चौसठी ज्योतिर्लिँगमा चन्दनभराँटेश्वरदेखि धर्मेश्वरसम्म

शिवका सम्पूर्णमा शिरभाग पशुपतिनाथ हुन् जो नेपालको राजधानी काठमाडौँमा रहेका छन् । काठमाडौँ लगायत नजीकका १० जिल्लाहरुमा ६४ ज्योतिर्लिँगहरु छन् । ने मुनिबाट देशको नाम नेपाल रहने क्रममा उनै ने मुनिले विरुपाक्षलाई सम्पूर्ण पापबाट मुक्त दिलाउन यी ६४ ज्यातिर्लिँगको दर्शन, पूजा, रुद्राभिषेक अनि सत्संग गराएका थिए । विरुपाक्षलाई मातृगमनको दोष लागेको थियो । सत्ययुगमा सत्यपुरी, त्रेता युगमा तपोवन, द्धापर युगमा मुक्ति सोपान भनिने यो भूमिलाई हालको कलियुगमा नेपाल भनिन्छ । ने मुनिबाट स्थापित र यहाँ सदैव न्यायेन पाल्यते भन्ने अर्थ अर्थात् यहाँका जनताहरु सधैँ न्यायले सुरक्षित हुन्छन् भन्ने अर्थमा यहाँको नाम नेपाल रहन गएको हो । कलियुगको आरम्भ भने वि सं २०८१ सालसंगै जम्मा ५ हजार १२५ वर्षमा प्रवेश गरेको छ ।

६४ ज्योतिर्लिँगको दर्शको क्रममा हाम्रो टोली यही मार्ग २२ गते थानकोट गुर्जुधारा उत्तर चन्दनभराँटेश्वर पुगेको थियो । ६४ मध्ये ५० सौँ मा परेका सो ज्यातिर्लिँमा पूजा, रुद्राभिषोक सहित हाम्रो टोली नैकाप भन्ज्याँग दक्षिण बल्खु खोला किनारमा रहेको गोलोकेश्वरको दर्शन पूजा र संगै रहेकी वैष्णवी देवीको भव्य मन्दिरको दर्शन, अवलोकन पनि गरेको थियो । यहँबाट सिधा कीर्तिपुर हुँदै हाम्रो टोली शेषनारायण तर्पm हान्निएको र चार नारायण मध्येका तेस्रा नारायणको सहजै दर्शनपछि हामी फर्पिँग चौकी पूर्व ओरालोमा रहेको गोपालेश्वर शिवलिँगको पूजा आराधनामा सम्मिलित रहेको थियो । द्धापरयुगमा मकवानपुरको नटारम्भेश्वर हुँदै यहाँको ज्योतिर्लिगको पूजा गर्ने क्रममा श्रीकृष्ण यहाँ आई गोपालकै नामबाट गोपालेश्वर भएको र मातातीर्थ उहाँ पुगेको चर्चा विभिन्न पुराणहरुमा पाइन्छ । साविकमा केही वर्षअघिसम्म त्यति सुसज्जित नभएको सो मन्दिर परिसर हाल निकै रमणीय र आकर्षक देखियो ।

माता दक्ष्क्षिकाली तर्पm पुग्दा त अस्ति असौजको पहिरोको अबस्था, क्षतविक्षत संरचना तर माताको दर्शनका लागि हजारौँको संख्याको भीड देखिएको थियो । माताको यथाशक्य दर्शनपछि हाम्रो समूह छैमलेतिर हान्नियो, पैदल हिँड्नमात्र लायक बाटो रहेछ । ढुंगा पन्छाउँदै हाम्रो सवारी अघि त बढ्यो अर्को ज्योतिर्लिँग उद्दालकेश्वर पुग्न हम्मे हम्मे नै भयो । खेतमा रहेको भिरालो जमिनमा सानो मन्दिर रहेको पहिले त्यहाँ मन्दिर नभएको सन्दर्भ चर्चा कथा प्रवचन, दर्शन गर्दै हाम्रो समूह इचँगु नारायण नजिकको यक्षेश्वर शिवको दर्शनका लागि लालयित भयो । आदेश्वर पनि भनिने यक्षेश्वरमा पनि भव्य मन्दिर बनेको रहेछ । त्यहाँबाट हल्चोक हुँदै हामी सामाखुसीमार्ग हुँदै टोखातिर हान्नियौँ । साँझ पर्ने बेला भइसक्दा हामी टोखा मूल बजार उत्तरतिर कठिन बाटोको साथमा धर्मेश्वर शिवलिँग तर्पm उकालो लाग्यौँ । निकै उकालो हल्का सिँढी रहेको तर निकै थाकेको समय भएकाले हाम्रो समूह सबैजसोलाई गहारै भयो । लामो लामो सास तान्दै पाइला पाइला गन्दै बल्लतल्ल माथि डाँडामा पुगेर विष्णुमतीको शिरभाग लिविकोट खोल्सीमा रहेका धर्मेश्वर शिवलिँगको दर्शन पूजा गरेका थियौँ । प्राचीन शिवलिंग हराएको सन्दर्भ र नयाँ निर्मित भन्ने कुरोले पनि चर्चा पायो त्यहाँ । हामी त्यहाँबाट लौरोको सहाराले तल झरेर बाटोमै रहेका अर्का ज्योतिर्लिँग चण्डिकेश्वरको दर्शन पूजामा सरिक भयौँ । नजिकै देवी चण्डिकाको भव्य तस्वीर र मन्दिर पनि अवलोकन गरियो ।

हाम्रो समुहमा पंक्तिकार लगायत विश्व हिन्दु महाँसंघ राष्टिृय समिति काठमाडौँ अध्यक्ष रेखा अर्याल, पूर्व प्रशासक उपेन्द्र अधिकारी र परिबार, जोरपाटी अर्घौतेश्वर मन्दिरका अध्यक्ष केशव पुडासैनी र परिबार, स्थानीय विश्वराम श्रेष्ठ र परिबार, समाजसेवी वसन्त रिजाल र परिबार र अन्य भक्तहरु हुनुहुन्थ्यो ।
सिन्धुलीको कुशेश्वर पहिलो ज्यातिर्लिँग हो भने अन्तिममा पर्छ रुद्रगारेश्वर जुन पशुपतिको कैलाश दक्षिण भागमा रहेको छ । दोलखाका भीमेश्वर, सिन्धुपाल्चोकका, काफेश्वर, स्फटिकेश्वर, काभ्रेका कश्यपेश्वर, चण्डेश्वर, धनेश्वर, विकटेश्वर, इन्द्रेश्वर, भालेश्वर हुन् । ललितपुरमा गुप्तेश्वर, तिलेश्वर, चम्पकेश्वर, रामेश्वर, कालेश्वर रहेका छन् । मकवानपुरमा नटारम्भेश्वर, चम्पेश्वर, उन्मत्तेश्वर, नन्दीकेश्वर, गोखुरेश्वर, पाण्डुकेश्वर, कूटेश्वर छन् भने काठमाडौँमा उद्दालकेश्वर, गोपालेश्वर, शतरुद्रेश्वर, काकेश्वर, मणिचूडेश्वर, योगेश्वर, नारायणेश्वर, ज्योतिर्लिँगेश्वर, गोलोकेश्वर, चन्दनभराटेश्वर, दक्षेश्वर, चण्डिकेश्वर, धर्मेश्वर, गोकर्णेश्वर, कोटेश्वर, वाणेश्वर, ज्ञानेश्वर, पर्वतेश्वर, जलेश्वर, गुह्येश्वर, किराँतेश्वर, भष्मेश्वर, भुवनेश्वर, रुद्रगारेश्वर रहेका छन् । भक्तपुरमा रत्नचूडेश्वर, वागेश्वर, वाल्मीकेश्वर, मंगलेश्वर, विमलेश्वर, अनन्तलिँगेश्वर, विश्वरुपेश्वर, सोमेश्वर रहेका छन् ।

ललितपुरमा गोभराटेश्वर, भृँगेश्वर, त्रिलिँगेश्वर, कुपितेश्वर, सर्वेश्वर छन् भने धादिँगमा असितेश्वर, नुवाकोटमा भैरवेश्वर, ब्राह्मेश्वर, कार्तिकेश्वर रहेका छन् । मकवाननपुरको नटारम्भेश्वर केही विकट देखिन्छन् र ललितपुरकै कालेश्वर पनि । अन्य स्थानहरुमा पुग्न खासै कठिन छैन । पंक्तिकारले एकपल्ट सबैतिरजसो दर्शन सकेको हो तापनि हाल केही महिना यतादेखि विश्व हिन्दु महासंघ, काठमाडौको आह्वानमा यात्रुहरु मिलेर सबैतिर दर्शन गर्ने गराउने अभियानमा संलग्न छ । यस क्रममा दोलखा, सिन्धुली, नुवाकोट, काठमाडौँ, सिन्धुपाल्चोक लगायतका केही ज्योतिर्लिँगहरुको दर्शन, रुदा्रभिषेक, सत्संग सकिएको छ र अन्य धेरै बाँकी क्षेत्रहरुका लागि प्रयास जारी छ । नुवाकोटको कार्तिकेश्वर ज्योतिर्लिँगको दर्शनपछि हाम्रो टोली कविलास उकाली चढ्दै शिखरमा पुगेको थियो यसअघि । डेढ् कि मि बढी उकाली पैदल जानु पर्ने सो स्थान घना वनका बीच रहे पनि नुवाकोटको त्यो शिखर पुगेपछि चारैतिरको शोभा हेर्न लायक छ, संगै नाट्येश्वरी देवी पीठ पनि छ । हजार बढी सिँढी पार गर्दै ठाडै उकाली चढ्नु पर्ने सो स्थानमा मन्दिर पुग्ने बेला सिँढीहरु छैनन् र वर्षाको समय केही असहज हुन सक्छ ।

काठमाडौँको टोखा सडक उकाली चढ्दै शिवपुरी डाँडो पार गरेपछि ओराली शुरु हुन्छ र गुज्र्येभन्ज्याँग पुगेपछि चिया नास्ता गर्दै ओराली लाग्ने गर्छन् सवारी साधनहरु । बाइकमा जानेहरुको छुट्टै मजा छ । तल झरिसकेपछि तादी खोला पुगिन्छ । बाटैबाट केही पूर्व कच्ची र केही असजिलो बाटो पार गर्दै उकाली चढ्दै सवारीबाट रोकिएर पैदल केही समय हिँडेपछि नदी संगममा एक विशाल ढुँगाको आकृति देखिन्छ र त्यहीँ कार्तिकेश्वर शिव लिँग मानी हाम्रो समूहले पूजा, आरती लगायत रुद्री पाठ गरेको हो । त्यसपछि तल झरेर कपिलेश्वर पुग्न केही समय लाग्छ, मन्दिरको डाँडो त तलैबाट देखिन्छ तर सवारी हैँँ हैँ गर्दै शिखर पुगेर पनि २ घण्टाको पैदल समय छुट्याउनु पर्छ । पुन: तल झरेर हाम्रो समूह राक्षसेश्वर हुँदै ब्राह्मेश्वर पुगेको हो, त्यहाँ समथर भएकाले कच्ची हिलो बाटो सानो पार गर्दै खेतका गराहरु वरिपरि रहेको सानो क्षेत्र ब्रह्मेश्वर पुगेर हामीले पूजा, रुद्राभिषेक गरेका थियौँ । नजीकै राक्षसेश्वर पनि छन् । त्यसपछि लगत्तै हामी त्रिशूली संगम जाल्पादेवी थान संगै रहेको भैरवेश्वर पुगेका थियौँ ।

६४ ज्योतिर्लिँगको यात्राका लागि सम्पर्क गर्न चाहने भक्तहरुले पंक्तिकारको फेसबुक पेजमा सम्पर्क गर्न बा विश्वहिन्दु महासंघ राष्टिृय समितिका पदाधिकारी रेखा अर्याल बा अन्य कसैसंग सम्पर्क गर्न सकिने छ । लेखक विश्व हिन्दु महासंघ राष्टिृय समिति, कर्मकाण्ड विभागका संयोजक हुनुहुन्छ ।