नेपाली बजारमा इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरूलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सुरू गरेको हो ।
डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यवसायिक ज्ञान र सीप सिकेर आफैँ व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । जसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरूको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ । त्यस्तै, विद्यार्थीहरूलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले विद्यार्थी योजना ल्याएको छ । त्यसमा उनीहरूलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने छ । योजनामार्फत् व्यावसायिक रूचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ । जसले उनीहरूलाई एकै साथ सिक्ने र कमाउने बनाउनेछ । यसले व्यवसाय सुरू गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्ने कम्पनीले बताएको छ । डिजिटल साहुजीले ग्राहक, खुद्रा बिक्रेता, इम्पोर्टर, विद्यार्थी र युवाहरूको समस्याका लागि उपयुक्त समाधानहरूको वातावरण सिर्जना गर्ने र ग्राहकहरूलाई आफ्नै घर नजिकको डिजिटल साहुजीको डिलरबाट सामान भेरिफाई गरी खरिद गर्न पाउने सुविधा दिनेछ ।
खुद्रा व्यापारीहरूले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरू गर्न सक्नेछन् । डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरूले व्यवसाय सुरू गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसर पाउनेछन् । ‘डिजिटल साहुजी’को कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ । डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आइटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रूपमा रहेको छ ।




















