भने छानबिन समिति बनाउनुको अर्थ नै के रहन्छ र ? छानबिन आयोग बनाउने प्रतिबेदन दराजमा राख्ने हो भने त्यसमा सरको नियत माथि प्रश्न उठाउनु पर्ने हुन्छ । त्यसबेला जनतामा देखिएको आक्रोसलाई थामथुम पार्न आयोग बनाएको मान्नु पर्ने हुन्छ ।