राजसंस्था पुन:स्थापनाको नारासँग किन त्रसित छन् ओली ?

पछिल्लो समय विस्थापित राजसंस्था र राजा ज्ञानेन्द्र विरुद्ध सबैभन्दा बढी विष बमन गर्नेमा एमाले अध्यक्ष खड्गप्रसाद ओली पर्दछन् । ओली हरेक भाषणमा राजा ज्ञानेन्द्रको खिसिट्युरी गर्ने मात्रै होइन कि राजसंस्था पुन:स्थापनालाई मसानघाटबाट नलीहाड जगाउने प्रयास भन्ने गर्दछन् । राजसंस्था पुनस्थापनाको शुभेच्छा राख्नेहरुदेखि त्यसका लागि अभियान चलाउने वा त्यस्तो राजनीतिक विचार वा नारा बोक्नेहरुलाई ओली दास भन्ने गर्दछन् ।

बैशाख ८ गतेदेखि ललितपुरको गोदावरीमा शुरु भएको एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि ओलीले राजसंस्था पुनस्थापनको विषयमा चर्चा गरेका छन् । ओलीले प्रतिवेदनमा राजा कुनै हालतमा नफर्कने ठोकुवा गर्दै त्यस्तो प्रयासलाई विफल बनाउन आफ्ना कार्यकर्तालाई सचेत समेत बनाएका छन् ।

ओलीले नकारात्मक रुपमै वा पुन:स्थापनाको संभावना नै छैन भन्ने भाषा प्रयोग गरे पनि राजनीतिक प्रतिवेदनमै राजसंस्था पुन:स्थापनाको विषयको चर्चा गर्नुले देशमा यो विचार जबर्जस्त रुपमा आईरहेको छ भन्ने पुष्टि गर्दछ । कुनै विषयको डर वा संभावना नै छैन भने त्यस्तो विषयमाथि चर्चा र टिप्पणी समेत गरिंदैन । तर ओलीले त राजनीतिक प्रतिवेदनमै बकाइदा उल्लेख गर्ने र कार्यकर्तालाई राजसंस्था पुन:स्थापनाको प्रयासलाई विफल बनाउनु पर्छ भनेर सचेत बनाउनुले उनको पार्टी पंक्तिमै यो विषय उठेकाले ओलीले त्यसलाई सम्बोधन गर्न खोजेका हुन भन्ने प्रष्ट हुन्छ ।

ओलीले देश अब कुनै ब्यक्ति वा परिवारलाई थपना मानेर बस्दैन भन्दै गर्दा उनी आफैं भने राजा भन्दा माथि मै हुँ भन्ने तरिकाले प्रस्तुत हुने गर्दछन् । उनीभित्रको दम्भ बोलीमा मात्रै होइन व्यवहारमा पनि उसैगरी प्रकट हुने गरेको छ । ओली आफ्नै नाममा प्रतिष्ठान स्थापना गराउँछन् र त्यसको उद्घाटन आफैं गर्दछन् । केपी ओली कप फूटबल प्रतियोगित र केपी ओली कप क्रिकेट प्रतियोगित गराउँछन् र त्यसको उद्घाट्न र पुरस्कार वितरण आफैं गर्छन् । बरु राजसंस्था हुँदा जिवित राजाको नाममा विद्यालयस्तरीय एउटा शिल्ड प्रतियोगिता हुने गर्दथ्यो । तर ओलीका नाममा आधा दर्जन पुरस्कार स्थापित छन् ।

नियुक्तिहरु र लाभका पदमा ओलीले आफू निकट बाहेक कसैलाई ढिम्किन दिंदैनन् भन्ने पछिल्लो उदाहरण राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित हुने कोटामा साली पर्ने अञ्जान शाक्यलाई नियुक्ति दिलाएबाट पुष्टि हुन्छ । साली पर्नेका लागि त ओली पटक पटक लाभका पद दिलाउँछन् भने उनका सन्तान हुन्थे भने के के गर्थे होला ? भन्ने प्रश्न आम रुपमा उठेको छ । ब्यक्तिवादी सोंचको यति विघ्न मोह भएका ओली चाहीँ राजसंस्थालाई कुनै ब्यक्ति वा परिवारको थपनाको रुपमा अपब्याख्या गर्ने गर्दछन् ।

ओलीको प्रहार राजकीय अस्तित्व वा शक्तिमा नरहेको राजसंस्थाप्रति मात्रै छैन, ओली हिन्दूराष्ट्रको मागप्रति पनि उत्तिकै आक्रोश पोख्ने गरिरहेका छन् । पशुपतिनाथमा जलहरी राखेको नाटक पनि गर्ने र बेला बखत मन्दिरहरुमा पुगेर रुद्राक्षको माला पनि भिर्ने तर हिन्दूराष्ट्रको पक्षमा लाग्नेहरुलाई खिसिट्युरी गर्ने उनको चरित्र देखिएको छ ।

ओलीमा बढ्दो यो छटपटीले अबको राजनीतिक कोर्स हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापनातर्फ केन्द्रीत हुन्छ भन्ने देखाउँछ । ओली मात्रै होइन, १२ बूँदे दिल्ली सम्झौताका पक्षधर र नयाँ शक्ति भनिने रवि लामिछानेको समूहसम्म यो त्रासबाट ग्रस्त छन् र उनीहरु एकजूट पनि छन् । तर नेपाली जनता जसरी यी दुई विषयप्रति खुल्दै आएका छन् त्यसले यिनीहरुको बेचैनी बढाउने पक्का छ ।

२०६२/०६३ को आन्दोलनताका यिनै ओलीले गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका जाने कल्पना जस्तै हो भन्दाभन्दै गणतन्त्र आएथ्यो भने अहिले उनैले पुन:स्थापनाको संभावना नै छैन भनेर ठोकुवा गर्दैगर्दा ओलीहरुले चक्मा खाने दिन आउन बेर छैन ।