निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जनता समाजवादी)लाई मान्यता दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल त्यागेर राई नेतृत्वको नयाँ दललाई दर्ता गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए ।
राईसहित प्रतिनिधिसभाका सात जना सांसदहरूले नयाँ दर्ताका लागि हिजो आइतबार आयोगमा निवेदन दिएका थिए । सहायक प्रवक्ता पाण्डेयका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधान पालना गर्ने सर्तमा उक्त दल दर्ता गरिएको हो ।
सहायक प्रवक्ता पाण्डेयका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ । साथै, आयोगले यो अभिलेखको विवरण संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि पठाउने निर्णय गरेको छ ।


















