धनवज्र वज्राचार्यको ९४ औँ जन्मजयन्तीको सन्दर्भमा उहाँले नेपालको इतिहास लेखन विधामा पुर्याउनुभएको योगदान स्मरण गर्नु हिजोलाई सम्मान गर्नु हो, इतिहासलाई सम्मान गर्नु हो । यसै कारण धनवज्र वज्राचार्यले नेपालको इतिहासमा लगाउनुभएको गुणप्रति श्रद्धा एवम् सम्मान गर्न यो आलेख प्रस्तुत छ ।
नेपालको इतिहास लेखन विधालाई उचाइ दिने कार्यको श्रेय पनि उहाँलाई नै जान्छ । अनुसन्धान र पठनपाठनलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतालाई यथार्थमा परिणत गर्न सक्षम हस्तीका रूपमा पनि उहाँको नाम लिनै पर्दछ । नेपाली मौलिक स्रोतको आधारमा नेपालको इतिहास तयार गर्नुपर्छ भन्ने विचारका विचारक पनि धनवज्र नै हुनुहुन्थ्यो । नेपालको इतिहासले उहाँले लगाउनुभएको गुण, निर्वाह गर्नुभएको भूमिका र पुर्याउनुभएको योगदानका विषयमा चर्चा परिचर्चा गरी भावी पुस्तालाई यस्ता व्यक्तित्वको परिचय गराउनु पनि हामी सबैको कर्तव्य हो ।
धेरै कालसम्म नेपालको इतिहास स्रोतकै रूपमा थन्केको थियो । नेपालका दिग्गज विद्वान्हरूले पनि शासकको गुणगान प्रशस्ति र भएगरेका कार्यको एकहोरो प्रशंसालाई सर्वाधिक प्राथमिकता दिँदा इतिहासको मूल मर्मलाई आघात परेको थियो । वंशावली, शिलालेख र साहित्यिक कृतिहरू नै इतिहास हुन् भन्ने विचार प्रवाह गर्ने कार्य पनि प्रशस्तै भए । नेपालको इतिहास लेखन कार्यमा अङ्ग्रेजी र भारतीय विद्वान्हरूले उठानका कार्य गरे । नेपालीहरूमा भने नेपालको इतिहास लेख्ने चेत पनि धेरै पछि खुलेको हो । प्रारम्भमा नेपाली इतिहासकारहरूले पनि विदेशी सूचनाकै आधारमा पुस्तक तयार गर्दै गए ।
विदेशीहरूले प्रयोग गरेको स्रोतको परीक्षण गरी सत्य तथ्य पत्ता लगाउने जाँगर कसैले पनि चलाएनन् । नेपालको इतिहास नेपालकै स्रोतका आधारमा तयार गर्ने, ऐतिहासिक स्रोतहरूको अन्वेषण गर्ने, लुप्त हुन आटेका ऐतिहासिक सांस्कृतिक धरोहरका विषयमा जनजागरण गर्ने र पूर्ववर्ती इतिहासकारका कृतिमा भेटिएका त्रुटिहरू औल्याउने कार्य संशोधन मण्डलबाट प्रारम्भ भयो । यस कार्यमा प्रारम्भदेखि नै जोडिने, खटिने र सत्यतथ्य इतिहास प्रकाशन गर्ने कार्यमा धनवज्र वज्राचार्य जोडिनुभयो । संशोधन मण्डलसँगको सहकार्य र गुरु नयराज पन्तको मार्गदर्शनमा अनवरत अथकित यात्रा गर्दा धनवज्र वज्राचार्य एक स्थापित इतिहासकार हुन पुग्नुभयो । यस अर्थमा धनवज्रलाई धनवज्र बनाउने श्रेय गुरु पण्डित नयराज पन्तलाई जान्छ ।
नेपाल अध्ययन संस्थान (हालको नेपाल र एसियाली अनुसन्धान केन्द्रको पूर्वसंरचना)मा संलग्न भई वज्राचार्य नेपालको इतिहासको अध्ययन अनुसन्धानमा सरिक हुनुभयो । विसं २०२८ साल फाल्गुणमा म एमए प्रथम वर्षको छात्र हुँदा उहाँको विद्यार्थी थिएँ र उहाँको महाप्रस्थान (२०५१ आषाढ २० गते)पूर्व म शिष्यकै रूपमा रहेँ । एमएमा गुरु धनवज्र वज्राचार्यबाहेक अरू सबैले अंग्रेजी माध्यमबाटै पढाउनुहुन्थ्यो । तसर्थ उहाँले नेपालीमा पढाउँदा अंग्रेजीबाजहरूले परोक्ष रूपमा अप्रसन्नता पनि देखाए । धनवज्र वज्राचार्यले एमए पनि पूरा गर्नुनभएको भनी केही टीकाटिप्पणी हुन्थ्यो । तर, उहाँको विद्वता र विषयमा प्रखरताले गर्दा विद्यार्थीबीच लोकप्रिय हुनुहुन्थ्यो । तत्कालीन विभागीय प्रमुख माधवराज पाण्डे, प्राध्यापक तुलसीराम वैद्य, प्राध्यापक त्रिरत्न मानन्धर, हेमन्तशमशेर राणालगायतका गुरुहरूले धनवज्र गुरुको योग्यताको सम्मान र समर्थन गरिदिँदा पनि उहाँलाई कुशल शिक्षकका रूपमा स्थापित हुन सम्भव भयो । वि.सं. २०३० सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि नेपाल र एसियाली अध्ययन संस्थान गठन गठन भएपछि धनवज्र सोही संस्थासँग आबद्ध हुनुभयो र मृत्युपर्यन्त त्रिभुवन विश्वविद्यालयमै सरिक हुनुभयो ।

धनवज्र वज्राचार्यले मूलत: संशोधन मण्डल र त्रिभुवन विश्वविद्यालयसँग आबद्ध भई दुवै संस्थाको छवि उजिल्याउन सार्थक प्रयास गर्नुभयो । संशोधन मण्डलद्वारा प्रकाशित हुने अनुसन्धानमूलक जर्नल (पत्रिका) पूर्णिमामा उहाँका धेरै ऐतिहासिक लेखहरू प्रकाशित भए । ती सबै लेख विश्लेषणात्मक र तथ्यपरक छन् । पूर्णिमामा मात्रै प्रकाशित लेखहरूको समीक्षा गर्ने हो भने एउटा सिङ्गो कृति नै बन्न जान्छ । अत: यस दिशातर्फ भविष्यका गवेषकहरूले ध्यान दिने आशा एवं विश्वास लिन सकिन्छ । पूर्णिमाबाहेक त्रिवि इतिहास विभागको भ्वाइस अफ हिस्ट्री र नेपाल र एसियाली अनुसन्धान केन्द्रको कन्ट्रिब्युसन टु नेपलिज स्टडिजमा उहाँका लेखहरू प्रकाशित भएका छन् । यसका अतिरिक्त मधुपर्कलगायत अन्य विभिन्न पत्रपत्रिकामा पनि उहाँका उम्दा लेखहरू देखापरेका छन् । धनवज्रका प्रमुख कृतिहरू १. लिच्छविकालका अभिलेख (२०३०) तथा २. मध्यकालका अभिलेख (२०५६) हुन् भने सहलेखनमा १. गोरखाको ऐतिहासिक सामग्री (२०२९), २. टिस्टुङ चित्लाङको ऐतिहासिक सामग्री (२०२९), ३. दोलखाको ऐतिहासिक रूपरेखा (२०३२), ४. नुवाकोटको ऐतिहासिक रूपरेखा (२०३२), ५. पञ्चायती शासन पद्धतिको ऐतिहासिक विवेचना (२०३५), ६. शाहकालका अभिलेख (२०३७), आदि प्रमुख हुन् ।
यसका अतिरिक्त उहाँले जय रत्नाकर नाटक, त्रिरत्न सौन्दर्यगाथा, इतिहास संशोधनको प्रमाण प्रमेय, गल्लीमा फ्याकिएको कसिङ्गर, ऐतिहासिक पत्र संग्रह, बाबुराम आचार्य र उहाँका कृति, गोपाल राजवंशावली आदि महत्त्वपूर्ण ऐतिहासिक कृतिले आकार पाएका छन् । यी कृतिको लेखन तथा सम्पादनमा उहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको लिच्छविकालको अभिलेख कृतिले मदन पुरस्कार नै प्राप्त गर्यो ।
नेपालका विभिन्न भागमा रहेका अभिलेखहरूको खोजी गरी प्रकाशित गर्ने उहाँको कार्यका कारण इतिहासका महत्त्वपूर्ण स्रोतहरू उपलब्ध भएका हुन् । र, ती लुप्त पनि हुन पाएनन् । उहाँले नेपाल र एसियाली अनुसन्धान केन्द्रले सञ्चालन गरेको राष्ट्रिय इतिहास निर्माण परियोजनामा अग्रसरता र सक्रियता देखाउनुभएको थियो । यसै परियोजनाबाट नेपालको पौराणिक कालदेखि आधुनिक कालसम्मको राजनैतिक, सामाजिक, आर्थिक तथा धार्मिक इतिहासका धेरै कृति प्रकाशित भए । नेपाल र एसियाली अनुसन्धानको ख्याति विदेशमा पुर्याउन उहाँको योगदान उल्लेख्य छ । धेरै विदेशी विद्वान्हरू उहाँका प्राज्ञिक कार्यबाट प्रभावित भएका थिए ।
विभिन्न अनुसन्धान परियोजना र विश्वविद्यालयबाट गठित विभिन्न प्राज्ञिक समितिहरूमा उहाँले इतिहासको पठनपाठन र अनुसन्धान प्रभावकारी बनाउन मलजल गर्नुभयो । विसं २०५५ सालमा म नेपाल र एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक हुँदा गुरुका अप्रकाशित सामग्रीहरू खोजी गरेको थिएँ । यसका लागि घरपरिवार र सँगै कार्य गरेका व्यक्तिसँग पनि सम्पर्क गरेँ तर यो प्रयास उपलब्धिपूर्ण रहेन । मध्यकालको अभिलेख फेला पर्यो, जुन जस्तो अवस्थामा थियो सोही बमोजिम प्रकाशित पनि भयो । अनुसन्धान केन्द्रले दिएका कुनै विद्वान्ले प्रदान गरेको रकमबाट धनवज्र वज्राचार्य शोधवृत्ति स्थापना भयो । जसमा प्राडा सुरेन्द्र केसी, प्राडा राजेश गौतम, प्राडा शंकर थापा, प्राडा वीणा पौड्याल जस्ता धेरै विद्वान्ले अनुसन्धानवृत्ति पाई तत्तत् सम्बन्धमा प्रतिवेदन पनि बुझाए । उहाँको लिच्छविकालका अभिलेख जापानी भाषामा पनि अनुवाद भएको छ ।
स्व. वज्राचार्यको नेपालको इतिहासका अन्वेषणमा सदैव अग्रणि भूमिका रह्यो । वास्तवमा नेपालको इतिहासको अनुसन्धानमा धनवज्र वज्राचार्यको योगदान अतुलनीय रहेको छ । सयौँ खोजमूलक लेखहरूका सर्जक स्व. वज्राचार्यले विशेषत: नेपालको अन्धकारपूर्ण रहेको प्राचीन तथा मध्यकालको इतिहासलाई प्रकाशमा ल्याउन जुन मिहिनेत गर्नुभएको छ यो सदा स्मरणीय, स्तुत्य र अनुकरणीय पनि छ । आज उहाँका खोज तथा अनुसन्धानलाई बिर्सने हो भने नेपालको इतिहास नै मेटिन जानेछ । उहाँले इतिहासको अध्ययन अनुसन्धानमा देखाउनुभएको अनुराग र लगन नयाँ पिँढीका इतिहासका अध्येताहरूका लागि मार्गदर्शक र प्रेरणाको स्रोत बनेको छ । अन्त्यमा धनवज्र वज्राचार्यप्रति श्रद्धासुमन साथ लोकले उहाँको नाम सदैव स्मरण गरिरहने अपेक्षा गर्दछु ।
अस्तु


















