यस वर्षको वाल गुरु षडाननको जन्म जयन्ती तथा जनकपुर राम जानकी बिबाह महोत्सव मार्ग शुक्ल पन्चमी यही ०८१ मार्ग २१ गते शुक्रबार सकिएको छ, आज २२ गते जन्ती विदाइको दिन । तपस्वीहरुको देश नेपालको पूर्वीक्षेत्रमा बालगुरु षडाननले देखाएको आदर्श कसैले बिर्सेका छैनन्, भनिन्छ उनले अरुण नदी पार गर्दा केवल आफ्नो तपोवल खराउबाटै गरे, हिजोआज विकासका नाममा बनेका भब्य सडक र पुलहरु बनिसक्दा भत्कि पनि सक्ने गरेका छन् ।
मार्ग शुक्ल पन्चमीे राम सीताको भब्य विबाह महोत्सव । यद्यपि यो उत्सव एक दिनको मात्र होइन एक हप्ताअघिदेखि नै शुरु हुन्छ । मार्ग महिना हर्ष, उल्लासको समय, धान भित्र्याउने, भकारी भर्ने बेला र खासगरी वैवाहिक गाँठो बलियो पार्ने समय पनि हो । भारतीयक्षेत्र अयोध्या र हाम्रो जनकपुरको सान्निध्य विबाह पन्चमीको रहस्य हो, यद्यपि यी दुबै देशका बीच सिमानाका विषयमा स्थायी समाधान भइसकेको छैन ।
त्यसो त जनकपुरमा जानकी बिबाह हरेक वर्ष भव्यताका साथ मनाइन्छ । पूर्वीय चिन्तनमा परमेश्वरकोे चर्चा सवैतिर छ । परमेश्वर, परमतत्व, ब्रह्मभाव सवै जीवात्मामा निराकार रुप लिएर चित् स्वरुपमा रहेको र जगत्मा सगुण, साकार स्वरुप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरुले ब्याख्या गरेका छन् । हाम्रा श्रुति (वेद) हरुले परमतत्व जीवात्मामा आराम तत्व लिएर हर प्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन् भने स्मृति (पुराण) हरुले परमेश्वरका परम लीला प्रसंग, अवतार कथाहरु अत्यन्त रसिलो ढंगले प्रस्तुत गरेका छन् । भागवतमा भगवानले अहं सर्वेषु भूतेषु भन्नु भएको छ, यसको अर्थ हो सबै प्राणीका अन्तरहृर्दयमा ईश्वरको बास हुन्छ । परमेश्वरका अनेक अवतारहरुमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भदिन स्मरणस्वरुप चैत्रशुक्ल मध्याह्न वाह«बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रुपमा मानिएको छ । अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भवाट प्रकट भएका श्रीराम अघि स्वायम्भूमनु एवं शतरुपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रुपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंगहरु छन् । उनै रामसँग सीताको विवाह प्रसंग नै विबाह पंचमी हो !
संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक ब्याधा थिए । मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपस्वी साधकका रुपमा श्रीरामका पावन कथा प्रसंगहरुको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखवाट स्वयं वेद प्रस्तुत भई रामायणको रुप लिएको हो । सवैै मानिसका लागि बेद सरल र सहज छैन, परंन्तु आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा प्रस्तुत छ, हाम्रा भानुभक्त यसका ज्वलन्त पात्र हुन् । रामको गाथा गाइएको रामायण साहित्यको आधार हो, भनिन्छ जसले रामको नाम लिन्छ, रामायण काब्यको अध्ययन गर्छ ऊ स्वयं कवि बनिहाल्छ । आज विश्वभरि नै रामायण, महाभारत र गीताशास्त्रहरु चर्चित छन्, सम्पूर्ण भवरोगको औषधि हुन् यी । शोक, भय, चिन्ता, ब्याकुलतामा परेका हरुको सही र शुद्ध औषधि तत्व भनेको रामायण पाठ, रामको स्मरण र मन्त्रोच्चारण, श्रीरामको कथा अवतार, उनका लीलाहरुको संकीर्तन हो । ब्यवहार परस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य समेतले रामायणको चर्चा गर्न छाडेनन् । अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवहरुको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुंदा ब्रह्माण्डका सारा विषय वासनाहरु समेत मोहित बन्न पुगे । धर्तीमा रहेको प्रदुषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न वेला वखत धर्तीैमा देखिने दुष्ट राजाहरुको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई भने रामनवमीको नामले पुकारिन्छ, चैत्रमास शुक्ल नवमीको ।
हरेक मानवका लागि गृहस्थ जीवन सुन्दर छ, त्यसकोलागि बिबाह बन्धनमा बाँधिने गरिन्छ । मानव रुप लिई धर्ती अवतरित श्रीरामले हाम्रो वैदेही नगरी धनुषाधाम भनौँ जनकपुरमा सीता अर्थात् धर्ती माता जानकीसंग बिबाह गरेको दिन, त्रेतायुग भनौँ आजभन्दा सांढे १२ लाख वर्षअघिको कुरो हो र पनि अहिलेसम्म ताजै छ र त साताव्यापी मनाइने यो उत्सव भइरहेको छ । साताव्यापी कार्यक्रमको पहिलो दिन राम सीताको झाँकीले नगर परिक्रमा गर्ने, क्रमश: दोस्रो दिन पहिले रामले सीतालाई फूलबारीमा दर्शन दिएको स्मरणमा फूलबारी लिला, तेस्रो दिन जनकको शर्त अनुसार धनुष यज्ञको आयोजना, चौथोदिन राम र सीताका अलग महन्तहरुले गर्ने तिलक महोत्सव, पाचौँ दिन विबाह मण्डप तयारीमा नदीबाट ल्याइएको माटो राखिने मटखोर पर्व सम्पन्न हुने गर्छ । छैठौँ दिन बाहृ बिघाक्षेत्रमा राम जानकीको डोलालाई स्वयंबरमा शरिक गराइँदै साँझ भव्य बिबाह बन्धनमा बाँध्ने परम्परा र सातौँ दिन जसलाई राम कलेवा भनिन्छ, जन्तीहरु विदाइ गरिने, उपहार, कोसेली दिदै उत्सवको समापन गरिने दिनको रुपमा मानिन्छ ।
छोरी विदाइ गर्दा कुन बाबु आमाको आँखा नरसाउला र त सत्य युगमा छोरी शकुन्तलालाई भरतसंग विदाइ गर्दा बाबु कण्वले दिल दुखाएको प्रसंग: ‘हुन् माल छोरी अरुलाई दिने राखी धरौटी सरी जानी लिने, आनन्द छु आज गरी बिदाइ हल्का भएभैझै अऋणी कहाइ’ भनी काव्यकारहरुले प्रस्तुत गरेका छन् । अयोध्याका राम र नेपालकी सीताको बिहेपरम्पराले दुबै देश वीचको अकाट्य र बेजोड सम्बन्धको परिचय पनि दिन्छ । हाम्रो तमाम व्यापार उतै छ, यद्यपि घाटा ठुलो छ ।
दशरथले राममा पाएको पितृस्नेह, पत्नीब्रत धर्म अर्धाङ्गिीनी सीताको स्वभाव, भाइ भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ । रामायण मानवजीवनको यथार्थपरक आस्था हो, ब्यवहारत एउटै कडी हो जसबाट नजीकै आएको राज्य सुखभोग, ऐश आरामलाई सीधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन संचालन गर्न सवैलाई संस्मरण गराउँछ । राम बनवास जाँदा दुुखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन् । जीवनका लागि यो भन्दा ठूलो त्याग के पाइन्छ ? बाबुको बचनलाई एक रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतिक श्रीराम आदर्श पति, आदर्श पुत्र, आदर्श भाइ र आदर्श राजा समेत हुन् । सदाचारको आदर्श र ब्यवहार प्रयोगको असल नमूना रामायणले हर मानवलाई अनुशासित बन्न प्रेरित गर्दछ । गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ठ र सर्वाेत्तम शास्त्र हो, यसका मूल लेखक श्रीशिव हुनुहुन्छ, जसको तपस्थली नेपाल नै हो । संस्कृतका आदिकवि वाल्मीकिले यसलाई लिपिबद्ध गराए, लोकभाकामा भानुभक्त अघि बडे, नेपालकै नाम प्रसिद्ध छ । नेपालभूमि, जानकीको जन्मभूमि जनकराजको जन्म र कर्म थलो पूर्वीय चिन्तनको भण्डार जनकपुरक्षेत्रमा सत्संगकै क्रममा राजा जनकले देवर्षि नारदसंग भगवान्को अवतार प्रसंगवारे प्रश्न राख्दा भगवान्का अंशांश, अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य ६ अवतार बताइएको थियो ।
पूर्वीयदर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ । सृष्टिको उषाकालमा मरिचि आदि ऋषिमुनिहरुलाई अशांशका अवतारका रुपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंशअवतार, कपिलदेव, कच्छप अवतारलाई कला अवतार, परशुरामलाई आवेश अवतार, रामलाई पूर्ण अवतार र श्रीकृष्णलाई परिपूर्णतम अवतार मानिएको छ । युगयुगमा परमेश्वरले आवश्यकताअनुसार अवतार लिने बारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भगवत् गीतासम्ममा चर्चा भएको पाइन्छ । शिवगीतामा देवी पार्वतीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसंगहरु सुनाइएको छ । कसैलाई दिइएको बरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ । सृष्टि संचालनका लागि, बाधा फुकाउन लौैकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसंग देखा पर्छ । हिरण्यराजले उपद्व्रव गरिएकी पृथ्वीलाई बचाउन बराह, हिरण्यकशिपुको आवेगवाट प्रह्लादलाई वचाउन नृसिँह, समुद्र मन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्र मन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि साँख्य योग सिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरुबाट धर्तीलाई संरक्षण दिन रामअवतार भएको चर्चा पाइन्छ । दुष्ट राजा र नेताहरुको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्धअवतार लिने प्रसंग पनि शास्त्रहरुमा वर्णित छ । त्यस्तै महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्किअवतार लिने पनि भविष्यवाणी गरिएको छ, त्यो समय अझै ४ लाख ३१ हजार ९९० वर्ष बाँकी नै छ ।


















