आगामी चुनावमा मतदाताले कस्तालाई आफ्नो प्रतिनिधि छान्ने?

चुनावमा भोट खसाल्ने र पछि पछुताउने गर्न नपरोस् भन्नाखातिर यो छोटो आलेख गाउं गाउं शहर बजारका जनमानसमा व्यापक विचार विमर्शको लागि प्रस्तुत गरिएको हो। आउंदो निर्वाचनमा यस विधामा आम मतदाता बडो सचेत हुन के कस्ता कुराहरू थपघट गर्न सकिन्छ, सो गरियोस् र सबै नेपालीलाई मान्य हुने सांसद पदमा उठने व्यक्तिका लागि न्यूनतम शर्तवन्देज के के हुने भन्ने बारेमा उपयोगी दस्तावेज तयार होस् ताकि सांसद बन्न उठने र मतदान गर्ने दुवै पक्षले आ–आफ्ना सार्वभौम अधिकारको सदुपयोग गर्न सकुन् भन्ने अभिप्राय यस लेखको रहेको छ । लेख मुरारिविनोद पोखरेलले तयार पार्नु भएको छ । सम्पादक

एउटा पौराणिक इतिहास बोकेको देश नेपाल हो। स्वच्छ, अनुसाशीत एवं सुरवीर तथा गोर्खाली उपनामलेनै विश्व विख्यात भएका नेपाली हौं हामी। तर के आजको दिनमा न त हाम्रो पौराणिकता र इतिहासलाई उज्ज्वल गर्न सकेका छौं न त हामी देश बाहिर जहिंकहिं जांदा छाती फुलाएर नेपाली भन्न सक्नेनै रहेका छौं। किन??

माथीको प्रश्नको सेरोफेरोमा नाच्न आइपुग्छ– देशको सरकार। अथवा भनौं राज्य व्यवस्था, राजनीति गर्ने र निर्णयकर्ताको भूमिकामा रहेका व्यक्तिहरू। हो पनि किनभने सुदृढ नेतृत्वले प्रभावकारी व्यवस्था अवलम्बन गरेका कारण कतिपय देशहरू विगत आधा सताव्दीमा शुन्यबाट उठेर कहांपुगी सके, हामी कहां छौं?

सूचना प्रविधिलाई आत्मसात गरि हेर्दा विगत ५० वर्षमा सिंगापुर, दक्षिण कोरिया, चीन, संयुक्त अरब इमिरेट्स, रुवाण्डा, भियतनाम, भारत, एस्टोनिया, बंगलादेश तथा चिली जस्ता १० देशहरूले क्रमश: विकासको फड्को मारेछन्। भनिन्छ– ती देशका नेता दूरदर्शी छन्, तिनले आर्थिक उदारिकणको नीति अवलम्बन गरे, देशमा शिक्षा र मानवसंसाधनको विकास मज्जाले गराए, सुसासनमा दृढ नीति लिंदै निर्यात केन्द्रित अर्थव्यवस्था अवलम्बन गरे। तब देश अचम्मसंग उंभो लाग्यो। हाम्रै सांध जोडिएका दुइ छिमेकी र एशियाकै कति देशले उन्नती गर्न सके हामीले किन सकेनौं?

महाकवी देवकोटाले नेपाललाई ‘दूरताको दिव्य जादु’ अर्थात् ‘सानो तर स्वर्ग’ यसै त भनेनन् होला। यस स्वर्गरुपी देशलाई अमरापुरी बनाउने जिम्मा त हामी मतदाताले सहर्षरुपमा चुनाएर पठाएका माननीयहरू (चाहे पञ्चायतका बेलाका राष्ट्रिय पञ्चायतका सदस्य हुन वा बहुदल आएपछिका सांसदहरूनै किन नहुन्) कै जिम्मवारी थियो। खै त जिम्मेवारी बहन?

आफ्नै एउटा सानो लेख ‘दलनीति भन्दा देशनीति ठूलो हुन्छ: विकल्पको खोजी गरौं’ पुस्तकालय आवाज, मंसीर २०७८मा प्रकाशित भएकोले एकछिन खिच्यो। त्यसमा हाल सम्म तीन पिढी नेपालीहरू राजनीतिबाट प्रताडित भइसके, चुपलागेर बस्ने हो भने अझै कति पिढी यस्तै अवाञ्छित राजनीतिबाट गुज्रिन पर्ने होला भन्ने कुराहरू परेका छन्। यसै फेरोलाई समातेर यो आलेख अघि बढेको छ।

प्रजातन्त्रीय शासन व्यवस्थामा, आफूमा रहेको सार्वभौमसत्तारुपी अधिकार र जिम्मेवारी बोध गरी हर एक व्यक्तिले आफूभन्दा वढी प्रभावकारी बनेर सशक्त भूमिका निर्वाह गर्छ र आफ्नो सोच, धारणा एवं आकांक्षाको फलिभूत हुन्छ अनि देश विकसित हुन्छ भन्ने दृढ अभिप्रायले हामीले चुनावमा भोट दिएर आफ्नो प्रतिनिधि छानेर पठाउंछौं। आजसम्म गर्दै आएको त यहिनै हो। तर देश उंभो लाग्नुको साटो रसातल तिर धकेलिंदै गएको छ। अत: पटक पटक चुनेर पठाएकाहरू नसुध्रिएकाले हामी मतदाताहरू अवको चुनाव देखि आफैं परिवर्तन हुनुको विकल्प रहेन। अब कस्ता व्यक्तिलाई भोट दिने त ?

वास्तबमा शिक्षित व्यक्तिलाई
शिक्षा मानव विकासको मेरुदण्ड भएकोले, सांसद हुन न्यूनतम स्नातक पार गरेको हुनुपर्ने सामान्य सिद्धान्तलाई प्रतिपादन गरौं। यसका साथै सूचना प्रविधिमा आजको युगसंगै हिंड्न सक्ने व्यक्ति अवश्य हुनु पर्‍यो। एउटा सानो उदाहरण: कुनै सूचना सामाग्री मोबाइलमा प्राप्त भयो र मतदातालाई सम्प्रेषण गर्न उपयुक्त देखियो तर त्यो गर्नसम्म पनि खेताला खोज्नु पर्ने अवस्थाको व्यक्ति अवको युगमा सांसद बन्न सक्दैन। तसर्थ उम्मेदबार कुन हदको वास्तविक शिक्षित हो, सो खुट्याउने काम हामी मतदाताको हुन्छ। यहां वास्तवमा शिक्षित भनेको प्रमाणपत्र धारीमात्र भन्न खोजिएको हैन, बरु समाज पढेको, देश संसार बुझेको र देश हांक्न सक्छु भन्ने अठोटसहितको ज्ञान आर्जन गरेको व्यक्ति भन्ने बुझनु पर्‍यो।

दलभन्दा माथी उठेकालाई
बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई नराम्रो मानिंदैन। यद्यपी, सर्वप्रथम दल ठूलो कि देश ठूलो? यत्तित उम्मेदवारमा ज्ञान हुनु पर्‍यो नि। तर हामीले नेपालमा आजसम्म दल ठूलो कि देश ठूलो त कुरै छोडौं, दलको आदर्श तथा सिद्धान्तमा अगिड भएको सम्म पनि कुनै दल वा दलमा लाग्ने व्यक्ति पाउन सकेनौं। दक्षिण र उत्तरी ध्रुव कहिं मिल्न सक्छ? यहां त केही व्यक्तिविशेषको स्वार्थमा विपरित सिद्धान्तसंग पनि जोडिएर दलहरूबाट मनपरी हुनथालेकोले देश डुब्दै गएको हो। समानुपातिकको वास्तविक सिद्धान्तलाई त दलहरूले तिलाञ्जलीनै दिए। हालसम्मको निचोड के हो भने समानुपातिक सांसदहरू चाहिंदैननै हो। आ–आफ्ना नितान्त स्वार्थ पूर्ति गर्नका लागि भागबण्डाको राजनितीमा दलेहरू होमिए। तसर्थ अबको चुनावमा दल विर्सिने तर राम्रा तथा देशको लागि आहुती दिन सक्ने जो कोहीलाई सांसदमा जिताऔं ता कि दलको हित हैन समग्र नेपाल र नेपालीको हित हुन सकोस्।

स्वयम सेवीलाई
राजनीति पेशा हैन, सामुदायिक सेवा हो। समाजको सेवा गर्छु भनेर पस्ने तर मेवा खोज्ने गलत प्रबृत्ति हावी भयो। राजनीति गर्ने व्यक्तिको पारिवारिक जीवन धान्न कृषि वा अन्य कुनै व्यवसाय हुनैपर्छ। अब आइन्दा गाउं घरका व्यक्तिहरूलाई चुनावमा उठेका व्यक्तिको पुरा समय राजनीतिमा दिंदा पनि निजको घरपरिवार निसंकोच चलिरहन्छ भन्ने पक्का लागेमा मात्र निजलाई भोट दिने हो। अर्थात् अब राजनीति गर्नेले तलब, भत्ता आदि कुनै पनि सुविधा अर्थात् एकसुको पैसा पनि राज्यकोषबाट लिन्न भनेर घोषणा गर्छ र उसको पारिवारिक पृष्ठभूमिबाट सो कुरा पुष्टि पनि हुन्छ भने मात्र निजलाई भोट दिने हो। गाउं ठाउंमा कसको के हैसियत छ सबै छर्लङ्गै हुन्छ नि, कसले पो लुकाउन सक्छ र?

जोश, जांगर, सीप भएका युवालाई
हामीले साना नानीबाबुलाई भोलीका कर्णाधार भनेर भन्छौं। तर यथार्थमा आजसम्म नवपीढीलाई जिम्मेवारी दिन चुकेका छौं, अथवा दिनै चाहंदैनौं। नेपालमा राजनीतिरुपी पेशा यस्तो भयो कि ‘ताना माना आर्य घाटमा’! नमरुन्जेल पद र शक्रिमा हुनै पर्ने रे, अचम्म! अब परिवर्तन गरौं। नमानेर सुखै छैन– युवामै जोश, जांगर र सीप वढी हुन्छ। आधुनिक प्रविधिमा उनीहरूनै अब्बल छन्। ‘उम्रिंदै तिन पाते’ जमाना आइसक्यो। तसर्थ नेपालको आजको माग अनुसार ३० देखि ५० वर्ष उमेरका युवालाई मतदान गर्ने प्राथमिकतामा राखौं। अत्यन्त योग्य, विज्ञ, ज्ञानी, दूरदर्शी, सिमान्तकृत, योजनाकार आदिका लागि उमेर, शिक्षा आदिको सीमा नराखी राष्ट्रिय सभामा लैजाने पद्धति त छंदैछ, त्यसलाई सहि बनाऔं।

देश विकासको दूरदर्शी कार्ययोजना प्रस्तुत गर्नेलाई
दूरदृष्टि किटान गरेर सो दृष्टि अवलम्बन गर्ने दिशाबोध आफ्नो चुनावी पत्रमा पेश गरेका मध्ये कसको दूरदृष्टि देश हितको लागि उपयोगी छ, उत्कृष्ट छ तथा उक्त दृष्टि प्राप्त गर्न सकिने दिशाबोध स्पष्ट छ अथवा छैन सम्पूर्ण कुराहरू हेरेर, ठिक र उपयुक्त दूरदृष्टि पेश गर्ने व्यक्तिलाई हामीले भोट दिने हो। नेपाल निर्माणको सय वा पचासवर्षिय राष्ट्रिय कार्ययोजना खै? कालान्तरसम्म सकभर नवदलिने वैदेशिक नीति खै? दलले त दलको त्यो पनि पालना नगर्र्ने नीति बनाउने रहेछ। दल भित्र प्रजातान्त्रिक अभ्यास त खै कतै देखिएकै छैन। ह्विप अरे त्यो त व्यक्तिको सार्वभौमशत्ता विपरित न हो, व्यक्तिको अधिकार तथा स्वविवेक खै? यस्तो मुढेबलको नीति पनि दलले अवलम्बन गर्ने हो? तसर्थ अब प्रभावकारी दूरदृष्टि हुनेलाई मात्र भोट दिने हो।

लोभ, मोह, भ्रष्टाचार, व्यभिचार आदिबाट परै रहेका अनुसाशीत स्वच्छ व्यक्तिलाई
भ्रष्टाचार वा कमिशनतन्त्रबाट देश विग्रेको कुरा त जगजाहेरै छ। मन्त्रीपरिषदले गरेको निर्णयमाथी उजुरसम्म पनि नलाग्ने? यसो भन्नु भनेको त उन्मत्त सांढे हुनुनै हो। प्रजातान्त्रिक युगमा जे जुन कुरामा पनि आवाज उठाउन पाइन्छ, छानविन हुन्छ र सही वा गलतको निक््रयौल गरिन्छ। अब देशबाट अपारदर्शी कृयाकलाप निर्मुल गर्नु छ, सानो वा ठूलो भ्रष्टाचारीलाई कनूनी प्रकृयामा लग्नुनै पर्छ। तसर्थ, आगामी चुनावमा लोभ लालच नभएका, यस अघि कुनै पनि काममा भ्रष्टाचार गरेका वा कहिं कतै व्यभिचारमा नडोविएका स्वच्छछविका अनुसाशीत व्यक्तिलाई चुनेर पढाऔं, ता कि पुन: पांच वर्ष पछुताउन नपरोस्। यो हामी मतदाताकै हातमा मतदानको रुपमा रहेको छ। विवेकशील बनौं।

पुराना दलका पनि राम्रा व्यक्तिलाई
पुराना दलका सहिढंगको राजनीति बुझेका आएमा राम्रै हुन्छ। तर ती दुइपटक पार्टीमा ठुला पदाधिकारी भएका, दुइपटक मन्त्री भइसकेकाहरूले उम्मेदवारी नदिउन्। कारण दुईपटक मौका पाउंदा राम्रो गर्न नसक्नेले हजार मौका पाएपनि केही पनि गर्न सक्दैन। हामीले कुनै पूर्वाग्रह नराखी राम्रा: युवा, गर्न सक्छु भन्ने आंट, जोश, ज्ञान, सीप भएका जुनसुकै दलको हो तापनि व्यक्तिगतरुपमा जिताउंदा उसबाट देशलाई हितनै हुन्छ। हामी मतदाता कुनै पनि पक्ष वा विपक्षमा किन बांडिन पर्‍यो र? देशको हित गर्न सक्ने ठानिएकोलाई मजाले जिताउने हो।

प्रधानमन्त्री, मन्त्री वा पारिश्रमिक लिने पदमा बस्दिन भन्नेलाई
जुन दलले धेरै मत ल्याउंछ, सो दलको नेता प्रधानमन्त्री र अन्य मन्त्रीहरू बन्ने अथवा अन्यान्य अधिकार प्रयोग गर्ने, भत्ता वा सुविधा प्राप्त गर्ने स्थानमा रहने वर्तमान होडबाजीको परिपाठीलाई तोड्नु परेको छ। सांसदको काम देशको हित हेरेर उपयोगी ऐन नियम बनाएर प्रभावकारी कार्यान्वयन गराउने हो र नगर्नेको निगरानी गरेर तिनलाई दण्डित गर्ने हो। प्रधानमन्त्री वा मन्त्रीहरू विज्ञताको आधारमा स्वच्छ छवि भएका, कार्यान्वयन गर्न सक्ने दृढ र निडर व्यक्ति तथा दल वा गुट भन्दा माथि उठेका देश प्रेमी कतै केही खोट नलागेका समाजका आदरणीय व्यक्तिहरू मध्येबाट छानेर बनाउने हो। यसो भएमा विभिन्न हतकण्डा लगाएर सांसद पद हत्याउने र कमाउ पदमा आसिन हुने प्रबृत्ति हराउन जान्छ र स्वच्छ मानिसहरू मात्र सांसदमा चुनिन्छन्। चुनाव खर्चिलो पनि हुंदैन। राम्राले जित्नको लागि तडक भडक गर्दै गर्दैनन्, समाजै अर्को बन्छ।

हिमाल, पहाड मधेशका सिमान्तकृतलाई
नेपालको बनौटनै यति स्वर्णीम छ कि, सोको व्याख्या गरेर सकिन्न। धनुषा जिल्लाको मुखियापटृी मुसहर्नियालाई नेपालको सबभन्दा तल्लो भुभाग मानिएको छ। यो समुद्री सतहबाट ५९ मिटर उचाइमा छ। यति उचाईबाट उचाल्दै नेपालको भूघरातल ८,८४८.८६ मिटर अर्थात् विश्वको सर्बोच्च शीखर ‘सगरमाथा’ के प्रकृतिले नेपाललाई यसै दिएकी होलिन्? यति सानो भूभागमा यत्रो भौगर्भिक तथा भौगोलिक विविधता, फरक फरक प्रकारका पर्यावरण, हावा पानीमा फरक पन, समुदायका अलग अलग रहन सहन आदि सबै के नेपालका उज्ज्वल गहना हैनन् र? चिन्न जान्न र बुझ्नमात्र सक्नु पर्‍यो। विश्व जगतलाई नेपालको बैशिष्ठ्यको बारेमा जाग्रत गराउनु पर्‍यो, संसारका मानिसलाई ल्याएर विविधताको स्वाद चाख्न लगाउन पर्‍यो। यी आदि सबै समावेश गराउनका लागि सांसदमा हिमाल, पहाड तथा मधेशका उपयुक्त सिमान्तकृत व्यक्तिहरूले प्रतिनिधित्व गरुन भन्ने भावना राखौं। राम्रा व्यक्तिहरूलाई सांसदमा उठाउन सहयोगीको भूमिका पनि निर्वाह गरौं। उपयुक्त उहांहरूलाई जिताऔं। हामीले जितौं। नेपाल देशले जितोस् !