सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कैलालीको टिकापुर नगरपालिका-८ फाँटास्थित सडकमा सु.प,प्र.०१-००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागी मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-२ बेलचोक बस्ने बल बहादुर लुङ्गेलिको
घरमा पार्किङ गरी राखेको ना.३ स १९७ नम्बरको अटो स्टार्ट गर्ने क्रममा अनियन्त्रित भई घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा अटो चालक सोही ठाउँ डेरा गरी बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय अशोक कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।