पछिल्लो समय के गर्दै हुनुहुन्छ? व्यस्त हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ?
सबैभन्दा पहिला आफ्नो जीवनमा स्वस्थ रहनु राम्रो हुन्छ। त्यसकारण व्यस्तभन्दा पनि म स्वस्थ चाहिँ छु।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको छ। एकजना अनुभवी राजनीतिज्ञको हिसाबले यो सरकारको गतिविधिलाई कसरी हेर्नुभएको छ?
म चाहिँ के भन्छु भने, पहिला हाम्रो देश नेपाल हो, हामी नेपाली हौँ। राजनीति नेपाल र नेपालीको भावनात्मक सम्बन्धलाई जोड्ने एउटा माध्यम पनि हो। त्यसैले म त भन्छु, सत्तामा सम्हाल्ने नेता, कार्यकर्ता वा पार्टी सबैको मनोभावना एउटै हुनुपर्छ—देश र जनता भन्ने।
जनताले करिब दुईतिहाइ (दुई सिट कम) मत दिएका छन्। त्यसलाई संरक्षण गर्ने दायित्व पनि अब रास्वपाकै हो। हामीले विगतमा धेरै सरकार र पार्टीहरू देखिसकेका छौँ। अब रास्वपा अरूजस्तो नहोस् भन्ने मेरो सुझाव छ।
‘बिहानीले दिनको संकेत गर्छ’ भन्छन्। यो सरकारको बिहानीले कस्तो संकेत गरिरहेको छ?
सरकारले सबैले नेपाल र नेपालीको विशेषतालाई जोड्नुपर्छ। पार्टीको एक पंक्ति एकातिर हुने, सांसदको एकातिर हुने र सरकार अर्को तिर हुने हुनु हुँदैन। तीनवटैको आवाज राम्रोसँग मिलाउन जान्यो भने मात्र जनताका चाहना, इच्छा–आकांक्षाहरू पूरा हुन्छन्। होइन भने हिजोका पार्टीहरूको भनाइ र गराइ देखिसकेका छौँ। त्यस्तै हुन्छ।
त्यस्तै, राजनीतिमा ‘नयाँ र पुरानो’ भन्ने हुँदैन। नयाँ र पुरानो कसलाई भन्ने? अहिले आएकालाई नयाँ भन्ने हो भने भोलि उनीहरू पनि पुराना भइहाल्छन्। राजनीतिमा एउटै कुरा हुन्छ—समृद्ध नेपाल बनाउने र नेपालीलाई खुसी पार्ने। राजनीति भनेको विचार, सिद्धान्त, इमानदारी र नैतिकताको कसी हो। यसमा चढेर राम्रो काम गरे सबै कुरा मुलुक र जनताको हितमा हुन्छ। नयाँ कसलाई भन्ने? भारत, अमेरिकाका नेता र पार्टीलाई नयाँ भन्ने कि पुराना?
सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणको कुरा गरेको छ तर व्यापारी र कर्मचारीमाथि कारबाहीको त्रास फैलिएको देखिन्छ। यस्तो स्थिति किन बनेको होला?
भ्रष्टाचार नियन्त्रण वा सुशासनको नाममा कसैलाई तर्साउने वा पक्राउ गर्ने मात्र काम गर्नु हुँदैन। भ्रष्टाचार गरेका वा अकुत सम्पत्ति कमाएका व्यक्तिहरूलाई संविधान र कानुनले तोकेको विधिअनुसार कारबाही गरिनुपर्छ। केवल पक्राउ गर्ने वा अफवाह फैलाउने गर्नाले वास्तविक समस्या समाधान हुँदैन। पहिला थुन्ने अनि सुन्ने होइन।
जेनजी आन्दोलनपछि संविधान खारेज गरेको भए खारेज हुने थियो। अहिले त संविधान छ, त्यसकै आधारमा चुनाव गरेर यो सरकार बनेको हो। त्यसैले नेपालको संविधान, २०७२ र विद्यमान कानुनहरू भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त र स्पष्ट छन्।
जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले हरेक वर्ष आफ्नो सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ। म आफैँ पनि सांसद, मन्त्री हुँदा सधैँ बुझाउने गरेको थिएँ। सरकारले बुझाएकै विवरणको सही छानबिन गरी कानुनअनुसार प्रक्रिया अगाडि बढाउने हो भने कोही पनि उम्किन पाउँदैनन्। तर विधि र प्रक्रिया मिचेर काम गर्नु हुँदैन। भ्रष्टाचारको बहानामा फेसबुकमा लेख्ने, टोल बनाउने गर्नु हुँदैन।
अहिले त सांसद तथा मन्त्रीहरूले सामाजिक सञ्जालमा लेख्ने सानो कुरा पनि ठूलो गरेजस्तो प्रचार गर्ने शैलीलाई कसरी हेर्नुहुन्छ?
अहिलेका सांसदहरू त सानो कुरामा पनि बच्चालाई चकलेट दिँदा देखाउने व्यवहारजस्तो देखाउँछन्। सांसद आफैँ विधायक हुन्, जसको मुख्य काम कानुन बनाउने र सरकारलाई उत्तरदायी बनाउने हो। सांसद वा जनप्रतिनिधिले सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्ने, गालीगलौज गर्ने वा प्रचारबाजी गर्नेभन्दा पनि ठोस कानुनी र नीतिगत प्रक्रियामार्फत काम गर्नुपर्छ।
कर्मचारीलाई सामाजिक सञ्जालमा गाली गर्नुको सट्टा उनीहरूमाथि स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र गल्ती गरेको भए कानुनी कारबाहीको दायरामा ल्याउने काम हुनुपर्छ।
जनप्रतिनिधि वा सांसदहरू जनताको मतबाट निर्वाचित सम्मानित व्यक्ति हुन्। उनीहरूले आफ्नो पदको गरिमा जोगाउनुपर्छ। सामाजिक सञ्जालमा कसैलाई गालीगलौज गर्ने, जिस्क्याउने वा अनावश्यक प्रचारबाजी गर्नेभन्दा पनि देश र जनताको हितमा काम गर्नुपर्छ। विकास निर्माणका कुरा लेख्दा हुन्छ, कसैलाई गालीगलौज गर्ने होइन। विधिको शासनको पालना गर्दै अघि बढेमा मात्र देशको छवि छिमेकी मुलुक र अन्तर्राष्ट्रिय जगत्मा समेत राम्रो बनाउन सकिन्छ। घरभित्रै झगडा भए त छिमेकीले खेल्छन् नि।
ग्यास, पासपोर्ट र अन्य दैनिक उपभोग्य वस्तुको लाइन तथा जनताले भोगेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ?
अनलाइन प्रणाली वा अन्य सुविधाका कुरा केवल भाषण र प्रचारमा मात्र सीमित हुनुहुँदैन। सरकारले प्रशासनिक संयन्त्र र कर्मचारीतन्त्रलाई चुस्त तथा व्यवस्थित बनाउनुपर्छ। ग्यास वा इन्धनजस्ता वैदेशिक आयातमा निर्भर वस्तुहरूको आपूर्ति व्यवस्था सहज बनाउन दीर्घकालीन योजना आवश्यक छ। साथै, छिमेकी देशहरूसँगको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउनुपर्छ।
हाम्रो तीनतिर भारत छ। इरान युद्धपछि अन्तर्राष्ट्रियस्तरमा पनि समस्या आयो, त्यसले आपूर्तिमा पनि समस्या भयो। म त प्रधानमन्त्रीज्यूलाई भन्छु—महावीर पुन र उपसभामुख जोड्दा दुईतिहाइ छ। यो सबै जनताको मतले आएको हो। अब तपाईंले जनताको चाहना र संविधानअनुरूप काम गर्नुस्।
सरकारसँग स्पष्ट बहुमत वा दुईतिहाइको समर्थन हुनु भनेको जनताको सेवा गर्ने ठूलो अवसर हो। यो शक्तिको प्रयोग सामाजिक सञ्जालको प्रचारमा होइन, नीतिगत सुधार, प्रशासनिक प्रणालीको सबलीकरण र विकास निर्माणका काममा हुनुपर्छ। संविधान र कानुनको परिधिभित्र रहेर काम गरेमा मात्र जनताले वास्तविक रूपमा राहतको अनुभूति गर्न पाउँछन्।
ग्यासकै कुरा गर्दा, टेलिभिजन कार्यक्रम ‘जनतासँग सिधा कुरा’मा रवि लामिछानेले तपाईंलाई अक्सिजन ग्यास दिन नसकेको भन्दै बनाएको कार्यक्रम निकै चर्चामा थियो नि?
यसमा रोचक प्रसंग छ। त्यो कोभिड–१९ महामारीका बेलाको हो। कोभिड–१९ को समयमा बालाजुस्थित जनमैत्री अस्पताल रवि लामिछानेले ‘मैले चलाउँछु’ भनेका थिए। त्यो खासमा अक्सिजन सिलिन्डरको घटना हो।
त्यसअघि उनले आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा बालाजु बाइपास क्षेत्रमा सडक मिचेर बनाइएका घर हटाउने बेला ‘रामवीरले आफ्नो सिनेमा घर बचाउन जनताका घर भत्काए’ भन्ने जस्ता समाचार बनाएका थिए। उनले मलाई फोन गरी यसबारे जानकारी मागेका थिए। तर मैले आफ्नो कुरा पूरा राख्न नपाउँदै टेलिफोन सम्पर्क काटिएपछि सम्पर्क भएन। त्यसपछि उनले कार्यक्रममा एकपक्षीय रूपमा टिप्पणी गरे। त्यसपछि उनीसँग सम्पर्क भएको थिएन।
पछि कोभिड–१९ को समयमा बालाजुस्थित जनमैत्री अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि बालाजु औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूलाई भनिदिएर अक्सिजन सिलिन्डर व्यवस्थापन गरिदिन भने। त्यहाँ म आफैँ पुगेको थिएँ। तर सोही क्रममा गाडीबाट ओर्लिँदा नमस्कार नफर्काएको जस्तो देखिने फोटो वा भिडियो क्लिप बनाएर सामाजिक सञ्जालमा भाइरल गराइएको र त्यसको गलत व्याख्या गरिएको थियो।
उहाँकी श्रीमती निकिता पौडेलसँग मेरो पारिवारिक सम्बन्ध भएकाले पनि उहाँलाई भेट्न गएको थिएँ।
त्यहाँ अक्सिजनका सिलिन्डर भर्न गाडी लाइनमा थियो। रविजीले अलि छिटो गरिदिन आग्रह गर्नुभयो। मैले पनि कर्मचारीलाई ‘अलि छिटो गर्न मिल्छ?’ भनेर सोधेँ। कर्मचारीले जवाफ दिए—‘तपाईंले भनेर हुँदैन। राष्ट्रपतिले भने पनि म यो काम गर्दिनँ। यत्रो मान्छे मरिरहेका छन्, यस्तो हाहाकारमा तपाईं मन्त्री होस् वा जे होस्, तपाईंले भनेर हुँदैन।’
त्यसपछि हामी फर्कियौँ।
तर त्यस घटनाको अर्को भिडियोमा तपाईं र रवि लामिछानेबीच विवाद भएको देखिन्छ।
हो, त्यो भिडियोको अघिल्लो भाग देखाइएको थिएन। म सहयोग गर्ने उद्देश्यले गएको थिएँ। मलाई त्यहाँ टेलिभिजनको पूरै टिम तयारी अवस्थामा छ भन्ने थाहा थिएन।
उहाँले ‘मैले १०८ वटा सिलिन्डर ल्याएँ, तिमीले एउटा पनि दिएनौ’ भन्नुभएको थियो। मेरो प्रश्न यति मात्र थियो—अस्पतालको जिम्मेवारी तपाईंले लिनुभएको छ, दुई–चारवटा सिलिन्डरको व्यवस्थापन गर्नु के ठूलो कुरा भयो?
मैले त्यहाँ स्पष्ट भनेको थिएँ—तपाईंलाई जे आवश्यक छ भन्नुस्, म सहयोग गर्छु। आवश्यक परे मेरो घरमा भएको ग्याससमेत दिन सक्छु। म सकेको सहयोग गर्ने पक्षमा छु।
त्यतिबेला मैले सार्वजनिक रूपमा आफ्नो कुरा राख्ने अवसर पाइनँ। आज तपाईंले सोध्नुभयो, त्यसैले मेरो कुरा राखेको हुँ।
बाहिर बसेर आलोचना गर्ने व्यक्ति आफैँ जिम्मेवार ठाउँमा पुग्दा काम गर्न किन गाह्रो हुन्छ?
बाहिर रहेर प्रश्न उठाउनु, आलोचना गर्नु वा सामाजिक सञ्जालमा विरोध जनाउनु निकै सजिलो हुन्छ। तर जब मानिस आफैँ सरकार वा जिम्मेवार पदमा पुग्छ, उसले कानुन, विधि, प्रक्रिया र प्रशासनिक तन्त्रको दायराभित्र रहेर काम गर्नुपर्ने हुन्छ। बाहिरबाट सोचेजस्तो वा माग गरेजस्तो काम सत्तामा पुगेपछि तत्कालै गर्न सम्भव नहुन सक्छ। त्यस क्रममा विभिन्न जटिलता, कानुनी प्रक्रिया र प्रशासनिक अड्चनहरू सामना गर्नुपर्ने हुन्छ।
जनताबाट निर्वाचित जनप्रतिनिधिको अभिव्यक्ति र व्यवहारबारे तपाईंको गुनासो के हो?
कठघरामा उभिँदैमा मात्रै कोही दोषी हुँदैन। कसैलाई कठघरामा उभ्याउने ठाउँ र मान्छे पनि हुन्छ। त्यसलाई व्यवस्थित गर्न जनताले मत दिएका हुन्। त्यसैले जनताले दिएको मतलाई फेसबुकमा नउडाउनुहोस्।
आज नभए भोलि तपाईं अवकाश लिनुहुन्छ। तपाईंले मात्रै जितिरहनुपर्छ भन्ने छैन। तपाईं अमर पनि हुनुहुन्न। त्यसैले राज्यलाई विधिको शासनबाट चलाउने प्रयास गर्नुस्।
माननीय भइसकेपछि पदको गरिमा र जिम्मेवारी बुझ्नुपर्छ। कसैलाई उडाउने, गाली गर्ने, धम्क्याउने वा आफ्नो अभिष्ट पूरा गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने कामले व्यक्तिको मात्रै होइन, संस्थाको पनि प्रतिष्ठा घटाउँछ। अरूले पनि हेरिरहेका छन् भन्ने सोच्ने हो भने धेरै कुरा आफैँ नियन्त्रण हुन्छ।
त्यसो गर्दा पदको गरिमा घट्छ भन्न खोज्नुभएको हो?
हो। त्यो जनताले दिएको मत हो। समानुपातिकबाट आउनुभएको होस् वा प्रत्यक्षबाट, दुवैलाई जनताले स्वीकार गरेका हुन्।
त्यसैले केही लेख्नुअघि आफ्नो परिवार, आफ्नो पद र आफूले प्रतिनिधित्व गर्ने संस्थाबारे पनि सोच्नुपर्छ। मेरा माननीयज्यूहरूलाई विनम्र अनुरोध छ—सक्नुहुन्छ भने विकास निर्माणका विषय लेख्नुस्। देश बनाउने विषयमा बहस गर्नुस्। व्यक्तिगत गालीगलौजमा नजानुस्।
तर अहिले जनताले दैनिक उपभोग्य वस्तुमा समेत समस्या भोगिरहेका छन्। ग्यासको लाइन छ, मूल्यवृद्धि छ, रोजगारीको समस्या छ। चुनावअघि ‘लाइन होइन, अनलाइन’ भनिएको थियो।
ग्यासको विषय हाम्रो उत्पादन क्षेत्रभन्दा बाहिरको विषय पनि हो। हर्मुज क्षेत्रमा भएको द्वन्द्वले विश्व आपूर्ति व्यवस्थामै असर पारेको छ। त्यसैले सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
तर समस्या आयो भन्दैमा घोषणा मात्र गरेर हुँदैन। ‘लाइनलाई अनलाइनमा लैजान्छु’ भन्नुअघि प्रणाली के हो, कर्मचारीतन्त्र कस्तो छ, संयन्त्र कस्तो छ—सबै हेर्नुपर्छ।
मेरो सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध छ—हामी देश बनाउने हो, जनतालाई खुसी बनाउने हो। तपाईं र म दुवै त्यसका सारथि हौँ।
दुईतिहाइको जनमत छ भन्दैमा ग्यासको सिलिन्डर ल्याउनेदेखि राज्य सञ्चालनसम्म सबै कुरा इच्छाअनुसार हुन्छ भन्ने सोच्नु हुँदैन। संविधान, विधि र प्रक्रियाभन्दा माथि कोही हुँदैन।
अहिले तपाईं बालेन्द्र शाहलाई पनि सुझाव दिइरहनुभएको छ। उहाँसँग तपाईंको सम्बन्ध कस्तो हो?
बालेनसँग मेरो सम्बन्ध पुरानै हो। उहाँ काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि सम्पर्कमा थिएँ। म आफैँ वडाध्यक्ष भइसकेको मान्छे भएकाले स्थानीय तहको काम र चुनौती बुझ्छु।
मैले उहाँलाई टुकुचाबारे अध्ययन र डकुमेन्ट्रीसमेत दिएको थिएँ। टुकुचाको दुवैतर्फ ठाउँ व्यवस्थापन गरेर करिब १२ मिटरको स्वरूपमा विकास गर्न सकियो भने त्यहाँ नयाँ ठमेलको परिकल्पना गर्न सकिन्छ भन्ने मेरो सुझाव थियो।
त्यसैगरी फोहोर व्यवस्थापनका विषयमा पनि वैकल्पिक योजना दिएको छु। अहिले बञ्चरेडाँडा केन्द्रित प्रणाली छ। तर करिब १० किलोमिटरको दूरीभित्रै फोहोर व्यवस्थापन गर्न सकिने सम्भावनाबारे मैले अध्ययन गरेको छु।
फोहोर थुपारेर मात्र समस्या समाधान हुँदैन। प्रशोधन र पुनःप्रयोगको प्रणाली विकास गर्नुपर्छ। फोहोरबाट निस्कने दूषित पानी खोलानाला हुँदै त्रिशूलीसम्म पुग्छ। त्यसको वातावरणीय असरबारे पनि सोच्नुपर्छ।
तपाईंले सडक र सुरुङमार्गका विषयमा पनि सुझाव दिनुभएको रहेछ।
हो। दूरी घटाउनु भनेको विकासको ठूलो आधार हो। करिब चार किलोमिटरको सुरुङमार्गबाट अहिलेको दूरी उल्लेख्य रूपमा घटाउन सकिने सम्भावनाबारे कुरा गरेको छु। टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न सकियो भने काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने दूरी घट्छ।
फोहोर ढुवानीकै कुरा गर्दा पनि दूरी घट्यो भने डिजेल, पेट्रोल र ढुवानी खर्च घट्छ। विकास भनेको ठूलो भवन मात्र बनाउनु होइन; समय, दूरी र लागत घटाउने संरचना पनि विकास हो।
सार्वजनिक शौचालयका विषयमा पनि मैले सुझाव दिएको छु। न्युरोड, दरबारमार्ग आसपास, पशुपति, मठ–मन्दिर, विद्यालय, कलेजजस्ता सार्वजनिक क्षेत्रमा आवश्यकताअनुसार व्यवस्थित शौचालय बनाउन सकिन्छ।
नेपालमा विदेशी दबाब धेरै छ भन्ने चर्चा हुन्छ। भारत, चीन र अमेरिकाको प्रभावलाई तपाईं कसरी हेर्नुहुन्छ?
दबाब हुन सक्छ। तर दबाब कसका लागि, केका लागि र किन हो भन्ने छुट्याउनुपर्छ। सबैभन्दा पहिले आफ्नो देशको हितलाई केन्द्रमा राख्नुपर्छ।
भारतसँग कुरा गर्नुपर्छ, चीनसँग कुरा गर्नुपर्छ, अमेरिकासँग पनि कुरा गर्नुपर्छ। संसारको कुनै देश बाह्य सम्बन्ध र सहयोगबाट पूर्ण रूपमा अलग रहेर विकास गरेको छैन।
तर सहयोग लिँदा आफ्नो निर्णय गर्ने अधिकार छोड्नु हुँदैन। कसैले पैसा दियो भन्दैमा देशै उसलाई सुम्पिने होइन। चीनले परियोजना ल्यायो भन्दैमा चीनले भनेको सबै मान्ने होइन। अमेरिकाले सहयोग गर्यो भन्दैमा अमेरिकाको प्रभावमा जाने होइन।
त्यसो भए एमसीसीलाई पनि तपाईं यही दृष्टिले हेर्नुहुन्छ?
अवश्य। सहयोग अहिले मात्र लिएको हो र? चीनले बनाइदिएका उद्योग थिएनन्? भारतले बनाइदिएका बाटा थिएनन्? अमेरिकाले बनाइदिएका संरचना र परियोजना छैनन्?
प्रश्न सहयोग लिने कि नलिने मात्र होइन। प्रश्न हो—त्यो सहयोगलाई राष्ट्रिय हितमा कसरी प्रयोग गर्ने? कुनै परियोजनाले देश र जनतालाई के लाभ दियो भन्ने मूल प्रश्न हो।
‘फ्री तिब्बत’ वा विदेशी शक्तिको प्रभावका कारण नेपालको राजनीति चलिरहेको छ भन्ने भाष्य पनि सुनिन्छ।
हरेक राजनीतिक घटनालाई विदेशी शक्तिसँग मात्र जोडेर हेर्नु ठीक होइन। ‘फ्री तिब्बत’को कुरा गर्दा इतिहास पनि बुझ्नुपर्छ। नेपाल र तिब्बतबीच लामो समयदेखि व्यापारिक सम्बन्ध थियो। त्यसबेला नेपालले तिब्बतबाट रोयल्टी लिने गरेको इतिहास पनि छ।
त्यसैले एउटा शब्द वा एउटा घटनालाई समातेर निष्कर्ष निकाल्नु हुँदैन। इतिहासलाई समग्रतामा हेर्नुपर्छ।
नेपालको राजनीतिक परिवर्तनमा विदेशी प्रभाव हुन सक्छ, तर हरेक घटनाको मूल कारण विदेशी हस्तक्षेप मात्रै हो भन्न मिल्दैन। नेकपाको सरकार ढल्दा पनि आन्तरिक राजनीतिक कारण थिए। सत्ता संघर्ष, अहंकार र नेतृत्वबीचको द्वन्द्वलाई बेवास्ता गरेर सबै दोष बाह्य शक्तिलाई दिनु गलत हुन्छ।
तपाईं अहिलेको नयाँ राजनीतिक शक्तिलाई पनि यही चेतावनी दिइरहनुभएको हो?
ठ्याक्कै। राजनीतिमा अहंकार र इगो हाबी भयो भने ठूलो जनमत पनि जोगिँदैन।
केपी ओली १४ वर्ष जेल बस्नुभयो। प्रचण्डले १० वर्ष जनयुद्धको नेतृत्व गर्नुभयो। दुई फरक कम्युनिस्ट शक्ति एक ठाउँमा आएर नेकपा बनाए। तर पछि त्यही शक्ति विभाजित भयो।
आज बालेन एउटा धारमा र रवि अर्को धारमा देखिनुभयो भने सहकार्य कसरी टिक्छ? एउटै म्यानमा दुईवटा तरबार अटाउँदैन भनेजस्तो अवस्था हुन सक्छ।
मेरो सुझाव हो—जनताको नाममा ल्याइएको जनमतलाई व्यक्तिगत अहंकारमा नलैजानुस्। केपी ओलीको गल्ती नदोहोर्याउनुस्, प्रचण्डको गल्ती नदोहोर्याउनुस्, शेरबहादुर देउवाको गल्ती पनि नदोहोर्याउनुस्।
नयाँ हुनु भनेको पुराना सबै अनुभव अस्वीकार गर्नु होइन। पुराना गल्तीबाट सिक्नु हो।
तपाईं आफैँ पुराना राजनीतिक शक्तिसँग जोडिनुभएको व्यक्ति हुनुहुन्छ। नयाँ र पुरानोबीचको द्वन्द्वलाई कसरी हेर्नुहुन्छ?
राजनीतिमा नयाँ र पुरानो भन्ने हुँदैन। यसो भनेर मात्रै देश बन्दैन। नेपाल कसले बनाउने? हामी सबैले। प्रधानमन्त्री बनेपछि मात्रै देश बन्ने होइन। सांसद वा मन्त्री बनेपछि मात्रै देश बन्ने होइन। किसान, मजदुर, कर्मचारी, व्यवसायी, विद्यार्थी, राजनीतिक दल—सबै मिलेर देश बनाउने हो।
हिजो हामी गर्वका साथ ‘हाम्रो देश नेपाल’ भन्थ्यौँ। आज त्यो गर्वमा कमी आएको जस्तो लाग्छ। नेपाल केही सीमित व्यक्ति वा समूहको मात्र देश हो कि भन्ने अनुभूति जनतामा पैदा हुनु गम्भीर कुरा हो।
भारत भ्रमण र विदेशी सम्बन्धका विषयमा पनि तपाईंले आफ्नै अनुभव सुनाउनुभयो।
सन् २०१८ मा केपी ओली प्रधानमन्त्री हुँदा म भारत भ्रमणमा गएको थिएँ। नरेन्द्र मोदीसँग भेटेर प्रस्तावसमेत राखेको थिएँ।
राजनीतिमा एउटा कुरा बुझ्नुपर्छ—विदेशीले आफ्नो प्रभाव बढाउन खोज्छन्। हात मिलाएपछि आफ्नोतिर तान्ने प्रयास पनि हुन सक्छ। जाने कि नजाने, प्रभावमा पर्ने कि नपर्ने भन्ने कुरा आफ्नो विवेकमा भर पर्छ।
सिक्किमका लेन्डुप दोर्जेको प्रसङ्गबाट पनि हामीले पाठ सिक्नुपर्छ। विदेशी सम्बन्धमा भावनाभन्दा राष्ट्रिय स्वार्थ र दीर्घकालीन परिणाम हेर्नुपर्छ।
सी चिनफिङले स्वागत गरेनन्, मोदीले स्वागत गरेनन् भनेर रिसाउने होइन। मेरो देशले सम्मान पाउन योग्य काम गर्यो कि गरेन भन्ने हेर्नुपर्छ।
भारतसँग नेपालको सम्बन्ध कस्तो हुनुपर्छ?
भारत हाम्रो सबैभन्दा नजिकको छिमेकी हो। हाम्रो धेरैजसो सामान भारतबाट आउँछ। त्यसैले भारतसँग सौहार्दपूर्ण सम्बन्ध राख्नुपर्छ। छिमेकीसँग निहुँ खोजेर देश चल्दैन।
हाम्रो एउटा सानो आवतजावतको बाटोमा पनि अवरोध भयो भने असर पर्न सक्छ। त्यसैले आफ्नो हैसियत र राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारतसँग वार्ता गर्नुपर्छ। चीनसँग पनि त्यही हो। अमेरिकासँग पनि त्यही हो।
छिमेकीसँग मित्रता राख्नु आत्मसमर्पण होइन। आफ्नो हितमा दृढ भएर सौहार्दपूर्ण सम्बन्ध राख्नु हो।
प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईंको सबैभन्दा महत्वपूर्ण सुझाव के हो?
आफ्नो दायाँ–बायाँ हेर्नुस्। वरिपरिका मान्छेहरूको अवस्था र हैसियत बुझ्नुस्। तपाईंलाई काम गरिरहेका छन् भनेर मात्र विश्वास गरेर बस्नु हुँदैन।
सबैभन्दा महत्वपूर्ण कुरा—जनतासँग भेट्नुस्। जनताको मतले तपाईंलाई त्यो ठाउँमा पुर्याएको हो। जनतासँग भेट्ने, कुरा सुन्ने र आफ्नो कामबारे जवाफ दिने वातावरण बनाउनुस्।
तपाईंको टिमले जनताबाट टाढा राखेको हो भने त्यो गलत हो। बिचौलिया पठाएर जनताको कुरा बुझिँदैन। बिचौलियाले दोस्रो कुरा थपिहाल्छ।
तपाईंलाई अझै केही बिग्रेको छैन। म तपाईंको समर्थकमा छु। तर तपाईंलाई बिगार्ने सबैभन्दा ठूलो खतरा बाहिरबाट होइन, आफ्नै वरिपरिबाट आउन सक्छ। राज्यसत्तामा पनि त्यही हो—आफ्नै भित्रका मान्छेले समस्या सिर्जना गर्न सक्छन्।
आज तपाईंको दिन छ। त्यो दिनलाई एक–एक दिन गनेर चलाउनुस्। जनतासँग प्रत्यक्ष भेट्नुस्। एकपटक सुकुम्बासी बस्तीमा गएर जनताको कुरा सुन्नुस्। तपाईंले गरेको काम ठीक छ भने जनताले ठीक नै भन्छन्।
अन्त्यमा जनतालाई तपाईंको सन्देश के छ?
म जनताले दिएको मतलाई स्वीकार्ने मान्छे हुँ। दुई पटक वडा अध्यक्ष, दुई पटक सांसद हुँदै मन्त्रीसम्म भएको छु। मेरो क्षेत्रमा गएर मसँग नसोधी जनतासँग सोध्नुस्—‘यो मान्छे कस्तो छ?’ वास्तविक उत्तर त्यहीँ पाइन्छ।
जनतालाई धेरै कुरा चाहिँदैन। सुख–दुःखमा साथ चाहिन्छ, विकास चाहिन्छ, सम्मान चाहिन्छ।
जनताले दिएको मतलाई गुनासो गर्ने विषय होइन, जिम्मेवारी सम्झिनुपर्छ। हामीले सरकारलाई सोध्नुपर्छ—‘के गर्नुपर्छ? हामीले पनि कसरी सहयोग गर्न सक्छौँ?’
देश बने हामी सबै बन्छौँ। भावी सन्ततिले देश छोडेर विदेशिन नपर्ने वातावरण बनाउनु हाम्रो साझा जिम्मेवारी हो।
र अन्तिम कुरा—जनताले दिएको मतलाई फेसबुकमा नउडाउनुहोस्। त्यसको गरिमा राख्नुस्।


















