राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपबारे सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति आपत्ति जनाएकी छन्।
सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सामाजिक सञ्जालबाट जवाफ दिनु विधिसम्मत प्रक्रिया र संस्थागत विश्वसनीयतामाथि प्रश्न उठाउने बताइन्। ओलीले आरोपको छानबिन निष्पक्ष रूपमा हुनुपर्ने भन्दै गृहमन्त्रीले तत्काल पदबाट अलग भई स्वतन्त्र अनुसन्धानको सामना गर्नुपर्ने माग गरेकी छन्। निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारीमा फर्कनु उचित हुने उनको भनाइ छ।
उनले गृहमन्त्रीको “पार्टीको निर्णय पालना गर्छु” भन्ने अभिव्यक्तिप्रति पनि टिप्पणी गर्दै राज्य संयन्त्र पार्टी निर्णयबाट नभई कानुनी प्रक्रियाबाट चल्नुपर्नेमा जोड दिएकी छन्।


















