विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण, भनिन्– ‘प्रमाण भए फेस गर्न तयार छु’

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण दिएकी छन् । उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रमाण पेस भए फेस गर्न तयार रहेको पनि उनले जानकारी दिइन् ।

यसअघि दुई व्यक्तिहरुले कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद ठाकुरसिंह थारु लगायतको नाम लिँदै लेनदेनको कुरा गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । सो अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर चिनाएको सुनिन्छ ।

सो अडियोबारे बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समिति सदस्यहरुले कृषिमन्त्री चौधरीसँग जवाफ मागेका थिए ।
चौधरीले अडियोमा बोल्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान वा सम्बन्ध नरहेको स्पष्ट पारिन्।‘हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन्।