भरत दाहालको पक्राउबारे महेश बस्नेतको आपत्ति, प्रधानमन्त्रीको सचिवालयमाथि लगाए आरोप

नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको आलोचना गरेका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई पक्राउ गरिएको आरोप लगाएका हुन् । उनले ‘ग्रे जोन’ मिडियामा प्रकाशित सामग्रीबारे टिप्पणी गरेकै आधारमा दाहाललाई नियन्त्रणमा लिइएको दाबी गर्दै समाचार गलत भए सार्वजनिक रूपमा खण्डन गर्न प्रधानमन्त्री पक्षलाई चुनौती दिएका छन् ।

बस्नेतले दाहालको पक्राउलाई सरकारको प्रतिशोधपूर्ण व्यवहारसँग जोड्दै आलोचना गरे। उनका अनुसार ‘ग्रे जोन’मा प्रकाशित सामग्रीले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा विभिन्न व्यक्तिको भूमिकाबारे प्रश्न उठाएको छ । उक्त विषयमा प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेसहित सम्बन्धित व्यक्तिहरूले जवाफ दिनुपर्ने बस्नेतको भनाइ छ ।

यता, दाहाललाई कुन अभियोगमा र कुन कानुनी आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले भने औपचारिक विवरण सार्वजनिक गरेको छैन ।