भारतको प्रयाग नजिक राजापुर भन्ने एउटा गाउँ थियो । त्यहाँ आत्माराम दुवे नामका एक ब्राह्मण थिए । हुलसी उनकी पत्नी थिइन् । संवत् १५५४ श्रावण शुक्ल पञ्चमीका दिन ती दम्पतीबाट १२ महिनाको गर्भपछि एक बालक जन्मिए । जन्मदा मूल नक्षत्रमा जन्मिए उनी ! सामान्यतया यो नक्षत्रमा जन्मेको बालकले वाबुआमा पिर्छ भनिन्छ । बालक सामान्य अवस्थामा थिएनन् पनि । जन्मदा उनी रोएनन्, बरु मुखबाट‘राम’ शब्द निकाले । जन्मदै ३२ वटा दाँत, र हेर्दा उनी पाँचवर्षभन्दा माथिका देखिन्थे । साँच्चै अपशकून भयो बाबुआमालाई ! चिन्तित भए सबै । अनिष्टको शंका हुँदा तीन दिनमै आमाले रातमा एक दासीलाई त्यो बालक जिम्मा दिएर घर छोडिन् । घर छोडेको भोलिपल्टै आमा हुलसीको अवसान भयो । बालकको नाम रह्यो तुलसीदास ।
दासी चुनियाँले बालकलाई पालनपोषण गरिन् । बालक साँढेपाँच वर्षको हुँदा धाई आमा दासी चुनियाँको पनि देहान्त भयो । बालक टुहुरो भए, थप टुहुरो, घरघर दैलोदैलो चाहार्दै पेट पाल्न थाले आपँैm ! घरघर टुहुरो बालक हिँडेको देखेर माता पार्वती भनौँ उमालाई दया लाग्यो । एक ब्राह्मणीको रुप धारण गरी आमा पार्वतीले त्यो बालकलाई भोजन गराउन लाग्नुभयो । भगवान शंकरजीको प्रेरणाले रामशैलमा बस्ने एक नरहरि गुरुले बालकको नाम रामबोल भनी राखे, किनकि उनी जन्मदै राम बोल्ने थिए र उनलाई अयोध्यामा लगे । संवत् १५६१ अर्थात् रामबोलको ७ वर्षको उमेर ती गुरुले माघ शुक्ल पञ्चमीका दिन शुक्रबार यज्ञोपवीत संस्कार गराए ! गुरुले नसिकाइकनै रामबोलले ब्रह्मगायत्री मन्त्र उच्चारण गरे, सबै चकित भए । अब गुरु र वैष्णवहरुले गर्ने पन्च संस्कार गरी राममन्त्रको दीक्षा दिए रामबोललाई र यसपछि अयोध्या लगे शास्त्रार्थ गराए । बालकको सम्झना शक्ति तीखो थियो । गुरु मुखबाट जे बोलिन्थ्यो, बालकले सुनेर कण्ठ पार्थे । गुरु नरहरिले बालकलाई रामायण सुनाए । केही दिनपछि बालक काशी आए । पन्ध्र वर्षसम्म त्यहाँ उनले वेदको अध्ययन गरे ।
गुरुकाश्रीमुखका आज्ञाले उनी जन्मघर फर्किए । तर घर पूरै उजाड थियो । बालकको मन छिया छिया भयो, धिक्कार मेरो जन्म भनेर । न बाबु, न आमा न आफन्त, जन्मथलो देखेर उनलाई लोक बासनाले सतायो पनि ! मैले जन्म लिएकै कारण आफन्त सबै टोकेँ! धिक्कार मेरो जन्म, पछुतो गर्न थाले । परिबार सर्बनास,पुत्रको काम पिण्ड पानी दिने, सिकेकोले विधिपूर्वक श्राद्ध पिण्ड दिए, पितापुर्खाले पिण्ड पानी पाए! जन्म घर वरिपरि नै बसे उनी ! केही समय राम कथा सुनाए उनले आफ्ना घर वरिपरिकालाई! रामकथा पितृ उद्धारको गतिलो साधन हो । श्राद्धका दिन रामगीता पाठगर्ने गराउनेले पितृमोक्ष गराउँछन्, आज पनि यो चलन छ हाम्रो ।
संवत् १५८३ जेष्ठ शुक्ल त्रयोदशी, वृहस्पतिवार उनी व्यवहार वन्धनमा बाँधिए, २९ वर्षको उमेरमा विहे भयो, भारद्वाज गोत्रकी सुकन्यासँग । जीवन सुखैसँग रह्यो तर पत्नीसँग मोह धेरै भयोे । संसारमा उनले केही देखेनन्, पत्नी बाहेक । एक दिन पत्नी माइत गइन्, आप्mनै भाइ लिन आए माइतबाट । रामबोलपनि रातमै ससुराली पुगेछन् । ससुरालीमा पत्नीले उनलाई भनिन्, धिक्कार छ तिमीलाई हाड मासुले बनेको सुन्दर शरीरतिरै आकर्षित हुने तिमीलाई, यत्रो आशक्ति किन मतिर ? यो आशक्ति ईश्वरतिर भए तिम्रो उद्धार हुन्थ्यो । पत्नीको यो शब्द ससुरालीमा सुन्दा उनलाई मुटु विभ्mयो ।
उनले त्यो चटक्कै छोडे, सिधै प्रयाग पुगे, गृहस्थ भेषलाई पनि छोडे, साधु भेष लिए, काशी पुगे, जहाँ उनलाई काकभुसुण्डीले दर्शन दिए । काशीमा बसे,उनलेले श्रीराम कथा सुनाउन थाले । काशीमा उनले एक प्रेत देखे, प्रेत स्वयं हनुमान रहेछन् । प्रेतरुपी हनुमानले तुलसीदासलाई भने, ‘नडराऊ म तिमीलाई बाटैमा श्रीरामको दर्शन गराउँछु, चित्रकुटसम्म जाऊँ’ भने । उनी चित्रकुट आए, त्यहाँ रामघाटमा आसन जमाए, घुम्दै थिए उनी । बाटामा एकदिन तुलसीदासले श्रीरामको दर्शन पाए । उनले देखे सुन्दर घोडा चढेर, हातमा धनुष बाँण लिएर दुई सुन्दर राजकुमारहरु आफूतिर आएका तर पत्याएनन् । पछाडितिरबाट हनुमान आए,श्रीरामको रहस्य बताए । उनलाई पछुतो भयो श्रीरार्म चिन्न नसक्ता, हनुमानले ढाडस दिए चिन्ता नगर विहानश्रीरामको फेरि दर्शन हुन्छ भनेर !
संवत् १६०७ औंसी बुधबारका दिन उनका सामुश्रीराम प्रकट हुनुभयो । श्रीराम बाल्य भावमा हुनुहुन्थ्यो,श्रीरामले भन्नुभयो ‘बाबा अलिकति चन्दन दिनुस्न’, यतिबेलापनि श्रीरामको दर्शन छुट्ला भनेर हनुमानले हत्तपत्त सुगाको रुप लिए । सुगाले यसो भन्यो–चित्रकुट के घाटपर भइ संतन कि भीर । तुलसिदास चंदन घिसें तिलक देत रघुवीर । संवत् १६२८ को कुरा, हनुमानको आज्ञाले तुलसीदास अयोध्या फर्किए, प्रयागमा भने मकर मेला थियो, मकरमेलामा तुलसीदास त्यहीँ बसे केही दिन । मेलाको छैठौं दिनमा तुलसीदासलाई एउटा वरको रुखमुनि गुरु भारद्वाज र याज्ञवल्क्य मुनिको दर्शन मिल्यो । त्यहाँ त्यही कथा थियो जुन आफूले वाल्यकालमा गुरुमुखबाट सुनेकोे । पछि उनी काशी फर्किए जहाँ प्रह्लाद घाट थियो, यहाँ एक ब्राह्मणका घरमा बस्न थाले । त्यहीँ उनलाई कवित्व शक्तिको प्रस्फुटन भयो, संस्कृतमा खूब कविता सिर्जना हुन थाल्यो उनीबाट । संस्कृतमा दिनभरि पद्य गीतहरु, कविताहरु गाउँथे उनी तर रात परेपछि सबै विर्सन्थे ।
धेरै दिनसम्म यस्तो भइरह्यो, दिनभर संस्कृत कविता स्पूmरण हुने, रातपरेपछि विर्सने, सात दिन पूरा भयो । आठौं रातमा तुलसीदासलाई एउटा सपना भयो । भगवान शंकरले रातमा सपनामा आएर भन्नुभयो । ‘तुलसी तिमी संस्कृतमा होइन आफ्नै मातृ भाषामा काव्य, रचना गर न ’, तुलसीदास निद्राबाट ब्यूँझिए, उठेर बसे, रातमा शिव, पार्वतीसँगै दर्शन पाए उनले । तुलसीदासले शिव पार्वतीलाई दण्डवत् गरे । शिवजीले आर्शीर्वाद दिंदै भन्नुभयो– ‘तिमी अयोध्या जाऊ र आफ्नो भाषामा रचना तयार गर, मेरो आशीर्वादले तिम्रो रचना काव्य सामवेद हुनेछ’ । उमा महेश्वर अन्तध्र्यान हुनुभयो,उनी भने अब काशीबाट अयोध्या आए । संवत १६३१ को आरम्भ हुँदै थियो, रामनवमीको दिन, तुलसी दास लेख्न बसे, रामचरित मानस । २ वर्ष ७ महिना, २६ दिन पूरा भयो । संवत् १६३३ मा मार्ग शुक्ल पञ्चमी राम जानकी विवाहको दिन रामायणको ७ काण्ड लेखन पूरा भयो, उनीबाट ।
उनी फेरि काशी फर्के । काशीमा उनले विश्वेश्वर बाबा र माता अन्नपूर्णलाई आफूले रचना गरेको श्रीराम चरित्र मानस कथा सुनाए । रातमा श्रीविश्वनाथ सामु आफूले तयार गरेको पुस्तक सुम्पे । भोलिपल्ट विहान माताले पोका पारी सुम्पेको पुस्तक खोली हेरे,त्यहाँ लेखिएको रहेछ ‘सत्यं शिवं सुन्दरम्’ यी अक्षरका तल भागमा भगवान शंकरले आफूले सही गर्नु भएको रहेछ । पुस्तक खोल्दै गर्दा वरिपरि सत्यं शिवं सुन्दरम्का स्वरहरु गुन्जिरहेको सबैले सुने त्यहाँ ! यी स्वरहरु सुनेर,हल्लीखल्ली हुन थाल्यो, वरिपरि लामो समयदेखि मन्दिर परिसरमा रहेका पण्डितहरुलाई इष्र्या भएछ । ढोंगी तुलसीदास भनेर उनलाई उपहास गर्न लागे उनीहरु । त्यति मात्रै होइन उनको त्यो प्रसाद पुस्तक नष्ट गर्ने प्रयत्न पनि भयो । पण्डितहरुले उनको कृति चोरी गर्ने प्रयत्न गरे, २ जना चोहरुलाई पठाए । तुलसीदास काशीको एउटा कुटीमा बस्थे । चोरहरु पुस्तक चोर्न आए । तर चोरहरुले कुटीमा २ धनुष बाँड लिएर बसेका पाले पहरा देखे । वीर देखिन्थे ती, पालेहरुले धनुष वाँड लिएको देखेर चोरहरु डराए, पालेहरु राम्रा थिए, अति सुन्दर एकको अनुहार कालो र अर्काेको अनुहार गोरो । यो दृश्य देखेर चोरहरुको मन फिरेछ, आजैदेखि चोरहरुले चोरी नगर्ने प्रतिज्ञा गरेछन् त्यहीँ । यो दृश्य तुलसीदासले देखेछन्, उनलाई दिक्क लागेछ, मैले गर्दा ईश्वरलाई पनि दु:ख भयो भनेर । पुस्तक र आफ्नो रक्षाकै लागि बाहिर २ धनुर्धारी वीरहरु, ढोकेहरु देखेर आफूलाई नमज्जा लागेछ । उनले त्यो पुस्तक त्यहीँ छोडेछन्, कुटीका सामग्री पनि त्यहाँ छोडेछन् । तुलसीदाले पहिले लेखेको आफ्नोरचनामा आधारित भएर अर्काे रामचरित मानस तयार गरेछन् । अर्काे प्रति तयार भएछ, अब त कसैको केही लागेन । दोस्रो प्रतिमा सम्मति दिनेहरुको प्रेरणा पनि मिल्न लागेछ उनलाई अब । सरस्वतीले तलका वाक्यांशहरु प्रस्तुत गर्दै सम्मति, शुभकामना अर्पण गर्नु भएछ ।
आनन्द कानने दृूर्यास्मञ्जङ्गमस्तुलसीतरु: । कवितामञ्जरी मानि रामभ्रमर भूषिता ।।
सरस्वती कृपा भइसक्दा पनि बुज्रुकहरुलाई चित्त बुझेन, पुस्तकमा परीक्षा हुन थाल्यो, भगवान विश्वनाथका सामु सबैभन्दा माथि वेदको पुस्तक त्यसको तल अनेकौं शास्त्रहरु, ती शास्त्रका तलपट्टि पुराणहरु र सबैभन्दा तल तुलसीदासको श्रीरामचरित मानस पुस्तकलाई राखेर परीक्षा गरे तिनीहरुले । विश्वनाथको मन्दिर बन्द गरे, प्रात:काल मन्दिर खुल्यो, सबैले हेरे त्यहाँ, सबैभन्दा माथि तुलसीदासको रामचरित मानस पुस्तक राखिएको देखे सबैले । अब त सबै थाके तुलसीदासको परीक्षा गर्न छोडे, सबैले क्षमा माग्न थाले, उनकै चरण परी चरणोदक लिन पनि थाले । एक दिन कलियुगले अन्तिम परीक्षा गर्न लागेछ उनको, त्रासदीय वातावरण देखेर गोस्वामी तुलसीदासले हनुमानको प्रार्थना गरे । हनुमानले भगवानको नाममा विनयी पत्र लेख्न भने । तुलसीदासले तुरुन्तै विनयी पत्र लेखेर अर्पण गरे । अब तुलसीदास भयरहित भए,श्रीरामले त्यो विनयी पत्रमा स्वयं हस्ताक्षर गर्नुभएको रहेछ । संवत् १६८० श्रावण कृष्ण तृतीया शनिबारका दिन १२६ वर्षको उमेरमा राम राम भन्दै तुलसीदासजीले आप्mनो पार्थिक शरीरलाई त्यागे, त्यही बेला हो श्रावणमास ।


















