सुधार नगरी जहाज थप्नुको औचित्य छैन : पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको आर्थिक र व्यवस्थापकीय अवस्था गम्भीर रहेको भन्दै आमूल सुधार आवश्यक रहेको बताएका छन्। उनले निगमको संरचना र व्यवस्थापनमा सुधार नगरी नयाँ जहाज थप्दैमा संस्थाको अवस्था नसुध्रिने स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको प्रशासनिक संरचना, व्यवस्थापकीय कमजोरी र वित्तीय समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार निगमको अवस्था कुनै निजी कम्पनीको भए अहिलेसम्म खारेजीको अवस्थामा पुगिसकेको हुन सक्थ्यो। राष्ट्रिय ध्वजावाहक भएकाले निगम नाफा कमाउने संस्थामा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले यसको सम्बन्ध पर्यटन प्रवर्द्धन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको बताए। निगमलाई जोगाउन अब ठोस निर्णयसहित पुनर्संरचना गर्नुपर्ने उनको भनाइ छ।

मन्त्री पौडेलले निगमको ऋणभार घटाउने, इक्विटी बढाउने र उच्च ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले गम्भीर पहल गर्नुपर्ने बताए। वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनाभित्र ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय व्यवस्थापन तत्काल गर्नुपर्ने उनले उल्लेख गरे। निगमको दीर्घकालीन सुधारका लागि सार्वजनिक–निजी साझेदारीको मोडल अपनाउने सरकारको नीति रहेको जानकारी दिँदै उनले यस विषयमा सार्वजनिक बहस आवश्यक रहेको बताए।कोभिड–१९ को समयमा निगमको ब्याजलाई पुँजीकरण गरिएको विषयमा समेत प्रश्न उठाउँदै मन्त्री पौडेलले त्यसलाई ‘मिटरब्याजसरह’को व्यवहार भएको टिप्पणी गरे।

उनले निगममा आवश्यक जनशक्ति योजना, प्रभावकारी मार्केटिङ र परिचालन रणनीतिको अभाव रहेको औँल्याए। निगमको आर्थिक भार व्यवस्थापन, प्रशासनिक सुधार र व्यावसायिक रणनीतिमा परिवर्तन नगरेसम्म थप जहाज ल्याएर मात्रै यसको साख फर्काउन नसकिने उनको निष्कर्ष छ।