पत्रकारिताको अवस्था
पत्रकारिता भनेको दुई धारको तरवार हो जहाँ सत्यतथ्य घटनाहरुमा आधारित भएर सञ्चार माध्यमबाट आम नागरीकलाई सुसुचित गरिन्छ । विश्वको जुनसुकै कुनामा घटेका घटनाहरुको जानकारी पत्रकारका माध्यमबाट सबै माँझ पुराउन सकिन्छ । त्यति मात्र नभई सत्यतथ्य घटनाहरुमा केन्द्रित भएर सञ्चारमाध्यमबाट आम जनमानसलाई जानकारी गराउनु नै पत्रकारिताको धर्म हो । साथै पत्रकारिता घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न ढंगबाट गरिने संकलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरणको एक माध्यम पनि हो । त्यसकारण पत्रकारितालाई राज्यको चौंथो अङ्ग र तेस्रो आँखा भनेर समाजले चिन्ने गर्दछ । पत्रकारिताको मूल्य–मान्यता र जनविश्वास भनेकै सत्यतथ्य सूचना सम्प्रेण गर्नु हो ।
आजको युग विज्ञानको युग हो । आज विश्व एउटा सानो घरमा परिणत भई सकेको छ किन कि यही सञ्चार प्रविधिकै कारण विश्वमा घटेका हरेक घटनाहरु तत्काल थाहा पाउन सकिन्छ जसले गर्दा पत्रकारिताको माग नेपालमा मात्र होइन आम विश्वभरि फैलिरहेको छ । जसको माध्यमबाट मानिसहरुले सेकेन्ड सेकेन्डमा सूचनाहरु प्राप्त गर्न पाएका छन् । त्यसैले आजको युगलाई सुचनाको युग भनेर पनि सम्बोधन गर्ने गर्दछन् । तर पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास गुम्दै गइरहेको छ । मूलधारका मिडियाहावस नै दिन दिनै संकटमा परिरहेको अवस्था छ हाम्रो सामु जिवित छ भने अर्को तिर मुलुकमा विभिन्न समय समयमा हुने हिंसात्मक आन्दोलनले पनि नेपालको सञ्चारमाध्यमलाई प्रत्यक्ष असर पारिरहेको छ । कोविड जस्ता विभिन्न घटनाका कारण झनै पत्रकारिता संकटमा पर्दै गएको अवस्था हो । त्यसको साथै नयाँ नयाँ प्रविधि र सामाजिक सञ्जालका कारण यति बेला मूलधारको पत्रकारितामाथि प्रश्न उठिरहेको छ । जसले गर्दा समग्र पत्रकारिता जगत्मै चिन्ता र साँचो बढी रहेको छ । साँच्चै नै पत्रकारिताप्रतिको जनताको विश्वासलाई टिकाई राख्ने हो भने अब पत्रकार, सञ्चार गृह तथा राज्यले बनाउने पत्रकारिताप्रतिको नीति नियम नै सच्चिन आवश्यक छ । यदि अहिलेको नयाँ प्रविधि अनुसार नेपालको वर्तमान पत्रकारिताका उभो लाग्न सकिएन भने श्रमजिवि पत्रकार मात्र होइन समग्र सञ्चार गृह र स्यंम राज्य सरकार नै यसको भागिदार हुनेछ । वर्तमान पत्रकारिताको अवस्थालाई मध्येनजर गर्दै अवस्था, समस्या, चूनौति र सम्भावनाको ढोका के के छन् विगतको पत्रकारितालाई निहाल्दै वर्तमान अवस्था कस्तो छ र आउने भविष्य कस्तो बनाउने भन्ने विषयमा सुक्ष्म ढंगले बहस, छलफल र विश्लेषणसहित सम्बन्धीत पक्ष अघि बढ्नुको विकल्प छैन ।
नेपालमा २०६२,६३को सशस्त्र जनआन्दोलनपछि राज्यदेखि पछिपरेका समुदाय पनि पत्रकारिता क्षेत्रमा जुर्रमुराउन थालेका हुन् त्यो भन्दा पहिला ति समुदायहरुले पत्रकारितामा खुलेर आफ्ना विचारहरु आफ्ना भावनाहरु समेत राख्न सक्ने अवस्था थिएन । जनआन्दोलनको सफलतापछि मात्र राज्यदेखि पछिपरेका समुदायहरु आफ्नो हक अधिकारकोलागि पत्रकारिता पेशा लगायत विभिन्न क्षेत्रमा आबद्ध भई सक्रिय भूमिका खेल्न थालेको पाईन्छ । जसमा आदिबासी जनजातिभित्र पर्ने मगर समुदायका युवायुवतीहरु पनि पत्रकारिता पेशामा आबद्ध भई आफ्ना हकअधिकारकोलागि कमल चलाउन थालेको हो । जसलाई सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । तर समग्र पत्रकारिता र पत्रकारका माँझ मगर पत्रकारहरु ओझेलमा परेका छन् जसले गर्दा आज पनि मगर पत्रकारिताको अवस्था फस्टाउनुको साटो खस्कीरहेको छ ।
हामी सबैलाई थाहा भएकै कुरो नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र हो । जहाँ एकता भित्रको विविधिता भनेर पनि परिभाषित गर्न सकिन्छ । जसको आफ्नै भाषा, लिपि, धर्म, संस्कृति, रहनसहन, कलाले भरिपूर्ण आफ्नै मौलिक पहिचान छ । नेपालको संविधान २०७२ले पनि सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशानको अधिकारलाई समेटेको छ । त्यति मात्र नभई वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा जोड दिएको छ ।
लामो समयको सशस्त्र द्वन्द्व शान्ति परिणत भएपछि राज्यदेखि पछिपरेका समुदायका व्यक्तिहरुले पनि पत्रकारिता क्षेत्रमा सहभागीता जनाउन थाले त्यसले गर्दा हाल नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन पछि अद्यावधिक भएको महासंघको सदस्य संख्याको तथ्यांकलाई हेर्दा सञ्चारमाध्यममा सक्रिय रुपमा काम गर्ने पत्रकारको संख्या ९ हजार भन्दा माथि रहेको छ । त्यसैगरी पुरुष पत्रकार ७ हजार ५ सय ९८ रहेको छ भने महिला पत्रकार १ हजार ७ सय ४२ रहेको छ । त्यसैगरी आदिबासी जनजाति पत्रकार महासंघको केही वर्ष अघिको तथ्यांकलाई हेर्दा देशभर जनजाति पत्रकार १५ सय ३९ देखिन्छ भने नेपाल पत्रकार महासंघको तथ्यांङकमा आदिबासी जनजाति पत्रकारहरुको संख्या १६८६ रहेको छ । प्रतिशतमा १७.१० रहेको छ । जनजाति पत्रकारको कुल संख्यामध्ये नेवारको मात्र ३९.१४ प्रतिशत हाराहारीमा रहेको छ । बांकी संख्यामा जनजाति भित्रको सुविधाबञ्चित समूहमा रहेका नेवार, मगर, गुरुङ, तामाङ, राई, लिम्बुको प्रतिनिधित्व ठूलो छ । अझ सिमान्तीकृत र अति सिमान्तीकृत समूहका पर्ने आदिबासी जनजाति समुदायको संख्या भने औंलामा गन्न सकिने देखिन्छ । पत्रकार महिलाको संख्या झनै छैन नै भन्नु पर्छ । पछिल्लो. समय यता आदिबासी जनजाति पत्रकारको संख्या पत्रकारितामा बढ्दो छ । किन राज्यदेखिपछि परेका समुदायमा पनि पछिल्लो समय राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक, कानुन लगायतका क्षेत्रमा चेतनाको स्तर बढेपछि उनीहरुको हरेक क्षेत्रमा सहभागीता बढेको हो । तर समग्र देशकै पत्रकारिता र पत्रकारको पेशा आर्थिक, भौतिक रुपमा सुनिश्चित हुन नसकेपछि आदिबासी जनजाति पत्रकारहरु पनि विस्तारै अन्य पेशामा पलायन हुने अवस्था नआउला भन्न सकिदैन।
देशमा नयाँ संविधान बनेपछि राज्यले समावेशी सञ्चारमाध्यमको नीति ल्यायो । जसमा विभिन्न पछाडि परेका जातजातिहरुले पनि आफ्नो समुदायको भाषा, धर्म, संस्कृति, पहिचानलाई बचाउनकोलागि पत्रकारको संघहरु खोलेर काम गर्न थाले । पछि विस्तारै ति समुदायका व्यक्तिहरु पत्रकारिता क्षेत्रमा आबद्ध भई पेशागत रुपमा क्रियाशील भएको देख्न पाईन्छ भने कतिपयले हालको अवस्थामा आफ्नै लगानीमा मिडिया हाउस खोलेर काम समेत गरेको पाईन्छ । त्यति मात्र नभई नेपालको संविधानले पछि परेका समुदायकोलागि समावेशी आरक्षणको व्यवस्था गरेपछि पत्रकारहरुको संख्यामा वृद्धि भएको हो । पछिल्लो समय आरक्षण र समावेशीका कारण संख्यामा वृद्धि भए पनि आर्थिकपक्ष भने पत्रकारकालागि सकस नै देखिएको पाईन्छ । आर्थिक पक्षमा सकस मगर पत्रकारहरुलाई मात्र नभई समग्र नेपाली पत्रकारहरु जो रातदिन पत्रकारिता क्षेत्रमा क्रियाशील छन् उनीहरु पनि मारमा परेका छन् ।
अझ हालको केही वर्ष यता विश्वव्यापी फैलिरहेको कोरोना भारइसको संक्रमणले गर्दा झनै मिडिया हावस र पत्रकारहरु आर्थिक मन्दीमा फस्नुपरेको छ भने कतिपयले अकालमा ज्यान गुमाउनु पर्यो तर पनि मिडिया र पत्रकारहरुले जनताको हकहितकोलागि सूचना दिन भने पछि परेका छैनन् उनीहरु निरन्तर जस्तोसुकै संक्रमणको चपेटामा परेपनि आर्थिक अवस्थाले साथ नदिएपनि पत्रकारितामा सरिक भई आफ्नो धर्म निभाई रहेका छन् त्यसमा आदिबासी जनजाति पत्रकार र आदिबासी जनजाति समुदायले खोलेका मिडिया हावसले पनि महत्वपूर्ण भूमिका खेलिरहेको हामी सबैलाई जगजाहेर छ । यो विषयमा राज्य सरकारको ध्यान मात्र नपुगेको हो तर आदिबासी जनजाति समुदायले खोलेका सञ्चारमाध्यमहरुले राज्य र जनतालाई समाचारका माध्यमबाट सुसुचित गर्दै आईरहेकोे वर्तमान अवस्था हो ।
मगर पत्रकारको अवस्था
मगर समुदाय देशको तेस्रो ठूलो जाती आदिबासी जनजातिभित्र जनसंख्याको हिसाबले पहिलो जाती हो तर राज्यको हरेक निकायमा पछि नै छन् । त्यसैगरी पत्रकारिता क्षेत्रमा पनि भनेजति मगर समुदायका युवायुवतीहरु सक्रिय देखिएको पाईन्दैन । कतिपय पत्रकारिता क्षेत्रमा लागि रहेका मगर पत्रकारहरु पनि टिकिराख्ने सम्भावना नदेखेपछि पत्रकारकारिता गर्दागर्दै पलायन हुनु परेको अवस्था छ । पत्रकारितामा पेशा बद्ल्ने र पलायन हुने रोग मगर पत्रकारहरुलाई मात्र नभई नेपालका अधिकांश पत्रकारहरुले बाध्य भएर पेशा बद्ल्नु परेको वर्तमान अवस्था हो । तर पनि कतिपय पत्रकारहरुले पत्रकारिता आफ्नो रुची भएको हुँदा आर्थिक पक्ष बलियो नभएपनि पत्रकारितामा क्रियाशील भने छन् । आजभोलि त झ्न सजिलो भएको छ । प्रत्येक व्यक्तिले आफ्नै नाममा मिडिया दर्ता गरेर अनलाईनन्यूज पनि चलाई राखेका छन् । तर यस तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न भने सकिरहेको छैन । मगर समुदायले सञ्चालन गरेको मिडियाहावसमा न त आफ्नै समुदायले सहयोग गरेका छन् नत राज्यले नै आर्थिक पक्षलाई बलियो बनाउन र मिडिया हावसलाई टिकाई राख्न विज्ञापन नै दिएका छन् जसले गर्दा यो संक्रमणकालिन अवस्थामा ति मडिया हावस र त्यहाँ काम गर्ने सञ्चारकर्मीहरुको अवस्था दयनीय अवस्थामा गुज्रीरहनु परेको वर्तमान अवस्था हो । हुन त हरेक क्षेत्रलाई अगाडि बढाउन पहिलो साथ सहयोग भनेको आफ्नै घर परिवार समुदायको कर्तव्य हो तर मगर समुदायमा त्यो खालको भावनात्मक सम्बन्ध र चेतनाको अभावको कारणले गर्दा पनि त्यस्ता सामाजिक कार्यमा नजर पुग्न सकेको छैन । मगर समुदाय जनसंख्याले मात्र नभई आर्थिक पक्षले पनि केहीहदसम्म बलियो नै देखिन्छ तर समाजिक कार्यमा एकजुट नहुँदा आज मगर समुदायले खोलेका मिडिया हावस भनौ या अन्य कुनै सामाजिक संघसंस्था र गतिविधिहरुभने जस्तो फस्टाउन सकिरहेको छैन । जसले गर्दा आम मगर समुदायको भविष्य मात्र अन्यौल होइन विश्वमा भएका हरेक सूचनादेखि पछि परिरहेको छ । जसको मूल कारण भनेको मगर समुदाय भित्र राजनीतिक विचार र आस्थाका कारण बाधा उत्पन्न भईरहेको छ । मगर समुदाय जातले एक भएपनि विभिन्न राजनीतिक विचार आस्थाका कारण एकले अर्काको अस्तित्व स्वर्कान सकिरहेका छैनन् जसले गर्दा कुनै एक मगर समुदायले समाजकोलागि केही राम्रो काम गर्न थालेपनि त्यस्ता सकारात्मक कार्यमा साथ र सहयोग होइन बरु बाधा, अवरोध खडा भईरहेको मगर समुदायका विज्ञहरुको गुनासो रहदै आएको छ । त्यसकारण यस्ता खालका सोंच र मनस्थितिले गर्दा आज पत्रकारिता क्षेत्रमात्र होइन सबै क्षेत्रमा मगर समुदाय पछि पर्नुको पनि एक कारण हो ।
नेपाल मगर पत्रकार संघको जिम्मेवारी र भूमिका खै ?
मगर पत्रकारहरुको हक हितको लागि खोलिएको मगर पत्रकार संघ पनि केही वर्षदेखि सिथिल अवस्थामा छ । संस्था त खोलियो त संस्थाले मगर पत्रकारको लागि खेल्नु पर्ने भूमिका र जिम्मेवारी केही देखिदैन । विगतमा केही मगर अग्रज पत्रकारहरुले यो संगठनको जन्म गराएपनि सुरुवाती समयमा जति मगर पत्रकारको रौनकता र क्रियाशीलता थियो पछि आएर लगभग उद्देश्य देखि बिमुख हुदै शून्यतामा गईरहेको वर्तमान अवस्था हो । यसले गर्दा पनि मगर पत्रकारहरुलाई अगाडि बढ्न र राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुन परिरहेको छ । मगर पत्रकार संगठनबाट नै विभिन्न जातीय पत्रकार संगठन सँग जोडिदै नेपाल पत्रकार महासंघको गतिविधिमा सहज ढंगले पुग्न सकिरहेको छैन । साथै मगर पत्रकारलाई सञ्चारक्षेत्रमा अगाडि बढाउन पनि नसकिरहेको अवस्था हो । नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिको अध्यक्षमा निर्वाचित भई आएको मनोज घर्तीमगर लगायत कार्यसमितिको कार्यकाल पनि एक दशक भन्दा बढी भईसकेको छ । लामो समयदेखि संगठन क्रियाशील हुन नसक्दा र नयाँ कार्यसमितिकोलागि निर्वाचन प्रक्रिया अगाडि बढाउन नसक्दा समग्र मगर पत्रकारको भविष्य ओझेलमा परेको छ । तर यस वियषमा सम्बन्धीत संघको नेतृत्वकर्ता एवंम कार्यसमिति नै उद्देश्य विहिन र जिम्मेवारी बिहिन भएको देखिन्छ । जसका कारण आज मगर पत्रकारहरुको अवस्था कमजोर बन्दै गइरहेको छ ।
नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिमा मनोज घर्तिमगरको कार्यसमिति निर्वाचीत भएर आईसकेपछि दोस्रो बैठकमा २१ जना वरिष्ठ मगर पत्रकारहरुलाई सल्लाहाकारमा चयन गरिएको थियो । जसमा उजीर मगर, नरेश खपाङ्गीमगर (बेलायत), खिलध्वज थापा, लोकदीप थापा, राधा बुढाथोकी, दिलीप थापामगर, उदय जिएम, हर्क आलेमगर, खेम सारुमगर, खेम बुढामगर, मौसम रोकामगर संघको सल्लाहाकारमा चयन गरिएको महासचिव देव पचभैयाद्वारा विज्ञप्ती उल्लेख गरिएको छ । त्यसैगरी गिरि श्रीसमगर, तिलक पुनमगर, दुत पुनमगर (बेलायत), जेवि पुनमगर (हङकङ), धनबहादुर मगर, उमा मगर, प्रदीप थापामगर (अमेरिका), बालकृष्ण काउछामगर, सुरेन्द्र थापामगर र भरत जर्घामगरलाई पनि संघले सल्लाहाकारमा राखेको थियो । तर यी राखिएका सल्लाहकारहरुसँग मगर पत्रकारको विषयमा छलफल तथा सहकार्य समन्वय नहुँदा केही सल्लाहकारहरु मगर पत्रकार संघ बेखुशी पनि छन् ।
उक्त बैठकले मगर पत्रकारहरुलाई पुरस्कृत गर्न, क्षमता अभिवृद्धि गर्न र उपचारका लागि ‘मगर पत्रकार अक्षय कोष’ स्थापना गर्ने निर्णय गरेको गरिएको थियो । संघले थु्रपै एजेण्डाहरु पास गरेका थिए तर आज सम्झनामा मात्र समिति छन् कतिपय एजेण्डाहरु त मगर पत्रकार संघले विर्सि पनि सकेको अवस्था हो । संगठन विस्तार र गठनका विषयहरु पनि त्यतिकै ओझेलमा परेका छन् । मगर पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा अब्बल र क्षमतावान बनाउँदै राज्यसँग मगर समुदायको हकहितलाई स्थापित गर्दै र आफ्ना मुद्धाहरु उठान गर्ने उद्देश्य भएपनि आज मगर पत्रकार संघ आफैमा ओझेल पर्दा यसको भागिदार कसले लिने भन्ने प्रश्न चिन्न खडा भएको छ । मगर पत्रकार संघलाई हराभरा बनाउन केवल अध्यक्षको मात्र दायित्व त पक्कै होइन होला । कार्यसमितिकमा रहेका अन्य पदाधिकारी र सदस्यहरुको पनि उतिकै जिम्मेवारी र दायित्व होला तर कार्य समिति नै उदासिन देखिदा आज समग्र मगर पत्रकार उद्देश्य विहिन अधिकार विहिन हुन पुगेको छ ।
अझ बढी जिम्मेवार र सल्लाह सुझाव दिनकालागि राखिएका मगर पत्रकार संघका सल्लाहकारहरु पनि मौन बसिदिदा झनै नेतृत्व जिम्मेवारी विहिन र जवाफविहिन हुन पुगेको छ । समय गतिशील छ । समयले कसैलाई पर्खिदैन । विगतका घटना र परिघटनाबाट पाठ सिक्दै अब आउने दिनलाई सफल बनाउन मगर पत्रकार संघ उठ्न जरुरी छ । संगठनको उद्देश्यलाई आत्मा साथ गर्दै समग्र मगर पत्रकार मात्र होइन मगर समुदायको हकहित र अधिकारलाई स्थापित गर्दै आम नेपाली जनता र देशकोलागि काम गर्न सक्ने सक्षम र अब्बल संगठनको रुपमा स्थापित हुन सक्नुपर्छ । राजनीतिक विचार आफ्नो ठाउँमा होला तर जातीय संघ संस्थालाई राजनीतिक रंगबाट माथि उठाएर समुदायको आवाजलाई बुलन्द पार्दै पत्रकारिता क्षेत्रबाट राज्यदेखि पछाडि परेका समुदायको आवाजलाई राज्य सरकार समक्ष पुराउँदै राज्यको हरेक तह र तप्कामा पुग्न सक्ने क्षमताको वृद्धिविकास गर्दै जानुपर्छ । अब पनि नेपाल मगर पत्रकार संघले आफ्नो उद्देश्य, अस्त्तिव र पहिचानलाई चिन्न सकेन भने संगठन खोल्नुको कुनै तुक छैन । त्यसकारण समयमै मगर पत्रकार संघका नेतृत्व र कार्यसमिति सच्चिएर अगाडि बढ्नुको बिकल्प छैन ।
मगर पत्रकारले खोलेका मिडियाहावसलाई बचाउन समुदायको भूमिका
भनिन्छ थोपा थोपा पानी मिलेर समुद्र बन्छ त्यसैले अब मगर समुदायका आम बुद्धिजिवि विद्वान व्यक्तिहरुले सोच्नै पर्छ फुटेर होइन एकताबद्ध भई त्यस्ता सामाजिक कार्यमा हातेमालो गर्नैपर्छ । जब एकता हुन्छ तब मात्र मगर समुदायको उत्थान हुनेछ । अनि मात्र समुदायको विकासको साथै राष्ट्रको विकास हुनेछ हरेक कुरा प्राप्त गर्न राज्यको मुख ताकेर मात्र हुदैन आफ्नो समुदायलाई माथि उठाउन छ भने सबै मिलि एक एक रुपियाँ जम्मा गरेर पनि मगर समुदायले खोलेका मिडिया हावस र त्यहाँ काम गर्ने पत्रकारहरुको पेशालाई बचाउन सकिन्छ । जब मिडिया हावस बाँच्छ तब मात्र पत्रकारहरु सक्रिय भएर आवाज विहिनहरुको आवाजको हक र हितकोलागि काम गर्न सक्छन् । त्यसैले आम मगर समुदायहरु राजनैतिक विचारधारा जे सुकै होस् तर समुदायको उत्थान र प्रतिष्ठाकोलागि भएपनि एकजुट हुनैपर्छ अनि मात्र मगर समुदाय समृद्धिको मार्गतिर लाग्नेछ । यसरी विस्तारै परिवार समाज र देशको विकासमा टेवा पुग्नेछ । हामीले कहिल्यै विर्सिनु हुँदैन आफ्नो व्यक्तिगत स्वार्थका कारण समुदायको हित विपरित कार्य होस् । त्यसैले यो संक्रमण कालिन समयमा होस् या पत्रकारिता क्षेत्रमा फस्टाउदै गरेका पत्रकार एवंम मगर मिडिया हावसलाई दिगो रुपमा स्थापित गर्न आम देश विदेशमा भएकार मगर समुदाय एकजुट भएर भावनात्मक रुपमा एकतामय हुँदै आर्थिक, भौतिकमा जे जति सकिन्छ सहयोग गर्ने बानी बसाल्नु कदापि पछि पर्नु हुँदैन । किन कि जन्मेपछि मानिस त एकदिन मरेर जानु नै छ तर तपाईहरुले गरेको राष्ट्र र समाजप्रतिको योगदान पछि गरेर पुस्तौपुस्ताले सम्झन योग्य हुनेछन् ।
आज मगर समुदाय भित्र मिडिया क्षेत्र मात्र नभई हरेक क्षेत्रमा क्षमता दक्षता, सिपयोग्य शिक्षित मगर युवायुवतीहरु छन् तर तिनीहरुले गर्ने कार्यमा लगानी गर्ने सही अभिभावक नपाएर त्यतिकै दिन काट्न बाध्य छन् तर यता तिर मगर समुदायको ध्यान जान सकेको छैन् । यस्ता बौद्धिक दक्षता, क्षमता र सीप भएका मगर युवायुवतीहरु प्रति मगर समुदायको सक्दो सहयोग हुन सके अवश्यनै भावि दिनमा मगर समुदाय मात्र होइन यो राष्ट्रले विश्वले असल व्यक्तित्व प्राप्त गर्नेछ । अझ मगर समुदाय लगायत पछाडि परेका समुदायले बुझ्नै पर्ने कुरो पहिले पहिले ठूला मिडियाहावस भनेर चिनिने मिडियामा केवल मगर समुदायको वास्तविक आवाज के हो त भन्ने कुरा भन्दा पनि खाली नाचगानका विषयमात्र समाचारहरु आउने गर्दथे । मगर समुदाय केवल नाचगानमा व्यस्त छन् जस्ता कुरा मिडियामा बढी देखाइने गर्दथ्यो । पछिल्लो पटक आदिबासी जनजातिहरुले आफ्नै मिडिया हावस खोल्ने र आफै पत्रकार बनेपछि बल्ल आफ्ना हक अधिकारका बारेमा पन्टलाइनमै समाचार लेखेर राज्यलाई खबरदारी गर्दै आएका छन् । यसबाट पनि राज्यदेखि पछि परेका जति पनि जनसमुदायहरु छन् चाहे कर्णाली प्रदेशका जनता किन नहोस् या त दलित, मुस्लिम, अपाङग, फरक क्षमता भएका समुदाय, मधेशी या महिला या त मगर समुदाय किन नहोस् यो कुरा बुझ्न जरुरी छ ।
मगर पत्रकार र मिडियाहावसलाई टिकाई राख्न राज्यको भूमिका
आजको युग भनेको सूचना प्रविधिको युग हो जहाँ जनताले सूचना प्राप्त गर्छ त्यो देश त्यो समुदाय नै हरेक क्षेत्रमा अगाडि बढेको हामी सबैलाई थाहा भएको कुरो हो तर देशमा संविधान, संघीयता र शान्तिमय वातावरण आईसक्यो हुँदाहुँदा केन्द्रिकृत देश संघियतामा गईसकेको छ तर राज्यदेखि पछि परेका जनताहरुको जीवनस्तर अझ पनि सुध्रिर्न सकेको छैन । संघीय राज्यको अभ्यास भए पनि अझ पनि स्थानीय क्षेत्रमा नीति नियमहरु अपुरो र अधुरो छन् जुन नीतिनियमले जनताको हितकोलागि काम गर्न सकेका छैनन् । अझ पनि राज्यका हरेक क्रियाकलाप गर्नुपर्दा केन्द्रीय तहको मुख ताक्नुपर्ने अवस्था छ जसले गर्दा पछाडि परेका जनताहरु जहाँको तही छन् । यस्ता खालका एकात्मक गतिविधि र सोंचले गर्दा आज मगर पत्रकारहरु र मगर पत्रकारहरुले खोलेका मिडिया हावसमा राज्यको ध्यान जान पुगेको छैन । मिडिया हावसमा पनि खाली नाताबाद क्रिपाबाद र विचारबाद भएकाहरुलाई राज्यसत्ताले सहयोग गर्ने गर्दछ । जसले गर्दा मगर पत्रकार र मगर समुदायले खोलेका मिडिया हावस राज्यबाट पाउने सेवा सुविधा र पुरुस्कार, सम्मान र हौसला पे्ररणाबाट पाखा लाग्नु वास्तविक घटना हो । संविधानले सबै जातजातिलाई समान हकअधिकार दिएको छ तर राज्यबाट भने समान हकअधिकार व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन यसतर्फ राज्य गम्भीर हुनैपर्छ । समग्र देशविकासको उन्नती प्रगतिकोलागि राज्यदेखि पछिपरेका समुदायलाई राज्यको मूलधारमा ल्याउनकोलागि उनीहरुको क्षमता, दक्षता, योग्यतालाई वृद्धिविकास गर्नकोलागि उनीहरुलाई सम्मान हौसला पे्ररणा आर्थिक रुपमै बलियो बनाउनु छ ति समुदायमा लगानी लगाउनु पहिलो कर्तब्य हो । साथै समग्र पत्रकारिता क्षेत्रमा लागेका श्रमजिवि पत्रकार र आम मिडिया हावसलाई आर्थिक रुपमा बलियो बनाउन र टिकाई राख्न राज्यको महत्वपूर्ण भूमिका हुनुपर्छ ।
अन्तमा समय सँगै हिजोको जस्तो पत्रकारिता आज छैन आज विभिन्न खाले डिजिटल प्रविधिबाट पत्रकारिता गर्नु पर्ने समय आईसकेको छ । आजको समय च्याट जिपिटी हो भनेर चर्चा मात्र होइन पत्रकार र पत्रकारिताको ध्यानाकर्षण गराईरहेको छ । यो प्रविधिले व्यक्तिको काम खोसिरहेको देखिँदैछ । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बौद्धिकताले अब मानिसलाई बेरोजगार बनाउँदैछ । ट्विटर, फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालले नागरिक पत्रकारिताको काम गरिरहेका छन् । यस्ता खाले विविध चुनौतीको सामना पत्रकारिताले कसरी गर्ने? डिजिटल मिडिया वा सामाजिक सञ्जालबाटै विषयवस्तु सार्वजनिक हुने र जनमत निर्माण हुन थालको छ । मूलधारका मिडियाले दर्शश, स्रोता र पाठकलाई कसरी विश्वासलाग्दो समाचार पस्कने भन्ने चुनौती अर्को तिर छ । त्यसको बाबजुत पनि पत्रकारिता क्षेत्रमा पत्रकारलाई कसरी समेट्न सकिन्छ र आर्थिक रुपमै कसरी सक्षम बनाउन सकिन्छ साथै पछाडि परेका समुदायको आवाजलाई कसरी राज्यको मूलधारमा ल्याउन सकिन्छ भन्ने विषय महत्वपूर्ण हो । मगर पत्रकारहरुको पेशागत सुरक्षाको सुनिश्चिततासँगै व्यावसायिक दक्षता अभिवृद्धि, सञ्चारगृहको संस्थागत बिकास एवं सञ्चारमैत्री वातावरण बनाइनुपर्ने आजको सबै भन्दा महत्वपूर्ण आवश्यकता हो । स्थानीय सञ्चारमाध्यम नै आमजनमानसको पहिलो र प्रभावकारी माध्यम भएकाले स्थानीय सरकारले तिनको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आवश्यक पहलकदमी लिन कन्जुसाई गर्नु हुँदैन । विगतमा लोकतन्त्र र समाज रुपान्तरणका पक्षमा पत्रकारिताका माध्यमबाट पत्रकारहरुले जुन आवाज उठाए, त्यो विरासतलाई कायम राख्न मगर पत्रकारको पनि जिम्मेवारी र दायित्व छ । अझ बढी पत्रकारिता र पत्रकारको भविष्य र पेशाप्रति जिवन्त बनाउन राज्य सरकारको भूमिका र दायित्व हुुनुपर्दछ ।


















