नेपालीको चाहना: सङ्क्रमणकालको अन्त्य

२०८२ सालको प्रतिनिधिसभाको निर्वाचनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनमत र जनादेश नेपालको इतिहासमै एक प्रमुख राजनीतिक घटना हुन पुगेको छ। यो अभूतपूर्व सफलता प्राप्त गर्ने मौलिक र तत्कालीन कारणको चर्चा–परिचर्चा हुँदै छ, हुँदै जाला र हुँदै गर्नुपर्छ भन्ने इतिहास दर्शनले पनि भन्छ। त्यतातिर यो लेख उन्मुख छैन। भविष्यमा त्यसतर्फ पनि विचार गर्ने सोच छस हाललाई नेपालको अस्थिर र सङ्क्रमणकालीन राजनीतिमा स्थिरता ल्याउने केही ऐतिहासिक घटनाको स्मरण गर्दै अब नेपालमा सङ्क्रमणकालीन राजनीतिको अन्त्य भई नेपालीले राहत पाउन सकून् भन्ने अपेक्षा नेपालीको छ। जनमतको सम्मान र पालना के–कति र कसरी होला, त्यो त भविष्यले बताउला।

नेपाल गौरवपूर्ण अतीत भएको मुलुक हो। यस देशमा ९,००० वर्षदेखिको मानव बसोबास प्रारम्भ भएको अनुमान गरिएको छ। ’गोपाल राजवंशावली’ अनुसार प्रारम्भमा नेपालमा क्रमश: गोपाल तथा महिषपाल वंशले शासन गरेका थिए। ईसापूर्व ८०० देखि ३०० वर्षसम्म काठमाडौँ खाल्डोमा किराँत वंशको शासन थियो। किरातीलाई पन्छाई लिच्छवीहरूले राज गर्न थाले। यिनै लिच्छविकालीन राजा मानदेवलाई ऐतिहासिक शासक भन्ने गरिन्छ। उनले अरू ससाना सामन्तहरूलाई कज्याई केन्द्रीय शासनमा स्थिरता ल्याए। यसैकारण लिच्छविकालमा सामाजिक, आर्थिक र परराष्ट्र मामिलामा धेरै कार्य र घटना भए। नेपालको प्रामाणिक इतिहास उनै मानदेवकै पालादेखि सुरु हुन्छ। यस अर्थमा नेपालमा राजनीतिक स्थिरता कायम गराउने श्रेय उनैलाई दिने गरिन्छ। जयदेव द्वितीयपश्चात् सबल लिच्छवी वंशको अवसान हुँदै नेपालको तत्कालीन राजनीतिमा अस्थिरता देखापऱ्यो। यो आठौँ शताब्दीको युग थियो। त्यसैले उक्त समयलाई नेपालको इतिहासमा ’अन्धकारको युग’ पनि भन्ने गरिन्छ। यो अस्थिरता निम्त्याउन लिच्छविकालका अन्तिम शासकहरू धेरै हदसम्म उत्तरदायी थिए। लिच्छविकालको अन्त्यपछि नेपालको राजनीतिमा अस्थिरता आउँदा समाजमा अनेकौँ विविधता आउन थाल्यो र त्यसकै कारण सङ्गीन एवं संवेदनशील मामलाहरू सिर्जना भए। यसको निराकरण गर्ने श्रेय जयस्थिति मल्ललाई जान्छ, जसले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न नवीन प्रयोग गरे। उनका यस्ता कार्यलाई ’सुधार’ भन्दा पनि ’सामाजिक र धार्मिक बन्दोबस्त’ भन्नु उपयुक्त होला। उनको यस्ता कार्यको प्रभाव समाजमा दीर्घकालसम्म पर्न गयो र कतिपय चलनले हालसम्म नै निरन्तरता पाएका छन्।

मध्यकालमा काठमाडौँ उपत्यका चित्रकला, वास्तुकला, स्थापत्यकला, साहित्य र व्यापारको क्षेत्रमा ठूलो प्रगति गरी सांस्कृतिक रूपमा वैभवशाली बन्न पुग्यो। जयस्थिति मल्लले उठान गरेका कुराहरूलाई यक्ष मल्ल, प्रताप मल्ल, भूपतीन्द्र मल्ल र सिद्धिनरसिंह मल्ल जस्ता शासकहरूले अगाडि बढाएका थिए। तर सबल मल्ल राज्य विभाजन भई पहिले चार र पछि तीन राज्यमा विभक्त हुँदा, आपसमा अन्त्यहीन कलह, सङ्घर्ष र षड्यन्त्रका कारण सिर्जना भएको अस्थिर राजनीतिले गर्दा गोर्खाले उपत्यकामाथि आधिपत्य जमाउन सक्यो। उता कर्णालीमा स्थापित खस राज्यले ११औँ देखि १४औँ शताब्दीसम्म तत्कालीन समयमा चकचकी गरेको थियो। हिमालय पार र हिन्दुस्तान दुवैतर्फ बन्द–व्यापार फस्टाउँदा सिञ्जा एक व्यापारिक एवं विविध संस्कृतिको धनी क्षेत्र भयो। खस शासकहरूले काठमाडौँसम्म नै धावा बोलेका थिए, तर पछिल्ला खस राजाहरूकै कारण सो विशाल साम्राज्य विखण्डन भई बाइसी र चौबिसी जस्ता टाकुरे राज्य बन्न पुगे।

चौबिसी राज्यमा सबल राज्य मानिएको सेन राज्य पनि कालान्तरमा विभक्त हुँदै ससाना राज्यमा बिलीन हुन पुग्यो। यस प्रकार नेपालमा विभिन्न राजवंशको पतन र राज्यहरूको उत्पत्ति हुनुमा बाह्य आक्रमणभन्दा पनि आपसी मेलमिलापको अभाव र आन्तरिक अस्थिरता मुख्य कारण थिए। सानो राज्य गोर्खाले उपत्यकाको आन्तरिक षड्यन्त्रको फाइदा उठाई विजय हासिल गर्यो। सन् १७४३ देखि १८१४ सम्मको अवधि गोरखालीको विजय अभियानको युग थियो, जसले विस्तृत नव–नेपाल निर्माण गर्यो। तर सन् १८१६ को सुगौली सन्धिबाट नेपाल खुम्चन पुग्यो। पृथ्वीनारायण शाहको अन्तिम समयमा दरबारिया षड्यन्त्रको बिजारोपण भई अनेकौँ काण्डहरू भए।

प्रताप सिंह शाह, राजेन्द्रलक्ष्मी र रणबहादुर शाहसँग बहादुर शाहको मेल–अनमेलको राजनीतिक चाकाचुलीले गर्दा कीर्तिमान सिंह, दामोदर पाण्डे र सर्वजित राना जस्ता भारदारहरू मारिए। रणबहादुर शाहले आफ्नो शासनकालमा गर्न हुने र नहुने सबैजसो कार्य गरे र अन्तत: सन् १८०१ मा आफ्नै भाइ शेरबहादुरद्वारा काटिए। सो हत्याकाण्डपछि भीमसेन थापाले आफ्ना विरोधीहरूलाई निर्ममतापूर्वक दमन गरेर अस्थिर राजनीतिको अन्त्य गरे। उनले सन् १७६८ देखि सुरु भएको दरबारिया षड्यन्त्रलाई अन्त्य गरी स्थिर वातावरण सिर्जना गरे, जसका कारण सामाजिक, आर्थिक, सैनिक र परराष्ट्र मामिलामा धेरै सुधारहरू भए। तर, रानीहरूको महत्त्वाकाङ्क्‌षा र षड्यन्त्रका कारण भीमसेन थापाको अन्त्य भयो र पुन: १८४६ सम्म नेपालमा ठूलो राजनीतिक हलचल मच्चियो।

यस अस्थिरताको बीच जङ्गबहादुरले कोतपर्वमार्फत शक्ति आफ्नो हातमा लिएर १०४ वर्ष लामो राणाहरूको जहानियाँ शासन सुरु गरे। जङ्गबहादुरको अभ्युदय ऐतिहासिक आवश्यकता थियो, जसले मारकाटको राजनीति अन्त्य गरी मुलुकमा स्थिरता ल्यायो। उनको समयमा मुलुकी ऐन जारी, दरबार स्कुल स्थापना र सुगौली सन्धिमा गुमेको तराईका केही भूभाग फिर्ता ल्याउने जस्ता महत्त्वपूर्ण कार्य भए। राणाकालमा पनि सत्ता सङ्घर्षका अनेकौँ पर्वहरू भए तापनि स्थिर राजनीतिक वातावरणले गर्दा चन्द्रशमशेर, जुद्धशमशेर र पद्मशमशेरले मुलुक हितमा कार्य गर्न सके। अन्तत: २००७ सालमा राणा शासनको पतन भयो।
२००७ सालको क्रान्तिपछि राजनीतिमा ’भुइँ मान्छे’ को प्रवेश भयो, तर सङ्क्रमणकालीन अस्थिरता कायम नै रह्यो। २०१५ सालको निर्वाचनमा बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले अभूतपूर्व सफलता पाए तापनि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरे। राजा महेन्द्रको यो कदमले सङ्क्रमण अन्त्य गरी राजनीतिक स्थायित्व ल्यायो, जसबाट शिक्षा, यातायात र भूमिसुधार जस्ता क्षेत्रमा विकास भयो। उनको निधनपछि पुन: अस्थिरता बढ्दै जाँदा २०४६ सालको जनआन्दोलन भयो। २०४७ सालको संविधानपछि पनि दलहरूबीचको कलहले गर्दा स्थायी सरकार हुन सकेन।

माओवादी सशस्त्र द्वन्द्व र दरबार हत्याकाण्डले मुलुकलाई थप तहसनहस बनायो। २०६२र६३ को आन्दोलनपछि राजतन्त्र बिदा भयो र २०७२ मा नयाँ संविधान आयो। तर, राजनीतिक स्थिरताको अपेक्षा विपरीत अन्योल कायमै रह्यो। २०६२र६३ देखि २०८२ सम्म राजनीतिक पार्टीका मठाधीशहरूको सत्तामोहले गर्दा मुलुकमा अनेकौँ बेथिति देखा परे। २०४७ पश्चात् विकसित नेपालको राजनीति २०४६ सालको आन्दोलनको मर्म विपरीत थियो। राजनीतिले अपेक्षित गति लिन नसकेकै कारण माओवादी आन्दोलनले गति लियो र यसको चपेटामा नेपाली जनता नै परेस मुलुक उठ्नै नसक्ने गरी आर्थिक चपेटामा पर्यो। उक्त द्वन्द्वकालमा जनधनको क्षतिको वास्तविक तथ्याङ्क आउन सकेको छैन र आउन सक्ने स्थिति पनि छैन। माओवादी राजनीतिको मूल प्रवाहमा आउँदा पनि मुलुकले राहत पाएन।

उल्लिखित अनेकौँ मौलिक कारण र सामाजिक सञ्जाल बन्द गरेको घोषणा तत्कालीन कारण भई नवयुवा आन्दोलन ९जेन्जी आन्दोलन० भई दुई दिनमै नेपालमा कहिल्यै नभएका घटनाहरू र राजनीतिक परिवर्तन भयो। यो ऐतिहासिक घटनाकै उपज थियो— अन्तरिम सरकार र २०८२ को प्रतिनिधिसभा निर्वाचन। यस निर्वाचनको परिणाम पनि ऐतिहासिक नै भयो। वर्तमान संविधान अनुसारको निर्वाचन पद्धतिबाट बहुमतको सरकार बन्नै नसक्ने अनेकौँ तर्क–वितर्कलाई गलत साबित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले दुई तिहाइ नजिकको बहुमत ल्यायो। नेपाली मतदाताले इतिहासबाट पाठ सिकेर सुझबुझको पहिचान बनाएस जनताले व्यक्ति हेरेनन्, पार्टी हेरे।

राजनीतिक स्थिरता आउँदा मुलुकले गति लिएका अनेकौँ रचनात्मक कार्य हुन सकेका इतिहासका सकारात्मक पक्षबाट शिक्षा लिई मुलुकका समस्याहरू पहिचान गरी सोअनुसार रणनीति अख्तियार गरेर अगाडि बढ्न जनताबाट म्यान्डेट ९जनादेश० राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। यो उनीहरूका लागि अवसर मात्र नभएर चुनौती पनि हो भन्ने हेक्का राखी हिजोको अनुभवबाट पाठ सिकी, विशाल छाती बनाई वर्तमान सरकारले नेपाली जनताको आकाङ्क्‌षामा तुसारापात हुन नदिन सचेत हुनुपर्ने तर्फ हेक्का राख्नु जरुरी छ। जनताको विवेक, भरोसा र अपेक्षाको सम्बोधन गरी “जुन जोगी आए पनि कानै चिरिएका“ भन्ने भाष्य बदल्नैपर्ने दायित्व निर्वाह गर्न सरकार समर्थ बनोस्। सङ्क्रमणकाल सकियोस्स राजनेता र राजनीतिबाट नेपालीहरू अरू पीडित हुने दिन नआउन्। सरकारलाई शुभकामना।