अमेरिकालाई पुन: युद्धमा धकेल्न इजरायलले उक्साउँदै छ : इरान

इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले रासायनिक हतियार (केमिकल वेपन) निर्माण गरिरहेको भनी इजरायलले लगाएको आरोपको कडा शब्दमा खण्डन गरेका छन् । बुधबार एक वक्तव्य जारी गर्दै अरागचीले इरानमाथि रासायनिक हतियार विकास र भण्डारण गरेको भनी लगाइएका आरोपहरू पूर्णतः निराधार रहेको र यसको मुख्य उद्देश्य मध्यपूर्व क्षेत्रमा तनाव भड्काउनु रहेको बताएका हुन्।

यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानमाथि रासायनिक हतियार निर्माण गरिरहेको आरोप लगाउँदै इरानलाई त्यस्तो क्षमता हासिल गर्न नदिने चेतावनी दिएका थिए। यद्यपि, इजरायली रक्षामन्त्रीले आफ्नो उक्त दाबीको पुष्टि गर्ने कुनै पनि ठोस प्रमाण भने पेस गरेका थिएनन्।