राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृह प्रशासनप्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताएका छन् । पार्टी सभापति रवि लामिछानेसँग मधेसका रास्वपाका सांसदहरूले भेटेपछि पत्रकारलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुधन गुरुङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै भने, ‘सडकबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर छ । गृहमन्त्री आफैं आन्दोलन बुझ्नु भएको मान्छे हो । उहाँ आफैं पीडितसँग रोएको मान्छे हो ।’
पछिल्लो घटनाक्रमको निराकरण गर्नसक्ने अपेक्षा पनि उनले राखेका छन् । सुनसरी घटनामा राज्यको तदरुकता पर्याप्त नभएको रास्वपा पूर्व प्रवक्ता झाको ठहर छ । ‘राज्यको सक्रियता तदारुकता जति हुनुपर्थ्यो । त्यति नभएको हो कि । मृतकको परिवारले सान्तवना र क्षतिपूर्ति पाउनुपर्ने । त्यसमा कमी भएको देखिन्छ,’झाले भने ।
सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको झाले बताए । धनुषा ३ का सांसद रहेका झाले भने, ‘आज जनकपुर सुरक्षित देखिँदैन । सबै पसलहरू बन्द छ । बजारहरू बन्द छ । चोक चोकमा मान्छेहरूले टायर बालेर विरोध जनाइरहेका छन् । अलि अप्ठ्यारो परिस्थिति देखिरहेको छु ।’


















