एकान्तकुना यातायात कार्यालयको आग्रह : प्रिन्ट भएका लाइसेन्स यथाशीघ्र बुझ्नुस्

एकान्तकुना यातायात व्यवस्था कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र बुझ्न सेवाग्राहीलाई आग्रह गरेको छ।

हाल लाइसेन्स वितरण केन्द्रमा सेवाग्राहीको चाप न्यून रहेकाले बाँकी रहेका सबैलाई सहज रूपमा सेवा लिन कार्यालयले अनुरोध गरेको हो। शुक्रबार जारी सूचनाअनुसार कार्यालयका १२ वटा वितरण कक्षबाट लाइसेन्स उपलब्ध गराइँदै आएको छ। सेवाग्राहीलाई आफ्नो लाइसेन्स कुन कोठाबाट वितरण भइरहेको छ भन्ने जानकारी अनलाइनमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था पनि गरिएको कार्यालयले जनाएको छ।यसका लागि सेवाग्राहीले कार्यालयको आधिकारिक वेबसाइटमा गई ‘Check’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि प्रणालीले सम्बन्धित लाइसेन्स वितरण हुने कोठा नम्बर देखाउनेछ।

कार्यालयले तोकिएको कोठामा उपस्थित हुँदा RECEIVED ID र सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाएको छ। यी कागजात प्रस्तुत गरेपछि मात्रै लाइसेन्स उपलब्ध गराइने स्पष्ट पारिएको छ। कार्यालयले सेवाग्राहीलाई अनावश्यक भीडभाड हुनुअघि नै आफ्नो प्रिन्ट भइसकेको लाइसेन्स बुझ्न आग्रह गरेको छ।