शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्विटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेको छ ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।
स्विटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो । विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० को क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपालमा स्विस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ ९एसडिसी० को सहयोगमा सिटिइभिटीमार्फत तीन परियोजना ‘नेस्नल भोकेस्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेस्नल एजुकेसन एन्ड टे«निङ फर युथ’ सञ्चालनमा रहेका छन् ।
भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्विटजरल्याण्डबीच नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्विटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । उनले सिटिइभिटीसम्बन्धी ऐनको मस्यौदाको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिइरहेको यसलाई छिट्टै संसद्मा पेस गर्ने तयारी रहेको जानकारी गराए ।
मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गरे । सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले स्विटजरल्याण्ड सरकारका तर्फबाट प्रविधि शिक्षामा मात्र नभएर आगामी दिनमा डिजिटाइजेसन, समावेशी शिक्षालगायत क्षेत्रमा पनि स्विस सरकारसँग सहकार्य गर्न सकिने धारणा राखे ।
मन्त्री पोखरेलले नेपाल सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीतिअनुरूप काम अघि बढिरहेको तथा डिजिटाइजेसन, समावेशी शिक्षाको क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेको कुरा व्यक्त गरे । उनले विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने र काठमाडौँ महानगरपालिकामा सञ्चालित ‘बुकफ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी रहेको र त्यसलाई पाठ्यक्रममै राखेर देशभर विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै, प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सरकार लागिपरेको उल्लेख गए ।
उक्त भेटमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताए । राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीन वटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ्ने शिक्षामन्त्रीसमक्ष जानकारी गराए ।


















