नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन र त्यसको परिणाम गत भदौ २३ र २४ गतेको घटनाको ‘बाइप्रडक्ट’ भएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै बादलले भदौ २३ र २४ गते भएको ‘देश दहन’ तथा नागरिक सरकार र संसद्को विघटनलाई नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करणका रूपमा व्याख्या गरे ।
‘फागुनको निर्वाचन तथा त्यसको परिणाम भदौ २३–२४ गतेको बाइप्रडक्ट थियो,’ उनले भने, ‘भाद्रमा जस्तै फागुनमा देशभक्त तथा लोकतान्त्रिक दलहरूले अकल्पनीय पराजय भोग्नुपरेको थियो । हामीले कानूनतः त्यो पराजयलाई स्वीकार गर्यौं । म के स्पष्ट गर्न चाहन्छु भने पराजयको स्वीकारोक्ति आत्मसमर्पण कदापी होइन ।’
कानूनत:उक्त पराजय स्वीकार गरे पनि त्यसलाई आत्मसमर्पणका रूपमा नलिएको भन्दै उनले गम्भीर शिक्षा र भावी विजयका लागि सुनौलो अवसरका रूपमा लिएको बताए ।




















