पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीलगायतका क्षेत्रमा पछिल्लो समय देखिएका द्वन्द्व र विवादप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयमित रहन आग्रह गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा उनले सुनसरीमा भएको घटनाबाट भएको जनधनको क्षति र त्यसको प्रभाव कोशी क्षेत्र तथा तराईका अन्य भागमा फैलिएकोप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यही विविधता नै राष्ट्रिय पहिचान र गौरव भएको उल्लेख गर्दै उनले सामाजिक सद्भाव र आपसी एकता कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।
नेपाली समाजको मौलिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि घटना चिन्ताको विषय भएको भन्दै पूर्वराजाले सबै नेपालीलाई मिलेर अघि बढ्न आग्रह गरेका छन्।


















