रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बालेन्द्र शाह (बालेन) को राजनीतिक अस्तित्व र वैचारिक धरातलमाथि गम्भीर प्रश्न उठाएका छन्। रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी जनता आफ्नो पहिचान र अधिकारका लागि रगत बगाइरहेका बेला बालेन कता थिए भन्दै प्रश्न गरेका हुन्।
मधेसका आधारभूत र मूल मुद्दाहरूमा बालेनको कुनै स्पष्ट धारणा वा योगदान नभएको टिप्पणी गर्दै उनले केवल चर्चाका भरमा राजनीति नचल्ने बताए। अध्यक्ष यादवले पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता पात्रहरूको चर्चा बढी देखिए पनि जमिनमा उनीहरूको कुनै प्रभाव नरहेको दाबी गरे।
मधेसका जनताले आफ्नो अधिकारका लागि कसले लड्यो र कसले अवसरवादको राजनीति गर्यो भन्ने कुरा राम्रोसँग बुझेको उल्लेख गर्दै उनले ‘घण्टी’ हल्लाउँदैमा मधेस नहल्लिने चेतावनी दिए। मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व गर्ने शक्ति जसपा मात्रै भएको जिकिर गर्दै उनले नयाँ शक्तिहरूलाई ग्राउन्ड रियालिटी बुझ्न सुझाव दिए।


















