तेस्रो जनआन्दोलनको उद्घोष: व्यवस्था परिवर्तनको संकेत !

चैत्र २४ गते नेपालको राजनैतिक वृत्तमा परिचित दिन हो । यसै दिन २०४६ सालमा २५ वर्षे पञ्चायती शासनको अन्त्य र बहुदलिय व्यवस्थाको स्थापना भएको थियो । यसै शुभ साइतलाई लक्षित गरि २०८० चैत्र २४ गते तेस्रो जनआन्दोलनको उद्घोष भयो । पात्र, प्रवृत्ति र स्थान जहाँ जस्तो भएपनि दिन र कार्यक्रम अर्थवोधक रहेको छ । एकातर्फ राजेन्द्र महतो, प्रभु शाह जस्ता २०४६ साल र २०६२/०६३ को आन्दोलनका शक्तिले वर्तमान राज्य व्यवस्था र प्रणालीको विरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् भने अर्कोतर्फ माओवादी जनयुद्धको गढको रुपमा परिचित जुम्लाबाट राजा ज्ञानेन्द्रले शक्ति प्रदर्शनसहित उद्घोष गरेका छन् ।

देश लामो समयदेखि अस्तव्यस्त छ । जनता निराश छन् । जनता दलसँग रुष्ट छन् । दललाई काँध थाप्ने श्यामशरणहरु अहिले सत्ता र शक्तिमा छैनन् । निरंकुश प्रजातन्त्र विरोधी भनि पगरी भिराइएका राजा ज्ञानेन्द्रको लोकप्रियता दिन दुना रात चौगुना बढ्दो छ । राजनैतिक दल र तिनका ठालु सामाजिक संजालमा ट्रोल बनिरहेका छन् । लाग्छ यिनको उपादयता सकिसक्यो ।

चैत्र २४ को पूर्व सन्ध्यामा २३ गते केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले काठमाडौंको व्यस्त शहरमा परिवर्तनको विगुल भन्दै प्रदर्शन शुरु गरिसकेको छ । त्यस्तै चैत्र २७ गते लाखौं जनताको सहभागितामा जनआन्दोलनको उद्घोष गर्न राप्रपाले कार्यक्रमको आयोजना गरेको छ । राप्रपाको भनाई सापट लिने हो भने यो आन्दोलन वार कि पार को आन्दोलन हुने छ । यसले अवस्था होइन समग्र व्यवस्था परिवर्तन गर्ने छ ।

नेपालमा हुने प्रत्येक निर्णायक आन्दोलनमा छिमेकीको सहयोग समर्थन र संलग्नता, यो कुनै नेपाली बिच छिपेको तथ्य होइन । २००७ भनौं, २०४६ अनि २०६२/०६३ को आन्दोलनमा त सहयोग र समर्थन मात्र होइन धाक–धम्की र दबाब समेत रहेको तथ्य तत्कालिन नेपालमा रहेका कुटनीतिज्ञ श्यामशरण, के.भि. राजन आदि को पुस्तकले बोल्दछ ।

अहिले नेपाल राजनैतिक अस्थिरता, दलिय तानातान, अव्यवस्था , चरम गिरिबी, बेरोजगारी, आर्थिक मन्दिबाट गुज्रिएको छ । जताततै निराशा मात्र छ । आशाको त्यान्द्रो कहिँ पनि देखिदैन । दल र तिनका ठालु सुध्रिने होइन उल्टै अर्ति उपदेश दिन व्यस्त छन् । सनातन धर्ममाथि चौतर्फि आक्रमण भएको छ । धर्मभिरु जनता धर्म रक्षाको लागि भन्दै सडकमा आएका छन् । सामान्य परिवर्तनले मात्र यो आक्रोश थेग्न र थाम्न सक्ने देखिदैँन ।

बजारमा व्यवस्था परिवर्तनको व्यापक चर्चा छ । पशुपति समशेर, केशर बहादुर विष्ट जस्ता नाम भावि प्रधानमन्त्रीको केन्द्रको रुपमा चर्चित छ भने वर्तमान शक्ति समिकरणका नेता र प्रतिपक्षी नेता काम्लो बोकी देश छोड्ने हल्लाले बजार तताएको छ ।

यदि राप्रपाले भनेजस्तो लाखौं जनताको भिड काठमाडौंमा उर्लिए भने संघीयताका मतियार, धर्मनिरपेक्षताका मतियार र गणतन्त्रको ठेकेदार र तिनका पृष्ठपोषकले जनआक्रोश थेग्न सक्ने छैन र तेस्रो जनआन्दोलन बेलायतको गौरवमय क्रान्ति, स्पेनको क्रान्ति र फ्रान्सेली राज्यक्रान्ति बन्न बेर लाग्ने छैन । अझ पछिल्लो उदाहरण हेर्ने हो भने श्रीलंकाको नियति नेपाली नेताले बेहोर्न बेर छैन । समय छदैँ आफूलाई सुधार्ने, सहमति र सर्वस्वीकार्य विधि पद्धति अपनाइयो भने देश र जनताले धेरै क्षति व्योहोर्नुपर्ने छैन । अन्यथा भिरबाट खस्ने गोरुलाई राम राम भन्ने हो, काँध कसैले थाप्दैन ।