skip this वडा नं १६ बालाजु च:मती

ग्रहण: धार्मिक र वैज्ञानिक पक्ष

यस वर्ष २ चन्द्रग्रहण परे, पहिलो रह्यो गत भाद्र शुक्ल पूर्णिमा, भाद्र २२ गते आइतबार र दोस्रो छ यही फाल्गुण १९ गते मंगलबार अर्थात् फागु पूर्णिमाको दिन, यो ग्रस्तोदित ग्रहण हो । पहिलो ग्रहण खग्रास थियो र पूरै ढाकियो दोस्रो हो खण्डग्रास अर्थात् आँशिक रहने छ । भाद्र २२ को चन्द्रग्रहणको स्पर्श रात्रि १०:११ बजे रह्यो भने मोक्षको समय रहेको थियो मध्यरात्रि १:४१ बजेको र पूर्ण खग्रास हुने समय रातको ११:५६ बजे थियो । त्यो ग्रहणको प्रभाव खासगरी शतभिषा र पूर्वभाद्रपदा नक्षत्र भनौँ कुम्भ राशिका व्यक्तिका लागि बढी हानिकारक र अरुलाई सामान्य थियो ।

यो १९ गतेको ग्रहण भने खण्ड ग्रास हो, पूरै ढाकिन्न र पूर्वाफाल्गुनी नक्षत्र भनौँ सिँह राशिका लाई बढी कष्टकर छ । चन्द्रमा ग्रस्तमै उदय हुने र उदयको समय साँझ ६ बजेर ३ मिनेटमा हो । यसको मोक्ष भने बेलुकी ७ बजेर २ मिनेटमै हुन्छ, ग्रहण अपराह्न ३ बजेर ३४ मिनेटमै स्पर्श खग्रास भई ग्रस्तोदय हुँदै काठमाडौँबाट खण्डग्रासको रुपमा देखिने छ । चन्द्रग्रहण शुरु पूर्व ६ घण्टा अघिदेखि नै बाल, वृद्ध, आतुर बाहेकलाई भोजनादि निषेध हो ।

धार्मिक रुपमा भन्नु पर्दा सूर्य ग्हणमा रोगी, आतुर, बाल, वृद्ध बाहेक सामान्य व्यक्तिका लागि ग्रहण शुरु हुनु १२ घण्टा पहिलेदेखि भोजनादि कर्म निषेध हो । शुभ, अशुभ फल जे भए पनि सूृर्य र चन्द्र दुबै ग्रहणलाई सीधा आँखाले हेर्नु भने हुँदैन । चन्द्र ग्रहणमा बाल, वृद्ध, बिरामी बाहेक ग्रहण सुरु हुनु तीन घण्टा पूर्व भोजन निषेधको चलन आएको छ । खानामा विषाक्त विकीरण हुने हुँदा यसो भनिएको हो । सूर्यग्रहणमा त त्योभन्दा बढी समय अघिदेखि नै भोजन निषेध हो र ग्रहणमा सकेसम्म लघू शंका र दीर्घ शंका पनि उचित होइन ।

पश्चिमी मुलुकको तुलनामा पूर्वी र दक्षिण एशियाली क्षेत्रसंग सम्बद्ध मुलुकहरुमा सूर्य, चन्द्रग्रहणको विशेष अध्ययन र त्यसको प्रभाव विश्लेषण गर्ने चलन बढी छ । प्रमाणगत रुपमा भन्नुपर्दा छैठौं शताब्दीदेखि नै भारतीय उपमहाद्विपमा यसको अध्ययन विश्लेषण गर्न थालिएको हो । यद्यपि वैदिक ग्रन्थहरुले ग्रहणको व्याख्या सत्ययुगदेखि नै गरेका छन् । द्वापरयुगमा ग्रहणका वखत गरिने शुभ कार्यबारे विभिन्न शाश्त्र, पुराणहरुले प्रशस्त चर्चा गरेका छन् । द्वापरयुगमा यदुवंशी र कुरु वंशीहरु कुरुक्षेत्रमा जम्मा भए, विशेष स्नानका लागि । सूर्यग्रहण सूर्यसँग र चन्द्रग्रहण चन्द्रमासंग सम्वन्धित भएकाले आइतवारको सूर्यग्रहण र सोमवारको चन्द्रग्रहणलाई विशेष चुडामणियोगको ग्रहण भनिने गरिन्छ, यस्तो बेला शुभ कर्मको फल अन्य वेलाको तुलनामा अधीक रहन्छ । पृथ्वीबाट सूर्य करीव १५ करोड कि मि टाढा छ । यसको व्यास पृथ्वी भन्दा १०९ गुणा ठूलो छ ।

चन्द्रमाको व्यास भने पृथ्वीको तुलनामा एक चौथाई मात्र छ । सूर्यको तौल पृथ्वीको भन्दा ३ लाख ३३ हजार गुणा बढी छ । यसको बाहिरी सतहको तापक्रम ६ हजार डिग्री सेण्टिग्रेड रहेको छ र केन्द्रको तापक्रम भने १ करोड ५० लाख डिग्री सेन्टिग्रेड रहेको छ । सूर्य पृथ्वीभन्दा नजीकको एक तारा हो । सौर्य मण्डलमा सम्पूर्ण ग्रहहरु आप्mनो कक्षमा परिभ्रमण गर्छन् । सूर्यको वरिपरि पनि परिभ्रमण गर्ने गर्छन् । पृथ्वी आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्छ भनौँ सूर्यको वरिपरि पनि परिभ्रमण गर्छ । ग्रहण लाग्दा सूर्य पूरै नदेखिनुलाई खग्रास सूर्य ग्रहण भनिन्छ । पृथ्वीको कुनै एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि सामान्यतया ३७५ वर्षपछि मात्र त्यस स्थानमा फेरि खग्रास सूर्य ग्रहण लाग्ने गर्छ ।

छैठौं शताब्दीका विद्वान् ज्योतिषाचार्य बराहमिहिरले प्रामाणिक ग्रहणको चर्चा गरेका छन् । सूर्य र चन्द्रमाका वीचमा पृथ्वी पर्नाले चन्द्रग्रहण हुने गर्छ । चन्द्रग्रहणमा सूर्यको किरणलाई पृथ्वीले छेक्दा चन्द्रमामा छायाँ पर्न जान्छ । पूर्णिमामा सूर्य–पृथ्वी–चन्द्रमा एकै रेखामा पर्न जाँदा चन्द्रग्रहण पूर्णिमाका दिन मात्र हुने गर्छ । ग्रहण देखिए मात्र अनुभूति हुने कुरा भए पनि बादलका कारण ग्रहण देखिएन भन्दैमा ग्रहण छैन भन्न मिल्दैन, यत्ति हो कि कुनै भूभागबाट बढी देखिन्छ, कुनैबाट कम वा कुनै क्षेत्रबाट पूरै देखिँदैन । एउटा मुलुकलाई ग्रहण लाग्दैमा अर्को मुलुकलाई पनि लाग्छ भन्न मिल्दैन । मुलुकभित्र पनि क्षेत्र विशेषमा फरक हुन सक्छ ।

वैदिक दर्शनले राहुको आक्रमण भनेको छ ग्रहणलाई । राहु भनेको कालो वर्ण अर्थात् अँध्यारो हो । अज्ञानताको कालो बादल नै दु:खको कारण हो । जहाँ जुन विषयमा अन्धकार छ त्यो राहु हो, अनिष्ट हो, ग्रहण लागेका वेला दानका कार्यवाट सन्तोष हुने दैत्यको उदय भएका वखत सृष्टिकर्ता बह्माजीले यति वेलाको दानकार्यवाट आहार ग्रहण गर्नु भन्ने वरदान अनुसार राहुले त्यसवेला आफ्नो खाना लिने कुरा शास्त्रहरुले चर्चा गरेका छन् । समुद्रमन्थन गर्दा प्राप्त अमृत वितरणमा राहुले पनि अमृतपान गरेकोले सूर्य र चन्द्रले त्यसको विरोध गर्दा इष्र्यालु भई राहुले सूर्य र चन्द्रमालाई मौकामिलेका वखत दु:ख दिने गरेका कारण चन्द्र सूर्य ग्रहण लाग्ने गरेको कथानक शास्त्रहरुमा छन् ।

ग्रहणकावखत अन्य शुभ कार्य निषेध भए पनि दान, पुण्य, तीर्थ, व्रत, जप, होम , उपासना, अनुष्ठानका लागि यो उत्तम समय हो । मन्त्र दीक्षा ग्रहण गर्न यतिवेला उत्तम हुन्छ । स्नान मध्ये नदी किनारा वा समुद्रछेउको स्नान बढी पुण्यदायी हुन्छ । जमेको भन्दा बगेको पानीले स्नान गर्नु पर्ने हुँनाले घरबाहिर गएर स्नान गर्ने चलन चलेको हो । ग्रहण सुरु, मध्य र अन्त्यमा स्नान गर्नुपर्ने विधान भए पनि हिजोआज नदी, खोलाहरु कम हुँदै गएकाले एकपटक मात्र स्नान गर्ने र नमिलेमा पानी मार्चन गर्ने चलन पनि छ । तागाधारीहरुले यसलाई सूतक मानी यज्ञोपवीत फेर्ने गर्छन्, उमालेको पानीमा वढी विषाक्त विकीरण रहने हुँनाले ग्रहण पूर्व उमालिएको पानी सेवन गुर्नु हुँदैन । पकाएको खाना र यस्तै अन्य खानेकुरा ग्रहण गर्नु हुँदैन । पुण्य कार्य गर्न अन्य दिनभन्दा चन्द्रग्रहणका वखत लाखौं गुणा र सूर्यग्रहणका वखत त्यसको पनि दशौं गुण वढी उत्तम हुन्छ । पद्य पुराण, महाभारत, ब्रह्मवैवर्तपुराण, वाराहपुराण आदिमा तीर्थको महत्व बताइएको छ भने स्कन्दपुराणमा हिमालयक्षेत्रबाट बग्दै आएकी नदीका सङ्गमहरुमा तीर्थको अधीक पुण्य रहने बताइएको छ । गयामा भने विष्णुपद, अक्षयवट र फल्गुनदीलाई अधीक महत्वले हेरिएको छ । गयाभन्दा पनि प्राचीन स्थल हाम्रो कौशिकी क्षेत्र हो ।

गीताको पाठ, रामगीता, भागवतको केही श्लोकहरुको अध्ययन गर्नाले पनि ग्रहणको बढी पुण्य लिन सकिन्छ । जलाशय, सागर आदिमा स्नान गर्नाले जीवनमा अपार पुण्य र आनन्द मिल्छ भने टाढा जान नसक्नेहरुले घरमै स्नान गर्दा पनि तीर्थहरुको नाम, पवित्र नदीको स्मरण, गङ्गा, गायत्री, गाईको स्मरण, मन्त्रोच्चारण र अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका पुरी, द्वारावती, गोदावरी आदिको स्मरण गर्दै स्नान, सन्ध्यावन्दन र यथाशक्य दान, पुण्य गर्नाले आफ्नो शरीर पवित्र त हुन्छ नै, मन र धन पनि पवित्र हुने गर्छ । तन शुद्धि स्नानले, धनशुद्धि दानले, मन शुद्धि ध्यानले हुन्छ । तन, मन र धन तीन कुरा नै शुद्धि पाउनु आजको प्रतिस्पर्धात्मक समयमा निकै गाह्रो हुन्छ । प्रदूषण र खोलानालाहरु फोहोरका डंगुरले भरिएको परिप्रेक्ष्यमा दैवी सम्पदामा रहेका तीर्थ, नदी, क्षेत्रहरुमा जलभण्डार रहन दिने र सफा, सुन्दर र सौन्दर्ययुक्त वातावरण हुने अवस्था भए संसारका अन्य मानिसहरु पनि हामीप्रति आकर्षित हुन्छन् । यसले आन्तरिक र वाह््य पर्यटनको समेत श्रीवृद्धि गरी अर्थोपार्जनको स्रोत समेत बन्न पुग्छ ।

शास्त्रले गर्जन गरेको छ कि निद्रायां जायते व्याधिर्मूत्रे दारिद्रयमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकर: ।। अभ्यन्जने भवेत्कुष्ठिर्भोजने स्यादधोगति: । बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।। यी वैदिक कानुन हुन्, मान्यतामा मात्रै सिमित गर्नु हुन्न । अर्थ सहज छ यतिबेला भोजन गरे अधोगति, मैथुन गरे ग्रामसुकर, दिसा पिसाव गरे कीरा, निदाए रोग, अरुलाई बन्धनमा राखे सर्प, हिँसा गरे नर्कको बास के के बताइएको छ ।