अफगानिस्तानमा आइतबार मध्यरात ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेहरूको संख्या ८ सय पुगेको छ भने २५०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण धेरै मानिस सुतिरहेको अवस्थामा भवनका भग्नावशेषमा दबिएका थिए, जसले ठुलो मानवीय क्षति भएको छ ।
अधिकारीहरूका अनुसार मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना छ । भूकम्पको समयमा अधिकांश मानिस गहिरो निद्रामा रहेकाले उनीहरू भत्किएका घरहरूको भग्नावशेषमा च्यापिएका थिए । सहरमा रातभरि लगातार भूकम्पका धक्काहरू महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) अनुसार भूकम्प २ लाख जनसंख्या भएको जलालाबाद सहरबाट करिब १७ माइल (२७ किलोमिटर) टाढा केन्द्रबिन्दु बनाएर गएको थियो । यो राजधानी काबुलबाट १५० किलोमिटरको दूरीमा पर्छ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार सबैभन्दा बढी मृत्यु छिमेकी कुनार प्रान्तमा भएको छ ।
यसैबिच सोमबार ४ दशमलव ६ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो । यो भूकम्प जमिनको ६५ किलोमिटर गहिराइमा गएको थियो । अल जजिराका अनुसार भूकम्पका धक्काहरू पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा पनि महसुस गरिएको थियो । त्यस्तै भारतको गुरुग्राममा समेत हल्का धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।


















