प्रदूषित वातावरण, शुष्क कण्ठ, जलवायु परिवर्तनको समस्या र गर्मीको मौसमका साथ यस वर्षको सरस पर्व अक्षय तृतीया हाम्रो घर आँगनीमा प्रवेश गरेको छ । संसारमा अन्यत्र नभएको मौलिक संस्कृतिले हामी र हाम्रो देशलाई उभ्याएको छ, विशेष पर्व, अक्षय तृतीया यही ०८१ वैशाख २८ गते परेको छ, शुक्रबार ।
यत्किन्चित् दीयते दानं स्वल्पं वा यदि वा बहु । तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।। एष धर्मघटो दत्तो ब्रह्मविष्णु शिवात्मक: । अस्य प्रदानात्तृप्यन्तु पितरोपि पितामहा: ।। गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । पितृभ्य: संप्रदास्यामि ह्यक्षयमुपतिष्ठतु ।। अपूर्व पुण्य प्राप्त गर्ने दिन, अक्षय तृतीया, यस दिनलाई शिव पार्वतीको बिहेको दिनको रुपमा, ईश्वरको आवेश अवतार परशुराम जयन्तीको रुपमा समेत हेरिने यो पर्वको विशेष महत्व रहेको छ । अक्षय तृतीयालाई ज्ञानको आरम्भ, त्रेतायुग आरम्भको दिन मानिन्छ । हिन्दु धर्म संस्कृतिमा यस दिनलाई विशेष पर्वको रुपमा मान्ने चलन छ । वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्र्वमा गरिएका साना पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने कारण यसलाई अक्षय तृतीया भनिएको हो । यस दिन धेर थोर दिइएको दानले अक्षय फल प्राप्त हुने, ब्रह्मा, विष्णु, शिव ३ देवता नै प्रसन्न रहने, यस दिन तिल मिश्रित अन्न, जल, घडा दानले स्वर्गीय पितृहरु बढी खुसी रहने, दातालाई अक्षय पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेको छ । जौको सात्तु अनि सर्वत पानीको विशेष महत्व रहेको यसदिन श्रीविष्णुको विशेष पूजा हुने गर्छ । सार्वजनिक कार्य, दान, होम, जप, तप, योग, पूजा आदि सत्कर्म गरेर अक्षय पुण्य प्राप्ति गर्न चाहनेले वसन्त ऋतुको यसपर्वलाई बढी रुचाउँछन् । अक्षय तृतीयाको महत्वका बारेमा मत्स्यपुराणमा धेरै चर्चा गरिएको छ । वैशाख मासका सबै दिनहरु पावन छन्, विशेष दिनको रुपमा यसलाई लिइएको छ ।
ईश्वरीय विधानमा सबै ऋतुहरु समान छन् तथापि शुष्क कण्ठ गृष्मको आरम्भ हुने बखत शरीरको तापमान सन्तुलन राख्न जौ, सात्तु सेवन गरेर शरीरलाई निरोगी राख्न यस पर्वले प्रेरित गर्छ । उखरमाउलो गर्मी होस् वा अति चीसो वातावरण होस् तन, मन सन्तुलन हुन कठिन हुन्छ । वसन्तऋतुमा पर्ने विभिन्न चाड पर्वहरुले ती सबैको सन्तुलन ल्याउन सहयोग गर्छन् । ऋतुहरुमध्ये वसन्त एवं शरदऋतुलाई काव्यकारहरुले विशेष प्राथमिकता दिएका छन् । शरदको उल्लास पूmलहरुको सजावट र वसन्तको उल्लास पल्लवीहरुको उद्गारले नवजीवन, नवीन उत्साह, नवीनतम उर्जाबाट मानवजीवन परिपूर्णतम बन्न प्रेरित गर्छन् । जीवनको उद्देश्य सिर्जना र संरक्षण पनि हो । नयाँ वर्ष संगै आउने यस्ता पर्वले देश सेवाको नयाँ प्रेरणा पनि दिन्छ ।
पूर्वीयदर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनु पर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ र सन्तुलित सभ्य नागरिक समाजबाट देश प्रेम, ईश्वरीय चिन्तन समेत हुन पुग्छ । अरुलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भनी पूर्वीयदर्शनले परोपकारको अक्षुण्णतालाई संकेत गरेको छ । समयमा रहेका धार्मिक जनहरु, साधु, सन्त, वैरागी, तपस्वी, समाज हितकारी व्यक्तिदेखि सम्पूर्ण जीवात्माहरुलाई आफ्नो सेवाबाट, समयबाट, श्रमबाट, दानबाट खुसी गराउनु पर्ने कुरा दर्शनशास्त्रहरुले बताएका छन् । मानवजीवन भन्नु परोपकारको लागि हो, पशु र मानवमा पृथकता धन्नु नै चेतना हो ।
दान मध्ये अन्न दान प्राण दान सरह हो । सबै प्राणीहरु जल, अन्न र वायुमा निहित छन् । वातावरणको संरक्षण गरी जलदान, अन्नदान गर्न यस पर्वले जोड दिएको छ । हाम्रो मुलुक कृषिप्रधान हो । प्रमुख वाली धान, गहुँ, मकैका अतिरिक्त जौ उत्पादन पनि हुने गर्छ । तिल, जौद्वारा भगवान्को पूजा हुने गर्छ । जौ, गहँुलाई शितलताको प्रतीक मानिन्छ । अस्पतालका बिरामीहरुलाई जौ, चनाको सात्तु खान प्रेरित गरिन्छ । रोग निरोधक शक्ति भएको, पाचनमा सजिलो भएको, जौ, गहुँको खस्रो पदार्थबाट पेटमा रहेका बिकारहरु सजिलै बाहिर निस्काशन हुने कारणले गर्दा रेसायुक्त खानेकुरा खानाले शरीर स्वस्थ हुने गर्छ । शरीरमा मल भित्र रहन पाउँदैन । प्रदूषित वस्तुहरु तुरुन्तै बाहिर निस्काशन हुने पदार्थहरु दैनिकी जीवनमा प्रयोग गर्नुपर्ने हुन्छ । यस अर्थमा जौ, गहुँ, मकैका च्याख्ला, चना, भटमास आदि अन्नद्वारा शरीर निरोगी राख्न सकिन्छ ।
अन्नको अतिरिक्त जीवनमा जलको अधिक महत्व छ । सम्पूर्ण सृष्टि जलमै भएको हो । संरक्षण पनि जल सहितको भूमिमा हुन्छ । जलबिना अन्नको पनि सिर्जना हुँदैन । जललाई जीवन भनिएको छ । जलदान भन्नु जीवनदान नै हो । अक्षय तृतीयाको दिन जल दानको संकेतले मानवले हरदिन पानीलाई पवित्र राख्नु पर्ने वोध गराउँछ । जौको सात्तु, साथमा धर्मघट अर्थात् जलपूर्ण घडा, घ्यू, चिनी, मसला, तिल मिश्रित सर्वत र आकाशको प्रतीक छाता र धर्तिको प्रतीक जुत्ता दानले सम्पूर्ण जीवन र जीवन संरक्षण एवं यी वस्तुहरु अरुको हितमा प्रयोग गर्न संकेत प्राप्त हुन्छ । यो निस्वार्थ दान हो । मनुस्मृति, विष्णुधर्मोत्तर ग्रन्थ, विष्णुपुराण, गीता जस्ता पावन ग्रन्थ एवं महाभारत आदि ग्रन्थहरुले जीवन दानका बारेमा विशद् चर्चा गरेका छन् । अक्षय तृतीयामा गरिएका दान, पुण्यले इहलौकिक जीवात्मा त खुसी हुन्छन् नै पारलौकिक पुण्यात्मा पितृहरु पनि खुसी हुन्छन्, तृप्त हुन्छन् । आफ्ना स्वजन, बन्धुबान्धव र मृत पितृ, पितामहरुलाई पनि स्मरण गरिने पर्व यस दिनको महत्व जति वर्णन गरे पनि कम हुन्छ ।
अक्षयतृतीयालाई परशुरामजयन्तीका रुपमा पनि मानिन्छ । परशुराम अष्टचिरञ्जीवी मध्ये एक हुन् । वर्षवृद्धि हुने दिन जन्मोत्सव पर्वहरुमा आयु र आरोग्य वृद्धि गर्न अष्ट चिरञ्जीवीलाई विशेष आराधना गर्ने चलन छ । परशुरामलाई श्रीविष्णुको १० अवतारमध्ये छैठौं अवतारमा लिइएको छ । पितृ आज्ञा पालन गर्ने परशुरामको जन्म जमदग्नि ऋषि र माता रेणुकाको गर्भबाट भएको हो । सूर्यास्तपछि तेस्रो प्रहरमा धर्ती अवतरित परशुरामले धर्तीमा रहेका निरंकुश राजाहरुलाई वध गरेर धर्मको रक्षा गरे । एक्काइस पटक पृथ्वी परिक्रमा गरेर निरंकुशता समाप्त पारी वीर क्षत्रियहरुको तेजोवध गरिदिए । परशुरामलाई भगवान्को क्रोध, आवेश अवतारको रुपमा पनि लिइन्छ । धर्तीलाई आफ्नो मानेर भूमिप्रति अत्याचार गर्ने, साधु, सन्तप्रति रोष गर्ने, शास्त्रप्रति अनादर गर्ने जो कोहीप्रति पनि भगवान् सन्तुष्ट हुनु हुन्न यहाँसम्म कि आफ्नै आमा वध गर्न पनि परशुराम पछि परेको देखिन्न । माता रेणुकाबाट असन्तुष्ट भएका जमदग्नी ऋषिले परशुरामलाई आमाको हत्या गर्न आदेश दिए । पछि आदेश पालनबाट खुसी भएका परशुरामलाई वरदान माग्न भन्दा आपूmबाट वध भएकी माता र दाजुहरुलाई पुन: जियाएर त्यो दोष पनि आपूmलाई नलाग्ने वरदान माग गर्दा पिता जमदग्निले हुन्छ भनी वरदान दिए जुन वरदान सिद्ध पनि भयो ।
शस्त्रविद्यामा निपुण परशुरामबाट कर्ण, भीम आदिले शस्त्रविद्या सिकेका थिए भने त्रेतायुगमा श्रीविष्णुले मर्यादा स्थापित गराउने क्रममा सौम्य अवतार, राम अवतार लिइसकेको बुझेर रौद्ररुप परशुरामले आफ्नो शस्त्र विद्या छोडी सामान्य ऋषिको रुपमा स्थापित भए । भारतको आसाम पूर्वाेत्तर भागमा परशुराम कुण्ड रहेको छ । त्यहाँ पर्व विशेषमा हिजो आज पनि मेला लाग्छ । भारतका चारधाममध्ये बद्रिनाथधामको ढोका अक्षय तृतीयाकै दिनदेखि खुल्ने गर्छ ।
हाम्रो मुलुकमा अक्षय तृतीयाका दिन पशुपतिक्षेत्र, बूढानीलकण्ठक्षेत्र तथा अन्य धेरै मठ मन्दिरहरुमा विशेष पर्व, पूजा, मेला, जात्रा हुने गरेको छ । काठमाडौं उपत्यका, ललितपुरक्षेत्र पुल्चोकमा भगवान् मत्स्येन्द्रनाथका तर्फबाट पथिकहरुलाई शख्खर पानी यसै दिन बितरण गर्ने चलन छ । खेती किसानी काम गर्नेहरुलाई शीतल जल दिएर कृषि कार्यमा प्रेरित गर्ने रुपमा आरम्भ गरिएको यस कार्यले हालसम्म निरन्तरता पाएको छ । अर्काेतर्फ मत्स्येन्द्रनाथ देवता सहकालका रुपमा चिनिन्छन् । अन्नबाली संरक्षणका रुपमा पनि चिनिन्छन् । हिउँदेबालीका रुपमा रहेको जौलाई भुटेर सात्तु बनाई नयाँ अन्नको रुपमा देवतालाई चढाउने, आपूmले पनि ग्रहण गर्ने आदि कार्यले हालसम्म निरन्तरता पाएको छ । बिरामीहरु खासगरी उच्च रक्तचाप र मधुमेहका लागि जौ र यसका परिकार विशेष खानाका रुपमा लिइन्छ ।


















