सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका सीबी लामा जेल चलान

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो ।

सीबीलाई १८ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । काभ्रे तेमाल गाउँपालिका-५ घर भएका ४९ वर्षीय लामा ललितपुर बालकुमारीस्थित वेस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए । २० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब आठ अर्ब रकम अपचलन गरेको र सहकारीको रकम अपचलन गरी व्यक्तिगत घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ ।