कोशी भेलाअघि कोइराला निवासमा जुटे शेखर र शशांक

नेपाली कांग्रेसका नेता शेखर कोइराला र पूर्वमहामन्त्री शशांक कोइराला विराटनगरस्थित कोइराला निवासमा सँगै देखिएका छन्। कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन दुवै नेता विराटनगर पुगेका हुन्। पार्टीभित्र बृहत्तर एकता र संगठन सुदृढीकरणको सन्देश दिन आयोजित भेलाले कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधिलाई थप चासोको विषय बनाएको छ।

भेलामा संस्थापनइतर धारका नेताकार्यकर्ताको उल्लेख्य सहभागिता रहने जनाइएको छ। विराटनगरको होटल मनास्लुमा आयोजना हुने उक्त भेलामा नेता शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। भेलामार्फत पार्टीको वर्तमान अवस्था, संगठन विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

शेखर र शशांक कोइरालाको एकै स्थानमा उपस्थितिले कांग्रेसभित्र एकताको सन्देश प्रवाह गर्ने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्। कोशी प्रदेशस्तरीय भेलालाई संस्थापनइतर पक्षको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।