राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका प्रतिनिधिभा सदस्य विपिनकुमार आचार्यले एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभामा बिहीबार शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘म औसत क्षमताको इन्जिनियर भएर होला मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ । म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु ।’
यहाँनेर उनले प्रधानमन्त्री बालेन शाहको नाम लिएनन् । तर बुधबार मात्रै प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई एक्स्ट्रा अर्डिनरी सांसद्को संज्ञा दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा १७ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए ।
सुरुमा सांसदहरूले एकसरो कुरा राखेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए । त्यसक्रममा कस्तो सांसदले कस्तो विषय उठाउँछन् भनेर पनि प्रधानमन्त्ती शाहले व्याख्या गरेका हुन् । व्याख्याका क्रममा प्रधानमन्त्री शाहले अभिव्यक्तिका दृष्टिमा सांसदहरूलाई तीन स्वरुपमा वर्गीकरण गरेका थिए, एभरेज, एभरेज भन्दा तल र एक्स्ट्रा अर्डिनरी ।
इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहले एक्स्ट्रा अर्डिनरी सांसदको रुपमा प्रस्तुत गरेका थिए । ‘इन्जिरिनयर भनेको एक्स्ट्रा अर्डिनरी हो । एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन् । त्यो भन्दा तलकोले मलाई यो गर त्यो गर भन्छन् । एक्स्ट्रा अर्डिनरी भएकोले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । यो गरे देश बन्छ । तपाईंहरुको आइडियाले देश बन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले अनलाइनखबरसँग भनेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले ‘औधोगिकीकरणमा के गर्ने भनेर आइडियाहरू दिन’ इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई भनेका थिए । साथै, उनले कुनै आइडिया हुँदा सीधै प्रधानमन्त्री कार्यालयसँग समेत सम्पर्क गर्न सकिने र आइडिया लिएर आउनेसँग सहजै भेट हुने आश्वासन पनि सांसदहरूलाई दिएका थिए । यो पृष्ठभूमिमा रास्वपाका सांसद महामन्त्रीले प्रधानमन्त्री शाहको नाम नलिएरै आफू औसत क्षमताको इन्जिनियर भएको र एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गरिरहेको बताएका हुन् ।
यत्ति भनेर रास्वपा महामन्त्री आचार्यले नेपाली मुद्राको विषय उठाए । ‘संसारका जति पनि पावरफुल मुद्राहरू छन् । डलर, युरो, पाण्ड अथवा जापनिज ऐन इभन छिमेकी राष्ट्रको युवान र भारतको भारुको पनि आफ्नै सिम्बोलहरू छ’ उनले भने ।
अहिलेको ग्लोबल फिन्टेक एजमा नेपालको पनि आफ्नै मुद्राको सिम्बोल भयो भने त्यसले धेरै सहज हुने बताए । देवानगरीको मौलिकता र राष्ट्रको स्वाभिमान झल्किने मुद्राको सिम्बोलन बनाउन उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको ध्यानाकर्षण गरे ।


















