ओलीको दाबी : देश प्रतिगामी बाटोमा जान सक्दैन, एमाले एकतामै केन्द्रित

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश कुनै पनि अवस्थामा प्रतिगामी वा फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रममा बोल्दै उनले फाँसीवादी प्रवृत्तिविरुद्ध सबै सम्भव शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

साथै, त्यस्ता शक्तिसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्ने धारणा राखे। ओलीले हाल पार्टी एकीकरणको आवश्यकता नरहेको स्पष्ट गर्दै एमाले देशव्यापी रूपमा फैलिएको र सुदृढ संगठन भएको बताए। उनका अनुसार पार्टीलाई अझ मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने समय हो, एकीकरण होइन। उनले एमालेको नीति र विचार बोकेर अघि बढ्न चाहनेहरूका लागि ढोका खुला रहेको तर अहिले एकताको चरणमा पार्टी नरहेको बताए। पूर्वप्रधानमन्त्री ओलीले सरकारमा रहँदा विकास र जनहितका लागि उल्लेखनीय काम गरेको दाबी गर्दै आत्मविश्वासका साथ अघि बढ्न नेता-कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै, उनले गत वर्ष भदौ २३/२४ मा भएको घटना आफ्नो कमजोरी नभई षड्यन्त्रकारीहरूको गतिविधि भएको दाबी गरे। सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालित नभएको कारण आफूहरू हमलामा परेको उनको भनाइ थियो। कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, लालबाबु पण्डितलगायत नेताहरूको उपस्थिति रहेको थियो।