धर्म र अध्यात्म २

धर्म र अध्यात्मको सामान्य जानकारी हुन हाम्रो वेदका विषयमा सामान्य जानकारी राख्नुपर्ने हुन्छ । सबैभन्दा पुरानो साहित्य वैदिक साहित्य हो । मानव जीवनको प्राचीन इतिहाससंग जोडिएको छ यो । वेद ज्ञान हो, संविधान हो, नियम हो, कानुन हो, नैतिक नियम, दर्शन, धर्म, कला अनि मानवको संस्कृति र सवस्व नै हो । वेदको पर्याय शब्द भनेका श्रुति, आम्नायत्रयी, आगम, निगम हो । सुनेर तयार भएकाले यो श्रुति हो, लिखितम त पछि मात्रै भएको हो, द्वापरका अन्त्यमा वेदव्यासले लिखित बनाए । मनुको अर्थमा वेद प्राचीन र प्रामाणिक ग्रन्थ हो । धर्म जिज्ञासमानानां प्रमाणं परमंश्रुतिः । अर्थात् धर्मको जिज्ञासा मेटाउने श्रुति हो । वेदोऽखिलो धर्ममूलम् भनिएको छ, यसको अर्थ रहन्छ, धर्मको मूल जरो वेद नै, यो सर्वज्ञानमयो हि सः भनिएको छ, यसको अर्थ सबैको ज्ञानको भण्डार हो यो । चातुर्वण्र्य त्रयोलोकाश्चत्वारश्चाश्रमाः पृथक, भूतं भव्यं भविष्यं च सर्व वेदात् प्रसिध्यति भनिएको छ, यसो भन्नुको अर्थ चार वर्ण, तीन लोक, चार आश्रम, भूत, भविष्य र वर्तमान सबैको ज्ञानका लागि यो प्रसिद्ध छ ।
सायणका शब्दमा इष्टप्राप्त्यनिष्टपरिहारयोर्लाकिकमुपायं यो ग्रन्थो वेदयति सः वेदः । यसको अर्थ होः मानवले अभिष्ट प्राप्ति, अनिष्टको नाश र अलौकिक शक्ति प्राप्तिका लागि तयार भएको ग्रन्थ नै वेद हो, ऋषयोः मन्त्र द्रष्टारः भनिएको छ र हाम्रा सबै प्राचीन ऋषि महर्षिहरु मन्त्र द्रष्टा थिए र वेदको अनुशरण गरे । वेद छन्दोबद्ध छ । वैदिक छन्दमा एक बा दुई अक्षारको घटी बढीमा छन्दलाई असर पर्दैन, एक अक्षर कम हुँदा निवृत्त हुन्छ, एक अक्षर बढी भए भुरिक हुन्छ, २ अक्षर कम भए विराट् हुन्छ र २ बढी भए विराट् विशेषण हुन्छ । गायत्री छन्दमा १ अक्षर कम भए निवृत्त गायत्री हुने २ अक्षर कम भए भुरिक गायत्री छन्द हुन्छ । वेदमा ७ मुख्य छन्द रहेका छन्, ७ अति छन्द छन्, जसमा चार चार अक्षरको संख्या बढी हुन्छ, जगति छन्दमा ४८ अक्षर छन्, ४ अक्षर बढी भएमा अति जगति छन्द हुन्छ । ४,४ अक्षर बढ्दै जाँदा कृति, प्रकृति, आकृति, विकृति, संकृति, अभिकृति, उत्कृति हुन्छ, अन्तिम उत्कृति छन्दमा १०४ अक्षर हुन्छ ।
४ वेद ऋग्, यजु, साम, अथर्व हुन् । यी कुनै छन्दमा छन् कुनै ऋचामा छन्, ऋचाहरुको संकलन ऋग्वेद हो । ऋच्यते स्तूयते यया सा ऋक् इति ऋक्शब्दस्य व्युत्पति । ऋग्वेदले देवार्चन, पूजाको विवेचना गरेको छ, यजुर्वेद गद्य प्रधान छ, यज्ञको विवेचना गरेको छ, तिनै मन्त्रहरु गीत प्रधान हुँदा सामवेद हुन्छ र गायन, संगीतसंग समबद्ध हुन्छ, यिनको समष्टिलाई वेदत्रयी भनिन्छ । ऋग्वेद विशालतम छ, सबैभन्दा ठूलो छ, भाषा र भाव प्रधान छ ।
चार वेदमा ब्रह्मण ग्रन्थ, अरण्यक, उपनिषद् वेदाँग, सुक्त र साहित्य छन् । विराट्पुरुष भगवानबाट पहिले ब्रह्माले सुने, बिस्तारै अरुले । वेद ईश्वरपरक छ, ईश्वर प्रदत्त हो, यो पूर्वीय मत हो पाश्चात्य मत पनि छ, पाश्चात्य मतमा वैदिक साहित्य श्रेष्ठ साहित्य भने म्याक्समुलरले । उनका अनुसार वैदिक साहित्यको आगमन समय १२ सय ई पू देखि ६सय ई पू हो । आर्यहरुको भारतवर्षमा आगमन संगै यसको विकास भएको हो । तर पूर्वीय विद्धान्हरुको मत, ज्योतिष, शतपथ ब्राह्मण सबैको अध्ययन गर्दा ऋग्वेदको रचनाकाल भनेको ६ हजार देखि ४ हजार ई पू को समय हो । ४ वेदका ४ संहिताहरु छन् ऋक्, यजु, साम र अथर्व संहिता । ऋग्वेद संहिता देव स्तुति मन्त्रहरुको संग्रह हो, पद्यात्मक छन्दोबद्ध छ,, यजुर्वेद संहिता यज्ञका लागि हो र गद्यात्मक छ, साम संहिता गीति मन्त्र हो ऋग्वेदबाटै लिइएको हो, सोम यज्ञमा यो विशेष प्रयोग हुन्छ बढी, अथर्व संहितालाई अथर्वाँगिरस पनि भनिन्छ, यसमा २० काण्ड छन्, मानव पाप शुद्धिका लागि विशेष प्रयोग हुन्छ । वैदिक साहित्यका दृष्टिले हेर्दा वेदका मूल ६ थरी छन्, संहितामा, ब्राह्मण ग्रन्थ, आरण्यक ग्रन्थ, उपनिषद् ग्रन्थ, वेदाँग र अनुक्रमणी । ऋक्वेद विभाजन सुक्तमा गरिएको छ, सुक्तको विभाजन मन्त्रमा र ऋचामा गरिएको छ । मण्डल १०, अनुवाक् ८५, सुक्त १०२८ वालखिल्य ११ सुक्त जोड्दा १० हजार ६२७ मन्त्र, ऋचाहरु हुन्छन् । अधिकाँश मन्त्रद्रष्टा ऋषिहरुबाट नै तयार हुन् यी, कुनैमा तिनका पत्नीहरु पनि छन्, जस्तै लोपामुद्रा, अपाला, घोषाहरु । वेद देव प्राधान्य हो, देवतामा अग्नि, ईन्द्र, बरुण, विष्णु, रुद्र, मरुत, पर्जन्य यी वैदिक देवता हुन् । आगो प्रधान अग्नि भए, वर्षा प्रधान इन्द्र भए, वायु प्रधान आदि अरु रहे । ऋग्वेदको दसौँ मण्डलमा दार्शनिक विचार छ, एकोऽहं बहुश्याम भनिएको छ, ईश्वर एक, संसार र नश्वर अनेक यसको अर्थ हो, बहु सृष्टि, विशालतम दर्शन छ यसमा । वेदका बहुअर्थी मन्त्रहरु छन्, साधारणले पनि बुभ्mन सक्ने गरी वेदव्यासले पुनर्संरचना गरे यसलाई, वेद विभाजनको अर्थमा व्यासलाई वेदव्यास भनियो । व्यासले महाभारत, रामायण विभिन्न १८ पुराणको रचना गरे, वाल्मीकि रामायणले पनि सो को पुष्टि गरेको छ ।
वेद, पुराण, उपपुराण र उपनिषद आदि संस्कृति र सभ्यताका रचयिता वेदव्यासजीको जन्म थलो हामै्र नेपाल भूमि हो । पराशर–सत्यवतीको कोखवाट जन्मिएका व्यासजीले वेदको विभाजन गरे । चार वेद विभाजनपछि पांचौ वेद सर्वसुलभ, सवैकालागि महाभारतको रचना पनि गरे । महाभारत संस्कृत भाषामा लेखिएको विश्वसाहित्यको क्षेत्रमा सर्वाेत्कृष्ट रचना हो । एकलाख श्लोकहरु रहेको महाभारतको हाल विभिन्न भाषामा उल्था भई आम जनमानसको लागि अझ सरलीकृत हुंदै आएको छ । हाम्रो संस्कृतिको स्रोत संस्कृत नै हो । यो भाषा कुनै धर्म विशेष, वर्ण विशेष, जाति विशेष होइन, यसमा छुट्टै मिठास छ, वोली एवं प्रस्तुतिमा समेत । संस्कृतका आदिम ग्रन्थहरु अध्ययन गरेर आज संसारमा मानिसहरु उत्कृष्ट विद्धान्, कवि, लेखक साहित्यकार बनेकाछन् । संस्कृत भाषाको संरक्षण संबद्र्धन गर्दा कोही कसैलाई नोक्सान पुग्दैन बरु सबैलाई हित नै हुन्छ । संस्कृतलाई अध्यात्म– विश्लेषकहरुले मृतसंजीवनी पनि भनेकाछन् । यो साच्चै अमृत नै हो । यस भाषाभित्र रहेको अनन्त भन्डारलाई मनन गरेर युरोप, अमेरिकास्थित विश्वविद्यालयहरुमा संस्कृत भाषाको अध्ययन, अध्यापन हुने गरेको छ । अंग्रेजीटोन र संस्कृत भाषाको टोन कैयन् शव्द, स्वरहरुमा मेल खान्छ । विदेशीहरु हजारौंहजार डलर खर्च गरेर यसको अनुसन्धान र संरक्षण गर्दैछन् । जर्मनीमा अहिलेपनि दुई तीन दर्जन विश्वविद्यालयहरुमा संस्कृतको अध्ययन र अनुसन्धान भइरहेको छ । भारतमा झन्डै दुइदर्जन विश्वविद्यालयहरुमा संस्कृतको पठन पाठन हुंदैछ । हाम्रो संस्कतिको मूल स्रोत संस्कृत हाम्रो धरोहर नै हो ।
जीव र जगत्को लागि ज्ञान आबश्यक हुन्छ । त्यसका लागि ब्रह्माजीको ४ मुखवाट क्रमशः पूर्वी मुखवाट ऋग्वेद, दक्षिणमुखवाट यजुर्वेद पश्चिम मुखवाट सामवेद र उत्तरमुखवाट अथर्ववेद आयो । वेदका ऋचाहरु भनौं– मंत्र शक्तिले हिजोआजको यन्त्र शक्तिझंै काम गर्ने भयो भने सामवेद संगीतका लागि भयो । अथववेद मार्फत् अर्थशास्त्र, गणित, तथ्यांक, धनराशि, आयव्यय, हरहिसाव लेखा प्रणालीको व्यवस्थापन हुने भयो । तर लेखाइ, छपाइ जस्ता प्रविधियुक्त नभएकाले ती विषय दिगोे रुपमा राख्न समस्या थियो । भण्डारणको असुविधा, प्रविधिको अभाव, सूचना र संचारको आधुनिकीकरण नहुँदा आफ्ना शिष्यहरुलाई सुनाएर र तिनीहरु मार्फत् भविष्यलाई जोगाइ राख्ने विधि व्यवहार भयो । श्रवण र घोकेर कण्ठस्थ गरेर यसको संरक्षण गर्नु पर्ने भयो । कतिपय मंत्रहरु लोप पनि भए, ब्रह्माजीबाट ब्रह्मवाक्यका रुपमा सुरु भएका वाणीहरु नष्ट नगर्न उहाँंले ४ शिष्य होताहरुलाई जिम्मा दिने बिचार भयो । यो क्रममा कुमारले ब्रह्मावाट ऋग्वेद पाए । अध्वर्यूकुमारले यजुर्वेद लिए भने ऋत्विज शिष्यले सामवेद र मरीचिनामक शिष्यले कण्ठ गरेर अथर्ववेद संरक्षण गरी राख्ने कार्यको जिम्मा लिए ! वेदका साथमा ४ उपवेदहरु पनि रहने भए !
नयाँ अहिले आउनेहरु देश जिम्मालिनेहरुले पशुपतिनाथको ढोग गरेरै काम शुरु गरेको देखिँदा लोप हुन लागेको हाम्रो विषयलाई अलि उज्यालोमा राख्छन् कि झिनो आशा गरौँ ।