स्वागतम् नयाँ वर्ष २०८१

श्री गणेशाय नम:। स जयति सिन्धुरवदनो देवो यत्पादपंकजस्मरणम्। वासरमणिरिव तमसां राशीन्नाशयति विघ्नानाम्।।

वत्सरे कालयुक्ताख्ये सुखिन: सर्वजन्तव:। ततोपि सन्ति सस्यानि प्रचुराणि तथा गदा:।। सिद्धार्थीवत्सरे भूपा: शान्तवैरास्तथा प्रजा:। सकला वसुधा भाति बहुसस्यार्घवृष्टिभि:।।

यो वर्ष वि.सं.२०८१ साल, ६० सम्वत्सर मध्ये पिँगल नामको सम्वत्सर समाप्तिसंगै कालयुक्त नामक संवत्सर शुरु हुने भएको छ । सौरमान अनुसार अर्को साल भने सिद्धार्थी नामको सम्वत्सर हुनेछ । ०८१ सालको भविष्य हेर्दा सबैजसो प्राणीहरुलाई सुख र शान्ति नै मिल्ने देखिन्छ । राज्य, सरकार र शासक बा शासितले खासै नराम्रो झेल्नु पर्ने अबस्था देखिन्न । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा खाद्यान्नको मूल बाली धानको उत्पादनमा सुधार हुनेछ । धान लगायत अन्य बाली पनि राम्रो हुने संकेत मिलेको छ । अनाजले सम्पन्न हुने नसके पनि पृथ्वी तलका प्राणी खासगरी मानिसहरुलाई भोकमरीको खासै समस्या नहोला । किसानहरुले उत्पादनको उचित मूल्य प्राप्त गर्ने छन् । नेपालको सन्दर्भमा कृषि सिँचाइ, उन्नत बीउ, रासायनिक कललगायत कृषि मजदूरको पूर्ववत् समस्या भने रहने देखिन्छ ।

देशभित्र अग्नि भय, शस्त्रप्रकोप, शासकहरुमा विश्वासको संकट पनि यथावत रहने देखिन्छ । यो वर्षका राजा मंगल भएकाले अग्निभय, चोरी, उपद्रवहरु बढ्ने नै देखिन्छ । साथै रोग, महामारी, उल्का, जनधनको क्षति घट्ने देखिँदैन । जलवर्षाको असन्तुलनले कतै अनावृष्टि, खण्डवृष्टि बा अतिवृष्टिको सम्भावना छ । बाढी पहिरो, भूक्षयको समस्यामा सुधार देखिन्न, प्राकृतिक प्रकोपका कारण पनि धन जनको क्षतिमा राजा मंगलकै हात हुने छ ।

यो वर्षको कार्यकारी शक्ति शनिसंग हुनेछ । शनि मन्त्री हुन् र यिनको स्वभाव क्रूर रहनेछ । राजा मंगल र मन्त्री शनिका कारण शासन सत्तामा हानथाप नै हुनेछ । शक्तिको हानाथाप र संघर्ष चलि नै रहनेछ । शनिकै कारण सरकार राजस्व असुलीमा क्रूर बन्नेछ, राज्य ढुकुटीमा संकुचन आउने हुँदा राजस्वका थप मार्गहरुको पहिचान गर्न अनेक प्रयत्न गरिनेछ । जनजीविकाका विषयमा सरकारको ध्यान जानुभन्दा सरकार टिकाउने गिराउने खेलमै अधिक समय खर्चिने छ । मन्त्री शनि हुँदाको श्लोक यस प्रकारको छ:

रविसुते मन्त्रिणि पार्थिवा विनयसंरहिता बहुदु:खदा । न जलदा जलदा जनतापदा जनपदेषु सुखं धनदं क्वचित् ।। यस मानेमा पनि जनताले सुख पाउने स्थिति छैन ।

सस्येश मंगल छन्, पशुधनको क्षति हुनेछ, लम्पी स्किन र त्यस्तै अन्य रोगले उँट, हात्ती, घोडा, गाईभैँसीहरु सताइनेछन्, पशुरोगको प्रकोप नियन्त्रण गर्न धौ धौ पर्नेछ । धान्येश भने चन्द्रमा छन्, अत: अनाजमा केही सहजता हुनेछ, दूध उत्पादनमा वृद्धि, गहुँको उत्पादनमा वृद्धि हुनेछ । मेघेश शनि भएकाले अल्प बा खण्डवृष्टिको अधिक सम्भावना रहनेछ । शनिकै कारण संक्रामक रोग वृद्धि हुनेछ । रसेश वृहस्पति छन् आम जनमानसमा हल्का सुखको अनुभव, प्राज्ञिक जनको कदर, ब्राह्मणहरु केही सुरक्षित महसूस गर्न सक्नेछन् । फलेश शुक्र भएकाले भूमिमा अधिक फलहरुको उत्पादन हुने र फलफूलका कारण अभाव महसूस हुने छैन । धनेश मंगल भएकाले सरसामानको मूल्य चर्को हुने र उपभोक्ताहरु थप मारमा पर्नेछन् ।

दुर्गेश शनि भएकाले सिमानाको सुरक्षामा चुनौती देखिन्छ, न्यायपूर्वक सुरक्षाकर्मी खटाउन समस्या पर्नेछ, आम जनमानसले सुरक्षानुभूति कम मात्रै गर्नेछन्, नेता सुरक्षा नै पहिलो प्राथमिता रहने छ, राज्यको । नागरिकहरु विदेशतिर भौँतारिने क्रम पनि रोकिने छैन ।

सदाझैँ नेपालीहरुका घर आँगनीमा नयाँ वर्षको आरम्भ भएको छ । पिँगल नामको सम्वत्सर सकिएर चैत्र शुक्ल प्रतिपदादेखि भनौँ ०८० चैत्र २७ गते देखि नै कालयुक्त नामको सम्वत्सर शुरु भई विक्रम सम्वत् २०८१ शुरु भएकोे छ । नयाँ वसन्त, नयाँ उत्साह, नवीन वर्षले नयाँ जोस र जाँगर प्राप्त रहोस्, सबै नेपाली स्वदेश वा विदेश जहाँ बसे रहे पनि वर्षभरि नै शुभ रहोस् भन्ने शुभ कामना । श्रीशाके १९४६, श्रीसम्वत् २०८१ कालयुक्त नामक सम्वत्सर, सूर्य उत्तरायण, वसन्तऋतु, चैत्रशुक्ल षष्टी तिथि, मृगशिरा नक्षत्र, शोभन योग, कौलव करण शनिबार, रात्रि २३:३९ प्रवादन कालमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दै चैत्र मास सकिएर वैशाख महिना शुरु भई नयाँ वर्षको आरम्भ हुँदैछ । तिथि, बार, नक्षत्र, योग र करण मिलेर बनेको पन्चाँगको श्रवण मात्रैले पनि गंगास्नानको फल मिल्ने शास्त्रीय मान्यता रहेको छ ।

वर्षमा जम्मा ६० वटा सम्वत्सर हुन्छन्, क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष ५२औँ सम्वत्सर कालयुक्त परेको छ । आउने वर्ष सिद्धार्थी नामको हुनेछ । सृष्टि शुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २५ वर्ष व्यतीत भएको छ । कलि आरम्भको समय भने ५ हजार १ सय २५ वर्ष व्यतीत भएको छ । यो वर्ष इ.सं.२०२४/२०२५ हो भने नेपाल सम्वत् ११४४/४५ हो । यो वर्षको राजा मंगल र मन्त्री शनि हुन् । स्वभावैले यिनले आफ्नो रबाफ देखाउने छन् । खाद्यान्न वितरण प्रणाली अव्यवस्थित हुँदा दूर्भिक्षको सम्भावना विगतझैँ रहने, खाद्य संकट, विदेशबाट आयात गर्नु पर्ने, देशमा आन्तरिक कलह रहने हुन्छ ।

समग्रमा वर्षभरि शुभाशुभ फल मध्यम हुन्छ, वायु प्रदुषण, फोहोर हटाउने विवाद पहिलेकै हो र यसपालि पनि हानथाप नै हुनेछ । नागरिकको स्वास्थ्य समस्या, बलियाको रजाइँ, निर्धाहरुको आत्मग्लानी पनि साविक अनुसारै होला । खासगरी चोर फटाहाहरुको बिगबिगी रहने छ, गाँस, बास कपासको पीडा र रोगसंग लड्ने नागरिक क्षमतामा कमी हुनेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा इन्धन आपूर्तिमा कठिनाइ, राज्य राज्यका बीच फाटो, शासकहरुका बीच मतैक्यताको अभाव, म ठूलो भन्ने अहंपन, फलाम आदि धातुको मूल्यको तीव्र चाप, संसारभरि नै आर्थिक मन्दीको समस्या, आर्थिक वृद्धि दरमा कठिनाइ विविध समस्याहरु रहनेछन्यो,  वर्ष पनि ।

यो वर्ष शनि क्रुर ग्रह वर्षभरि नै कुम्भ राशिमा रहने छन् । अत: कुम्भ राशिलाई वर्षभरि नै मध्य साँढे साती दशा हुनेछ, मीन राशिलाई आद्य र मकर राशिलाई अन्त्य साँढे साती दोष हुनेछ । कर्कट र वृश्चिक राशिलाई अढैया शनि दोष रहने छ । यस्ता दोष भएकालाई भूठा आरोप लाग्ने, शत्रु भय हुने, मनमा चिन्ता हुने, सन्चित धनको नोक्सानी हुने हुन्छ । चोट पटकको डर, काममा ढिलाइ, मान सम्मानमा आघात विभिन्न समस्या हुन सक्छ । आफ्नो जन्म कुण्डलीमा ग्रह उच्च छ, राम्रो स्थानमा बसेको छ, शनि ३, ६ ११ स्थानमा बसेको छ भने शुभ फल दिने हुन्छ । अशुभ फल दिने संकेत भएकाले शनिको विशेष साधना, मन्त्र, जप, पिपलमा जल, गायत्री, दीक्षा मन्त्र, नित्य पान्चायन पूजा, साधना, सूर्य, देवी, गणेश, शिव, विष्णु आदिको विशेष कृपा प्राप्तिका काम गर्नु पर्ने हुन्छ । नित्य उपासना, शरिर शुद्धि, पितृको सेवा, देवताको उपासना, सत्संगबाट मनलाई निर्मल गराउनु पर्ने हुन्छ, यथाशक्य दान पुण्य गर्नु पर्ने हुन्छ ।

समय शुद्धिको हिसावले हेर्दा यो वर्ष वृहस्पति वैशाख २५ गते मंगलबार पश्चिममा अस्ताउने छन् र जेठ १९ गते शनिबार वृहस्पति पूर्वमा उदाउने छन् । शुक्र ग्रह वैशाख १६ मा पूर्वमा अस्त र असार २१ गते पश्चिममा उदाउँछन् । फेरि चैत्र ६ गते बुधबार शुक्र पश्चिममा अस्ताई चैत्र १० गते पूर्वमा उदाउँछन् । वृहस्पति एवं शुक्र अस्त भएका बेला हामीले गरेका काम उनीहरुले नदेख्ने भएकाले नित्य पूजा आजा र नैमित्तक पितृकार्य बाहेक अन्य काम्य कर्म गर्न निषेध छ, फल मिल्दैन । काम्य कर्म भन्नाले नयाँ स्थान, तीर्थ, मन्दिर आदि, नयाँ उद्यानहरुको निर्माण, धाम आदि देवताको दर्शन, गृहारम्भ, प्रवेश, सप्ताह आदि, दीक्षा ग्रहण, व्रत उद्यापन, चूडा कर्म, ब्रतबन्ध, विवाह, वधु प्रवेश, महादान, उपाकर्म आदि पर्दछन् ।

नयाँ वर्ष आरम्भ हुँदा यो युगको समय ४ लाख ३२ हजार वर्ष मध्ये जम्मा ५ हजार १ सय २५ वर्षमा प्रवेश हुनेछ भने सृष्टिको क्रम भने १ अर्व ९५ करोड ५८ लाख ८५ हजार १ सय २३ वर्षमा हुनेछ । उत्पादनको कमी छ, केही निर्यातको वृद्धि देखिए पनि आफ्नो बस्तु होइन, आयातको वृद्धिले पहिलेझैँ व्यापार घाटामा सुधार भएन, बरु थपियो, विप्रेषणले केही मुद्रा सन्चिति देखिए पनि बैँक, वित्तीय संस्थाप्रति आम जनाधारणा सकारात्मक छैन । शनि प्रभावबाट बच्न भने ॐ शनैश्चराय नम: १०८ मन्त्र जप्दै पिपलमा पानी हाल्दा पनि हुन्छ । श्री गणेशको सेवा त सधैँ गर्नुपर्छ, नयाँ वर्षमा झन् गर्नै पर्छ ।

स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि बस्तुहरुको दानले तन, मन, धन सवै पवित्र बन्छ । बैशाखमा जल र अन्नदानको महत्व बढी छ भने तप र पूजाको अधिक महत्व छ । स्नानले मात्रै पनि यी फल प्राप्त हुन्छन् । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्कामभावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने वैशाख स्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् । कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन ।

पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरुले पुष्टि गरेका छन् । विभिन्न क्षेत्रहरुमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्धापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानवजीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्धापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो । सबैलाई शुभकामना, ईश्वरले सबैको दया गरुन्, कल्याण गरुन्, टाउको कसैको नदुखोस्, ठेस नलागोस्, अस्तु परिपूर्णंम् ।