नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल पुनर्निर्माण अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लेखकले पुल भत्किएपछि दोधाराचाँदनीको जनजीवन र यातायात सम्पर्क प्रभावित भएको भन्दै मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। लेखकले उक्त पुल कञ्चनपुरको मात्र नभई नेपालको झोलुंगे पुल निर्माणको इतिहाससँग जोडिएको महत्वपूर्ण संरचना भएको उल्लेख गरेका छन्। उनका अनुसार पुल बनेपछि यसअघि देशका अन्य भूभागसँग सहज यातायात सम्पर्क नभएको दोधाराचाँदनी प्रत्यक्ष रूपमा राष्ट्रिय यातायात सञ्जालसँग जोडिएको थियो।
उनले आफू २०५६ सालमा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि महाकालीमा झोलुंगे पुल निर्माणको विषय संसद्मा उठाउँदा कतिपयले त्यसलाई असम्भव भन्दै ठट्टा गरेको स्मरण गरेका छन्। पछि नेपाल सरकारको बजेट तथा नेपाली प्राविधिक र निर्माण व्यवसायीको संलग्नतामा पुल निर्माण सम्पन्न भएको उल्लेख गर्दै लेखकले ऐतिहासिक संरचनाको पुनर्निर्माणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


















