होर्मुज जलडमरूमध्यबाट जहाजहरूलाई सुरक्षित मार्गदर्शन गर्न अमेरिकी सैन्य अभियान सुरु

अमेरिकी सेन्ट्रल कमान्ड (सीइएनटीसीओएम) ले आइतबार जानकारी दिँदै सोमबारदेखि होर्मुज जलडमरूमध्य हुँदै जाने व्यापारी जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गर्ने अभियान सुरु गरिने जनाएको छ । सीइएनटीसीओएमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘प्रोजेक्ट फ्रीडम’ नामक पहल कार्यान्वयन गर्न लागिएको हो, जसको उद्देश्य महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार मार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो ।

यस अभियानअन्तर्गत अमेरिकी सेनाले गाइडेड मिसाइल डिस्ट्रोयर (नियन्त्रित क्षेप्यास्त्र युद्धपोत), १०० भन्दा बढी जमिन तथा समुद्री आधारका विमान, बहु–क्षेत्रीय मानवविहीन प्रणाली (ड्रोन) र करिब १५ हजार सैनिक परिचालन गर्ने विज्ञप्तिमा भनिएको छ ।

सीइएनटीसीओएमले अनुसार गत हप्ता अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको ‘म्यारिटाइम फ्रीडम कन्स्ट्रक्ट’ नामक पहल पनि यस अभियानका लागि महत्वपूर्ण रहने उल्लेख गरेको छ । उक्त पहलले होर्मुज जलडमरूमध्यको सुरक्षा सम्बन्धी सूचना आदान–प्रदानलाई सुदृढ बनाउने र कूटनीतिक प्रयास तथा सैन्य समन्वयलाई संयोजन गर्ने लक्ष्य राखेको छ ।

होर्मुज जलडमरूमध्य विश्वको एक अत्यन्त महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिन्छ, जहाँबाट ठूलो मात्रामा तेल तथा व्यापारिक सामग्रीहरूको ढुवानी हुँदै आएको छ ।