सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संसदीय छानबिन समितिले प्रष्ट शब्दमा कारबाही सिफारिस गरेको छ । कारबाही चाहिँ प्रचलित कानुनअनुसार गर्नु भनिएको छ । उनले गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईले विभिन्न सहकारीबाट गैरकानुनीरुपमा ल्याएको बचतकर्ताको रकम अपचलन (दुरुपयोग) गरेको समितिको ठहर छ ।
तर, समिति सदस्यसमेत रहेका रास्वपा सांसद शिशिर खनालको गलत जिकिर छ । उनका अनुसार सभापति रविले ‘क्लिन चिट’ अर्थात् सफाइ पाएका छन् ।मङ्गलबारदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी राष्ट्रिय भेलामा सांसद खनालले लामिछाने मुछिएको सहकारी बचत अपचलन प्रकरणमा सोही गलत जिकिरलाई दोहोर्याए । त्यस क्रममा उनले एउटा टुक्काको सहारा लिए । ‘पहिला काँक्रो चोर तँ होस् भनेर आरोप लगाइयो । तर, काँक्रो अरूले नै चोरेको रहेछ । ल्याइएको काँक्रो अरूले काटेपछि तैले पनि एक टुक्रा खाइछस् भन्नु कति न्यायोचित हो ? प्रचारचाहिँ यही रूपमा गराइँदै छ ।’
यहाँ सांसद खनालले लामिछानेलाई जिबीले विभिन्न सहकारीबाट ल्याएको रकम खर्च गरेकै भरमा ठगी गरेको भन्न नहुने जिकिर गरेका हुन् । यसपछि उनले देशभरबाट भेलामा आएका प्रतिनिधिलाई सभापति लामिछाने सहकारी ठग होइन भनेर गर्वका साथ बोल्न आग्रह गरे ।
यसपछि रास्वपाको भेलामा खुसियाली छायो । नेता कार्यकर्ताहरू निकै उत्साहित भए । सभापति लामिछानेलाई फसाउन खोजिएको तर समितिको प्रतिवेदनले सत्यतथ्य बाहिर ल्याएको भन्दै कार्यकर्ताहरूले खुसियाली मनाए । जबकि, सांसद खनाल सहकारी प्रतिवेदनका एक जना हस्ताक्षरकर्ता हुन् । उनीसमेतले हस्ताक्षर गरेको प्रतिवेदनले भने उनले भनेजस्तो लामिछानेले सफाइ पाएका छैनन् । ठीक उल्टो प्रचलित कानुनअनुसार लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ ।
त्यहाँ भनिएको छ, सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू जीबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’
कर्पोरेट कानुनका विज्ञ रमण कर्णले सांसद खनालले नेता कार्यकर्तामा भ्रम छरिरहेको बताए । संसदीय समितिको प्रतिवेदनले नामै किटेर बचत अपचलन कसुर गरेकोमा प्रष्ट शब्दमा कारबाही सिफारिस गर्दा पनि लामिछानेले सहकारीको बचत अपचलनमा सफाइ पाए भन्नु गैरजिम्मेवार र आफूअनुकूल व्याख्या भएको बताए । सानन्यूजसँग उनले भने, ‘कार्यकर्तामा हौसला जगाउने उहाँको रणनीति होला तर समितिको प्रतिवेदनको मूल अंशलाई अपव्याख्या गरेर भ्रम छरिदिनु सर्वथा गलत हो र त्यो गैरजिम्मेवार अभिव्यक्ति पनि हो ।’
संसदीय छानबिन समितिका संयोजक रहेका एमाले सांसद सूर्यबहादुर थापाले बुधबार बिहान एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै रास्वपा सांसद खनालको गलत जिकिर खारेज गरिदिएका छन् । उनले प्रश्न गरे, ‘बचत अपचलनमा कारबाही गर भनेर सिफारिस गर्नुको अंग्रेजी अनुवाद क्लिन चिट भन्ने हुन्छ ?’ थापाको यो भनाइले पनि लामिछाने सहकारीको बचत अपचलनमा निर्दोष ठहरिएका होइनन् । अर्थात् उनले सफाइ पाएका होइनन् ।
यति हुँदाहुँदै पनि रास्वपामा सांसद खनालले गलत भाष्य स्थापित गरेका छन्, जसले रास्वपा सभापति लामिछाने उत्साहित छन् । उनले जारी राष्ट्रिय भेलामा जुरुक्क उठेर कार्यकर्तालाई अभिवादन गर्दा हलमा सुनियो, ‘रवि दाइ, हाइ हाइ ।’ यसपछि भेलामा मधेस प्रदेशको प्रतिवेदन पेस गर्दै मधेसका सभपाति तपेश्वर यादवले लामिछानेलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सपनाबाहेक आफूसँग थप इच्छा, चाहना नभएको घोषणा गरे । यादवको भाषणले लामिछाने झनै प्रफुल्लित देखिए । उनको अनुहारमा पूरै चमक देखियो ।
यसपछि गण्डकी प्रदेश सभापति राजन गौतमले लामिछानेलाई प्रधानमन्त्री बनाउने र देशको मुहार फेरिएको हेर्नेबाहेक केही चाहना नभएको बताए । उनले भने, ‘रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ । बरु म चुनाव लड्दिनँ ।’लुम्बिनी प्रदेश सभापति देवराज पाठकले त लामिछानेलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने घोषणा गरे । निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदनले पार्टीमा आकर्षण घटेको र पार्टी नेताहरूले जनताको पक्षमा काम गर्न नसकेको दाबी गरेको अवस्थाबीच पाठकले लामिछानेलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने प्रतिज्ञा गरेका हुन् ।
प्रदेश सभापतिहरूको हौसलापूर्ण अभिव्यक्ति र माहोलले लामिछाने जोसिए । उनले बाहिरको प्रहार खेपिरहेको र पार्टीभित्रैबाट चाहिँ प्रहार नगर्न आग्रह गरे । ‘बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौँ । भित्रबाट प्रहार नगर्नुस् । हामी लड्यौँ भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ,’ लामिछानेको भनाइ थियो ।
उनले आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको दाबी गरे । अब भने गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताए । उनले कांग्रेस महामन्त्री गगनकुमार थापा लक्षित अभिव्यक्ति पनि दिए । उनले भने, ‘म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुपर्यो नि । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ । मेरो पनि प्रणाम छ उहाँलाई,’ ।
तर, कर्पोरेट कानुका विज्ञ कर्णका अनुसार भने लामिछानेले सहकारी ऐन २०७४ र कम्पनी ऐन २०६३ विरुद्धको कसुर गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले औँल्याएकाले उनीविरुद्ध सोहीअनुसार कैद र जरिवाना हुन्छ । किर्ते, ठगी र सम्पत्ति शुुद्धीकरणसम्बन्धी कानुन पनि लामिछानेको हकमा आकर्षित हुन्छ । उनले संसदीय छानबिन समितिले बुुझाएको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । उनका अनुसार सरकारले प्रचलित कानुनअनुसार कारबाही गरेको अवस्थामा लामिछानेको सांसद पद निलम्बनमा पर्नेछ । अझ अदालतबाट पनि दोषी ठहर भए उनको सांसद पद गुम्ने छ ।


















