इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ ।
इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे उसका पावर प्लान्ट नष्ट गरिने चेतावनी दिएका थिए।
आईआरजीसीले भनेको छ, ‘इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण नहुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ ।’होर्मुज स्ट्रेट इरानसँग जोडिएको छ । यो फारसको खाडी, ओमानको खाडी र अरब सागर (दक्षिण पूर्व) जोडने एक मात्र समुद्री मार्ग हो ।
यो मार्ग भएर विश्वभर २० प्रतिशत पेट्रोलियम पदार्थ ओसार–पसार हुन्छ ।अमेरिका र इजरायलको हमलापछि इरानले यो मार्गमा लगभग नाकाबन्दी गरेको छ । जसका कारण आपूर्ति प्रभावित भएको छ र विश्व बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।


















