२७ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार देशका २७ जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्लामा साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको प्राधिकरणले जनाएको छ । यस्तै, नुवाकोट र रसुवा जिल्लाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च सम्भावना रहेको प्राधिकरणको आकलन छ।प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।