सङ्घीय निजामती सेवा विधेयक प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आज सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । समितिका सभापति जीवन परियारले नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनमा सभामुख घिमिरेलाई प्रतिवदन बुझाएको हो ।
लगातारको छलफलपछि समितिले आज बिहान पारित गरेको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई जिम्मेवार बनाएको छ । विधेयकमा त्रुटि भएपछि कांग्रेस सांसद सुशीला थिङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य रहेको विशेष छानबिन समिति गठन गरिएको छ ।


















