असोज २० देखि ७५३ पालिकामा रास्वपाको अभियान, चुनावसँगै सरकारका कामको हिसाब सुनाउने

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशव्यापी पालिका केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका सांसद र केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिका पुग्ने पार्टीकी सहमहामन्त्री निशा डाँगीले जानकारी दिएकी छन्। डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका गुनासा र सुझाव सुन्नेमात्र नभई पार्टीले अघि सारेका योजना, स्थानीय तहमा उम्मेदवार छनोटको प्रक्रिया तथा सरकारका पछिल्ला कामबारे नागरिकलाई जानकारी गराउनु पनि हो।

अभियानमार्फत रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधिबारे नागरिकलाई बुझाउने जनाएको छ। पार्टीले क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र लोकतान्त्रिक छनोट प्रक्रियाबाट सक्षम तथा नेतृत्व लिन तयार व्यक्तिलाई उम्मेदवार बनाउने रूपरेखा अघि सारेको छ।

त्यस्तै, सरकार गठन भएको करिब ६ महिनाको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे पनि पालिकास्तरमै जानकारी दिइने रास्वपाले जनाएको छ। डाँगीले यो अभियानलाई चुनावी तयारीमा मात्र सीमित नराखी स्थानीय सरकारलाई जवाफदेही बनाउने र नागरिकको सहभागितामा नेतृत्व छनोट गर्ने अभ्यासका रूपमा अघि बढाउन खोजिएको बताएकी छन्।