यसपालिको आमाको मुख हेर्ने पर्व भनौँ मातृ औँसी यही ०८१ वैशाख २६ गते परेको छ । यसै पर्वका बारे संक्षिप्त चर्चा गर्ने यो लेखको उद्धेश्य रहेको छ । माता भन्नु धर्ती, धरणी वा पृथ्वी हो जुन स्वर्गभन्दा प्यारो हुन्छ । त्रेता युगमा भगवान श्रीरामले लँका विजय गरेपछि भाइ लक्ष्मणले स्वणपुरी लंकामै बस्न अनुरोध गर्दा जवाफमा श्रीरामले भन्नु भएको थियो अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि ।। अर्थात् भाइ लक्ष्मण सुनको लंका भए पनि मलाई मेरै जन्म भूमि प्यारो छ ।
असल संस्कार, शिक्षा, संस्कृति र सभ्यताको परिचय दिँदा सर्वप्रथम देशप्रेमको भावना सिकाइन्छ । व्यक्ति नैतिक र चारित्रिक हुन स्वदेशप्रिय हुनैपर्छ । जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पवित्र मानिएको छ । पृथ्वी सबै प्राणी जगत्की आमा हुन् । प्राणाीका लागि आवश्यक जल, अन्न सबै धर्तीबाटै प्राप्त हुने गर्छ । सबै शक्तिभन्दा अक्षुण्ण शक्तिका रुपमा सर्वेश्वरी धर्तीलाई शास्त्रकारहरुले मानेका छन् । धार्मिक कृत्यमा सर्वप्रथम त्वमेव माता भनेर प्रार्थना, पुकार गरिन्छ । जन्म दिएर, स्तनपान गराएर, पहिलो शिक्षा दिएर आमाले सन्ततिलाई पहिलो आश्रय दिएकी हुन्छिन्, त्यस्तै धरणी, धर्ती, पृथ्वी माताले सबै प्राणीप्रति दया र उदार स्वभाव व्यवहारत: प्रदर्शित गरेकी हुन्छिन् । पृथ्वीको अर्को नाम सबैलाई धारणा गर्ने हुँदा धरा पनि भन्ने गरिन्छ । धर्तीको संस्मरण, जन्मदिने आमाप्रति देखाउने सदावहार सद्भावको अर्को नाम हो मातृऔँसी : आमाको मुख हेर्ने दिन बैशाख कृष्ण औँसी ।
आमाको मुख हेर्ने औँसीले प्रतीकात्मक रुपमा मातृस्नेह नै दर्शाउंछ । टाढा रहेका सन्ततिहरुले वर्षमा एक पटक भए पनि आमालाई मनपर्ने खाना, बस्त्र, उपहार, दक्षिणा दिएर आशीर्वाद लेऊन् भन्ने यस पर्वको मान्यता हो । जीवित आमा नहुनेहरुले यस दिन जलदान, पिण्डदान, सीदादान, गर्ने गर्छन् । मृत आमाहरुको संझनामा स्नेहभाव प्रकट गर्न अनेक तीर्थ, धाम क्षेत्रमा जाने पनि चलन छ ।
कविता, आमाको विरह
आजको मध्याह्नसूर्यास्त भएको बेला, निस्पट्ट अँध्यारो
जल्दै थिए दनादन अँगहरु क्रमश:, आगोको लप्का आफ्नै
हातको,
दसमास गर्भको र दूधको नाता, अपत्यारिलो आगो, सम्झिँदै थिएँ म,
होइन, उडायो हाँसो सबै हुरीले, चकमन्न अँध्यारो त्यो औँसीको रात
उनैलाई नै माया गर्ने दिनआज, कालो धूवाँ हुरहुर्ती माथितिर,
वेट् इन लिष्टमा नपरेको भए, सायद दिउँसै विछोड हुन्थ्यो आर्यघाट,
चकमन्न संसार, आफन्तको भीड, कसैसंग बोल्ने इच्छा छैन,
भिडको अर्थ नै के छ र कोरोनामा, शून्यताको यो संसार, टल्पलाउँदो आँखा,
आफैले पिएका धाराहरु हेरिरहन्छु म, चित्रोको कोक्रोमा लट्पटिएको म,
अझै लर्बराउँछन् पदचापहरु,आफैलेउदाएको संसार, अस्तु बन्दैछ आज,
निठूरी काल, निर्दयी दैव, उजाड छ छाती, दनादन लप्कादिँदैछ आगो, थपिँदैछ नौनीहरु,
निठुरी घाटेहरु, व्यवसायी बन्दै, अर्को पाउने हतारो, क्षणभर नकुर्ने यमदूतहरु,
लालित्य पटक्कै छैन ओठमा, शुष्क छ घाँटी, असरल्ल मिनरल वाटर, माला र चर्को स्वर,
लिनूस् पानी लिनूस् माला लिनूस्, कति मुस्कान छ तिनको अनुहारमा,
निठूरी काल, मुस्कानै नदिने अनुहार, कहाँ छ लालित्य, सोद्धै नसोध कहाँ दुख्छ घाउ,
आँसु नै आँसुको दहमा पौडँदै विछोडको संसारलाई, काखी च्यापेर एक्लै फर्कन्छु म,
बाँकी रहेन नाता, अब त प्रमाणित गर्नु पर्छ रे, शताब्दीदेखिको मुस्कान उडायो सबै हूरीले,
लामो यात्रा, लत्रिएका खालि पाइलाहरु, परिवर्तन थियो शैलि दुई वर्षदेखि नै,
तर रबाफओइलिएको थिएन पटक्कै,सम्वादनभएको त जम्मा एक रात,
त्यो औँसी मातृ औँसी, चन्द्रले रश्मि नदिएको औँसी,
सपनामा सिमित औँसी, सम्झनामा सिमित औँसी,
थानकोटको शालिकमा ठडिएको औँसी, भन्थे वसन्तमा फुल फक्रन्छ,
तर झुठ सबै झुठ, फुलेन फुल
वसन्त फर्कियो शिशिरतिर, उजाड संसार,
अभिभावक गुमेका ती दिनहरु, ढल्दैछन् आज पनि, लत्रँदैछन् पाइलाहरु,
सकिनसकी हिँड्दैछु आजसम्म लखतरान भएर, सवारी खोसिएको त्यो दिनलाई सम्झँदै,
औँसी त फेरि आएछ, तर, तर हाँसो नलिई केवल आँसु पिलाउने गरी ।
काठमाडौँ उपत्यकाको थानकोट नजिक मातातीर्थ कुण्डमा यसदिन विशेष मेला लाग्ने गर्दछ । कपाल मुण्डन गर्ने, श्राद्धादि कार्य गर्ने चलन त्यहाँ रहेको छ । मृत आमाहरुलाई यसदिन यसै कुण्डमा दर्शन मिल्छ भन्ने परम्परा रहेको पनि छ । साना ठूला दुई पोखरी रहेको त्यो कुण्डमा पहिले ठूलो चौर थियो । गाई गोठालाहरुले त्यहाँ गाई बस्तु चराउने गर्थे । यस्तो गर्दा गर्दै आफ्नो आखानेकुरा खाजा हराउन थालेछ । पछि के भएको होला भन्दाभन्दै धेरै मानिस, अभिभावकहरुले पनि साविकदेखि नै यहाँ गोठालाहरुका खाजा हराउने गरेको कुरामा बिश्वास गरेछन् । गाउँंलेहरु मिलेर त्यस क्षेत्रमा खनेर कुण्ड बनाएछन् । यसरी माता थीर्थ कुण्ड नामले प्रसिद्धि पाएछ त्यो स्थानले । ठूलो पोखरीमा स्नान गर्ने सानोचाहिँमा मृतआमाहरुको मुख हेर्ने चलन चलेछ । यो अद्यापि छंदैछ । केही वर्षदेखि त त्यहाँ आमाको मूर्ति बनाएर सजाइएको छ । पूर्वीय दर्शनको प्रारंभिक शास्त्र ऋग्वेदले अन्न उब्जाएर प्राणी रक्षा गर्ने, बस्त्रादिको कच्चापदार्थ उब्जाएर प्राणीहरुको पृष्ठ पोषण गर्ने शरीर ढाक्ने कार्यमा संरक्षण गर्ने धर्तीलाई पहिलो पूजा गर्नु पर्ने मान्यता राखेको छ । अग्निमा आहुती दिँदा सर्वप्रथम भू.स्वाहा भनिन्छ । मानिसहरुले अन्न ग्रहण गर्दा सर्वप्रथम भूदेवीलाई अर्पण गरेर मात्र गर्छन् । आधुनिक विज्ञानले धर्तीलाई प्रयोगशालाको रुपमा लिएको छ । धर्तीमा उत्खनन् भएका सारा पदार्थहरुको प्रयोग गरी विज्ञान जगत्ले चमत्कारपूर्ण प्रदर्शन गरेको छ । अथर्व वेदले भूमिलाई आमा र अन्य सबै जीवात्माहरुलाई सन्ततिका रुपमा हेरेको छ । रामायण जस्तो रसिलो काव्यले मातृ भावलाई जीवन्त बनाएको छ । रचनाकार वाल्मीकिदेखि सन्त तुलसीदास सम्मले मातृभावको खुलेर चर्चा गरेका छन् । रघु कुलका राघव विश्वका संरक्षक आदर्श पुरुष श्रीरामले जन्मलिएको कौशल्याको गर्भलाई सम्पूर्ण ब्रह्माण्डको पूर्व दिशा बनाएका छन् । ज्ञान, कर्म र उपासनाकी प्रतिमूर्ति कौशल्या, कैकेयी एवं सुमित्राका गर्भबाट ४ वेदस्वरुप चार भाइको जन्म भएको र यसलाई सम्पूर्ण धर्तीमा ४ दिशा भनी मानिएको छ ।
महाभारतमा माता कुन्तीलाई मातृ स्नेहको खरो उदाहरणको रुपमा स्पष्ट पारिएको छ । पूर्वीय वाङ्गमयमा मातृचर्चा सबैजसो स्थानमा भएकै पाइन्छ । जन्मदिने आमाको आशीर्वादले मानिसहरु जस्तोसुकै बिषम परिस्थितिबाट सहजै पार पाउन सक्ने हुन्छन् । शास्त्रले आमालाई तीर्थको रुपमा स्विकारेको छ । आमाप्रतिको उदारभाव भनेको तीर्थसेवा हो भनिएको छ । जीवित आमालाई हरतरहले खुसी, सुखी पार्ने सन्ततिको वाक्सिद्धि हुने कुरा शास्त्रहरुले वर्णन गरेका छन् । आमाको संरक्षण गर्ने व्यक्तिले टाढा टाढाको तीर्थ सेवा गरिराख्नु पर्दैन भनिएको छ । आमालाई सदैव वन्दना, प्रार्थना त गर्नु पर्छ नै, वृद्ध आमा बाबुको सेवा गर्ने श्रवणकुमार चरित्र पनि पठनीय छ, मननीय पनि ।


















