skip this वडा नं १६ बालाजु च:मती

झापामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने

झापाको कनकाई नगरपालिका सुरुङ्गामा ‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ हुने भएको छ । आयोजक रोटरी क्लब अफ सुरुङ्गाले आज बिहिबार एक विज्ञप्तिमार्फत यही फागुन १४ गतेदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुने जानकारी गराएको हो ।

महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्लास्तरीय साहित्य गोष्ठी र राष्ट्रिय साहित्य गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन अघि स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरिनेछ । महोत्सवमा राष्ट्रियस्तरका दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीको प्रस्तुति रहने छ ।

महोत्सवमा कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक वितरण, राष्ट्रिय वेशभूषा, प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणआदि कार्यक्रम रहने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए । पहिलो दिन कक्षा छ देखि १२ कक्षासम्मका विद्यार्थीलक्षित कविता लेखन प्रशिक्षण कार्यक्रमको आयोजना हुनेछ भने दोस्रो दिन विभिन्न विद्यालयका शिक्षक, स्थानीय स्रष्टा तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीलक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।