देश नबोकेका मिडिया !

कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि सर्वसाधारणबाट आएका प्रतिक्रिया चकित पार्ने खालका छन् । मंगलबार अपरान्ह पक्राउ पर्नुअघि सिरोहिया आफैंले जारी गरेको सन्देश र सिरोहियाको गिरफ्तारीपछि आएका समाचारका लिंकहरुमा ब्यक्त प्रतिक्रिया पूरै नकारात्मक छन् । राजनीतिक दलका नेता, अधिकारकर्मी, मिडिया सम्वद्ध संस्थाहरु वा मिडियाकर्मीहरुले सामाजिक सञ्जालमा गरेका पोस्ट्हरुमा ब्यक्त प्रतिक्रया पनि ९९ प्रतिशत सिरोहियाको विपक्षमा छन् । लाखौं कमेन्टहरु छन् तर त्यसमा सिरोहियाप्रति सहानुभूति दर्शाउने प्रतिक्रिया भेट्न सिला खोजे झैं खोज्नुपर्छ ।
सामाजिक सञ्जालमा ब्यक्त प्रतिक्रियाले के दर्शाउँछ भने नेपालका कथित मूलधारका मिडिया पनि जनताको नजरमा नराम्रोसंग गिरिसकेका रहेछन् । अर्थात पुराना मूलधारका राजनीतिक दल र तिनका नेताहरुप्रति जुनखालको आक्रोश र घृणा छ मूलधारका मिडियाप्रति पनि सर्वसाधारणको त्यस्तै आक्रोश र घृणा रहेछ भन्ने दृष्टान्त हो यो ।

हुन पनि नेपालका कथित मूलधारे मिडियाहरुले कहिल्यै देश बोकेनन् । प्रेस स्वतन्त्रताको आवरणमा यिनीहरुले गरे त आफ्ना लागि धन्दा गरे । प्रजातन्त्र र प्रेस स्वतन्त्रताको संवैधानिक ग्यारेन्टीलाई मिडियाहरुले फगत आफ्नो दुनो सोझ्याउने माध्यम बनाए । २०५० साल अघिसम्म बागबजारमा सोफा बेचेर बस्ने कैलाश सिरोहियाको आजको आर्थिक औकात उनले पत्रिका बेचेकै भरमा वा पत्रिकामा विज्ञापन छापकै भरमा बनेको हो भन्ने ठान्नु मुर्खता हो । वितेका तीस वर्षमा उनले बेच्न नहुने धेरै बेचे, विज्ञापन भन्दा बाहिरबाट कैयौं गुणा कमाए ।

कैलाश मात्रै होइन, नेपालका जुनसुकै मिडिया हाउसहरु होऊन् तिनीहरुको पहिलो उद्धेश्य भनेको जसरी हुन्छ कमाउने हो । २०६२/०६३ को जनआन्दोलनसम्म त्यही कान्तिपुरको विचार पेज हेर्ने जागिरे ब्यक्तिले जब आफैं प्रकाशक/सम्पादक बनेर पत्रिका शुरु गरे र आज उनको जुन आर्थिक हैसियत छ त्यो हेर्ने हो भने पनि मिडिया धन्दा कति फलिफाप छ भन्ने पुष्टि हुन्छ । त्यस्तै अर्का पात्र पनि छन् । माओवादी द्वन्दकालको अन्तिम सयमतिर पनि कोठा भाडा तिर्न नसकेर हारगुहार गर्ने ब्यक्ति माओवादी शान्ति प्रक्रिया आएपछि टेलिभिजन शुरु गरेर अहिले अर्बाैंको मालिक बनेका छन् । यो वा त्यो होइन कि पुरानादेखि नयाँसम्म मिडिया हाउसहरु समाचार बाहिर ल्याउने भन्दा समाचार लुकाउने धन्दा बढी गर्दछन् भन्दा अतियुक्ति हुदैन ।

मिडिया हाउसहरु कतिसम्म निर्लज्ज बार्गेनिङ गर्छन भन्ने पछिल्लो उदाहरण पूर्व अर्थमन्त्री जनार्दन शर्माले भोगेको विषयले देखाउँछ । शर्माले आफू अर्थमन्त्री हुँदा कान्तिपुरका साहु कैलाश सिरोहियाले मन्त्रालयमै गएर स्टक एक्स्चेञ्जको लाइसेन्स मागेको र आफूले त्यो दिन सक्दिन भनेपछि आफ्ना विरुद्ध पाँच छ वटा सम्पादकीय लेखाएको भनेर खुलेआम भनेका छन् । सिरोहियाले त्यसको अहिलेसम्म खण्डन गरेका छैनन् । यस्तै हिमालयन रि–इन्स्योरेन्स स्थापनाको प्रक्रिया चल्दै गर्दा पनि कान्तिपुरले जन्मिने क्रममै रहेको कम्पनी विरुद्ध श्रृंखलावद्ध समाचार लेख्यो र अपर्झट रोकियो । पछि चर्चा चल्यो कि कैलाशले दश करोड रुपैयाँ बराबरको फ्रि शेयर लिए ! नभन्दै सिरोहिया अहिले हिमालय रि को दश लाख कित्ता शेयर होल्डर हुन । उनले पैसा तिरे कि फ्रिमा लिए भन्ने कुरा सो कम्पनीका हर्ताकर्ताहरुलाई नै थाहा होला । यस्ता किस्सा अनगिन्ती छन् । अर्थात मिडियाको आवरणमा तिनका साहुहरुले गर्न नहुने धन्दा यति गरेका छन् कि थाहा पाउँदा लाज पनि आफैं लजाउने अवस्था छ ।

तर यी मूलधारे मिडियाहरुले अहिलेसम्म देशको पक्षमा भने एक दिन न समाचार बनाएका छन् नत सम्पादकीय लेखेका छन् । वितेका १५ वर्षमा देशले यति धेरै क्षति ब्यहोरेको छ कि त्यसको क्षतिपूर्ति असंभवप्राय भईसकेको छ । शान्ति प्रक्रिया, संविधानसभाको चुनाव, संविधान लेखन प्रक्रिया, संघीयता, धर्म निरपेक्षता जस्ता धन्दामा खर्बाैं रुपैयाँ खर्च भईसकेको छ । तर यी मिडियाले त्यसको खोजी कहिल्यै गरेनन् । किन खोजी गरेनन् भने ती सवै प्रक्रियाबाट आर्थिक फाइदा लिनेमा मिडिया र मिडियाकर्मीहरु पनि अग्रपंक्तिमा छन् । देश झन्पछि झन् दलदलमा फस्दै जाँदा पनि कथित मूलधारै मिडियाहरु यो ब्यवस्था र संविधानको विकल्प हुनसक्छ भन्न सक्दैनन् । यही प्रणाली रहँदा नै यिनीहरुको धन्दा फस्टाउँछ । देशको मौलिकता जोगाउनु भन्दा कुनै विदेशी एनजीओको भजन गाउनु यिनीहरुको प्राथमिकतामा पर्छ । यिनीहरुलाई थाहा छ, भोलि अलिक चुस्त दुरुस्त प्रणाली स्थापना हुने भने मिडियाको आवरणमा धन्दा चलाउन पाईदैन ।

एउटा कुरा चाहीँ यहाँ स्मरण गर्नैपर्छ । त्यो के भने यिनै मिडिया हुन राजा ज्ञानेन्द्रको समयमा तत्कालिन संचारमन्त्री शिरिष शमशेर राणाले एफएम रेडियोहरुलाई एफएमकै परिभाषाभित्र राख्न खोज्दा तानाशाही भन्दै कुर्लिएका थिए । राजा ज्ञानेन्द्रले माओवादी द्वन्दको चरम अवस्थामा तीन वर्षका लागि शासन सत्ता हातमा लिंदा आकाशै खसे झैं कोकोहोलो गरेका थिए । र, अहिले पनि उनीहरु ज्ञानेन्द्रको तानाशाही विरुद्ध लडेको योद्धा भनिरहेकै छन् । तर आज तिनीहरुले विकल्पविहिन ठानेको र तिनीहरुले नै काँधमा बोकेको ब्यवस्था र त्यसका हर्ताकर्ताहरुले कुनै समय आफूलाई आठौं दल सम्झिने मिडिया हाउसका साहुलाई पक्राउ गरे । भलै त्यसभित्रको नियतमा प्रश्न उठाउन सकिएला । तर समयले सवैको मुकुण्डो उघार्छ र समय सधैं एकनाश हुदैन ।
(यो लेखकको निजी विचार हो सं ।)