‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन शर्माको माग

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका छन् । उनले आज नेपाल विद्यार्थी संघ झापा-काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उक्त माग राखेका हुन् ।

गृहमन्त्री लामिछानेले संसद्को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए । साथै, शर्माले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ?, भन्दै प्रश्नसमेत गरेका छन् ।

सहमति नभए संसद्को रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रहसमेत गरे । भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे । महामन्त्री शर्माले कांग्रेसका कसको–कसको छानबिन गर्ने हो, गरे हुने तर गम्भीर रूपमा छानबिन हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले रवि दोषी देखिए आफूहरू राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौती दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे । उनले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र शमशेरले अन्त्य गरिसकेको बताए ।