नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । बिहीबारकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै यो सरकार कस्तो हो ? भन्दै प्रश्न गरे।
‘संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो । यो कस्तो सरकार हो ?,’ उनले प्रश्न गरे ।
सांसद पोरलेलले प्रधानमन्त्री शाह सरकार कस्तो सरकार हो भन्ने प्रश्न पनि गरे । उनले थपे, ‘महाभारत कालमा जरासन्धको जन्म कथा छ । महाभारत कालमा मगध राजदरबारमा जरासन्धको जन्म दुई आमाको कोखबाट हुन्छ । जरासन्धका दुई आमाले आधा–आधा शरीर भएको बच्चा जन्माउँछिन् र जरा नामकी राक्षसीले ती दुई भाग जोडेर बच्चा बनाइदिन्छिन् । बालकको नाम जरासन्ध राखिन्छ । यो सरकार महाभारतकालीन जरासन्ध जस्तो पनि देखिन्छ । खासमा बालेन सरकार कस्तो सरकार हो ?’


















