सत्ता गठबन्धनमा भुईंचालो

यतिबेला गठबन्धनभित्र खटपट हुन थालेको र चाँडै सरकार ढल्ने हल्ला चल्न थालेको छ । सत्ता गठबन्धनले नै ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै असन्तुष्टि देखाउनु, नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरूको बैठकमा सहभागी हुनु आदि कारणले सत्ता गठबन्धनमा भुईंचालो आउने सुनिश्चित जस्तै देखिएको छ ।

हुनत, ओलीले एमाले संसदीय दलको बैठकमा अर्थमन्त्रीले परामर्श नगरी बजेट ल्याएको बताए पनि उता संसद्मा बजेटबारे बोल्दै एमाले सांसद्हरूले सो बजेट पारित गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । सत्तारूढ दलका नेताहरूले बाहिर हल्ला भए जस्तो गठबन्धनभित्र खटपट नभएको दाबीसमेत गरेका छन् । तर सत्तागठबन्धनका नेताले सरकारलाई अड्याइराखेको सत्तागठबन्धन भित्रका अन्य दलका नेताहरुको आलोचना गर्नु अर्थात ओलीले सत्ता गठबन्धनभित्रकै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठप्रति कटाक्ष गर्दै असन्तुष्टि जनाउनु अहिलेको सरकारको आयु छोटो हुनुको संकेत गर्छ ।

गत साता नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका नेताहरूको बैठकमा सहभागी भएका थिए । त्यसले गठबन्धनभित्र शङ्का उत्पन्न गराएको भन्ने खालका विवरणहरू बाहिर आएका थिए । तर, नेपालले विपक्षी नेताहरूलाई भेट्दैमा कसैले आत्तिनुपर्ने आवश्यकता नभएको र आफूहरु एउटा महत्वपूर्ण घटक भएकोले उक्त बैठकमा सहभागी भएको बताएका थिए ।

जे होस, यतिबेला प्रमुख दलका नेताहरुको बारम्बार भेटघाट, बजेटप्रति सत्ता पक्षकै नेताहरुको असन्तुष्टि, सत्ता पक्ष नै प्रतिपक्षको बैठकमा सहभागी हुनु अर्थात भेटघाट गर्नु लगायतका पछिल्ला गतिविधि हेर्दा सत्ता गठबन्धनभित्र केही न केही खटपट हुनसक्ने कतिपयको विश्लेषण छ ।

सत्तापक्षका केही नेताले यो सहकार्य(सत्ता गठबन्धन)लाई कुनै पनि कुराले असर गर्दैन वा लामो समय टिक्छ भने पनि केही नेता अर्थात विशेष गरी ओलीका पछिल्ला अभिव्यक्तिले त्यस्तो संकेत भने गरेको देखिदैन ।

अर्कोतिर, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको बचत अपचलनसम्बन्धमा दोषी ठहर देखिएमा वा सहकारीपीडितहरुले न्याय पाउने निश्चित भयो भने रविको गृहमन्त्री पद खुस्किन्छ र उनको २१ सिटे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन्छ । रास्वपाभित्र पनि मतभेद सुरु भइसकको छ, अन्तत यो मदभेदले पनि सत्तागठबन्धन भताभुङ्ग हुन्छ ।